• १२ साउन २०८१, शनिबार

नागरिकलाई टोलमै पुगेर सेवा

blog

एकीकृत घुम्ती शिविरमा स्वास्थ्य परीक्षण गरिँदै । तस्बिर : रेखीराम राना

रेखीराम राना

तानसेन, मङ्सिर २४ गते । दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी जिल्लाका पालिकाहरूले एकीकृत घुम्ती शिविर सञ्चालन गरेका छन् । जिल्लाको रैनदेवी छहरा, निस्दी र रिव्दीकोट गाउँपालिकाले एकीकृत घुम्ती शिविरमार्फत नागरिकलाई सेवा प्रवाह गरेका हुन् । 

पालिकाहरूले कृषि तथा पशु सम्बन्धी सेवा, परामर्श सेवा तथा योजनाको स्टमेट तथा सम्झौता, ज्येष्ठ नागरिक, महिला तथा अन्यको स्वास्थ्य परीक्षण तथा औषधि वितरण, बिउँ विजन वितरणको काम गरेका छन् । यस्तै अपाङ्गता भएकाको स्वास्थ्य जाँच तथा परिचयपत्र वितरण, ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण, घटना दर्ता, व्यवसाय दर्ता तथा नवीकरण लगायतको सेवा दिँदै आएका छन् । 

विभिन्न कारणले पालिकाको सेवाबाट वञ्चित भएका नागरिकलाई घरमै पुगेर सेवा प्रवाह गर्न एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको रिव्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो । पालिकासम्म आएर सेवा लिन नसक्ने नागरिकलाई लक्षित गरेर टोल–टोलमा एकीकृत सेवा प्रदान गरिएको उहाँले बताउनुभयो । 

शिविरले गर्दा नागरिकको समय र खर्च समेत बचत हुने पालिकाले जनाएको छ । नागरिक पालिकाको केन्द्रसम्म आउन एक दिन लाग्ने र सानो कामका लागि पनि पाँच-सात हजार रुपियाँ खर्च हुने अवस्था देखेर घुम्ती शिविर वडा–वडामा सञ्चालन गरिएको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताउनुभयो । उहाँले भन्नुभयो, "सबै नागरिक पालिकामा आउन सक्ने अवस्था छैन, केही वडाका नागरिक पालिकासम्म आउँदा चार-पाँच हजार खर्च हुने अवस्था रहेकाले पालिकाले दिने सेवा वडामै पुर्‍याएको छ ।" घुम्ती शिविरले जनप्रतिनिधि र नागरिकबिचको दुरी पनि कम गर्ने उहाँले विश्वास गर्नुभयो ।

वडामै पुगेर सेवा दिएपछि पालिकासँग जनताको गुनासो पनि कम हुने अपेक्षा पालिकाले गरेका छन् । भौगोलिक रूपमा दुर्गमका नागरिकको गुनासो सम्बोधन गर्न पनि पूर्व सूचना दिएर वडा–वडामा एकीकृत सेवा प्रदान गरिएको पालिकाले जनाएका छन् । वडा तहमै सेवा पाउने भएपछि सर्वसाधारण नागरिकको सहभागिता उल्लेख्य रहेको रिव्दीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले बताउनुभयो ।