• १२ साउन २०८१, शनिबार

सहकारीमार्फत आत्मनिर्भर बन्न सकिन्छ : महामन्त्री शर्मा

blog

नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्मा ।

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर २४ गते । नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले सहकारीको माध्यमबाट कृषिजन्य उत्पादनमा आत्मनिर्भरता बन्न सकिने बताउनुभएको छ । 

मेचीनगर–७, ईटाभट्टास्थित मेची कृषक बहुमुखी सहकारी संस्था (एमएमसी) को २४औँ वार्षिक साधारण सभा (माइन्युट प्रमाणीकरण) कार्यक्रमको उद्घाटन गर्दै शर्माले कृषिप्रधान देशमा कृषिउपज सामग्री आयात गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । दाल, चामललगायतका सामग्रीहरू आयात गर्नुपर्ने अवस्थाको हामी आफै उत्पादन बढाएर अन्त्य गर्न सक्छौ, उहाँले भन्नुभयो ।

सहकार्यको माध्यमबाट चल्ने संस्था नै सहकारी भएकाले यसलाई राजनीतिमुक्त बनाएर सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सहकारीमा राजनीतिकरण हुनु हुँदैन र गर्नु हुँदैन, उहाँको भनाइ छ । 

कृषि तथा पशुपन्क्षी मन्त्रालयका पूर्वसचिव डा. योगेन्द्रकुमार कार्कीले कृषि व्यवसायलाई सुधार गर्नुपर्नेमा जोड दिनुभयो । सहकारीको माध्यमबाट कृषि क्षेत्रको उन्नति र विकास गर्न सकिने उहाँले बताउनुभयो । देश र जनताको उन्नति नै कृषिको व्यावसायिकीकरण रहेको उहाँको भनाइ छ । 

सो अवसरमा शर्माले सहकारी संस्थाको एक हजार मेट्रिक टन क्षमताको खाद्य गोदामको पनि उद्घाटन गर्नुभयो । खाद्य गोदाम करिब २ करोड ३० लाख बराबरको लागतमा बनेको सो अवसरमा जानकारी दिइएको छ । नेपाल सरकारको ५० प्रतिशत, स्थानीय सरकार र संस्थाको २५/२५ प्रतिशत लगानी रहेको छ ।