• १२ मंसिर २०८१, बुधबार

चुनौतीसँग लडिरहेको प्रहरी : रिक्त दरबन्दी, अभाव जनशक्ति

blog

बुलबुले समाचारदाता

सुर्खेत, मङ्सिर २४ गते । कर्णालीमा अहिले पाँच हजार २९७ जना प्रहरी कार्यरत छन् । जबकी प्रदेशभर छ हजार २७९ जनाको दरबन्दी रहेको छ । ९८२ जनाको दरबन्दी रिक्त रहेको पाइएको छ ।

दरबन्दी अनुसार जनशक्ति नहुँदा प्रहरीको कार्यसम्पादन अपेक्षाकृत रूपमा प्रभावकारी हुन सकेको छैन । प्रदेश प्रहरी प्रमुख भीमप्रसाद ढकालले जनशक्ति कम हुँदा नयाँ रणनीति बनाएर काम गर्दै आएको बताउनुहुन्छ ।   सामान्यतः एक जना प्रहरीले ३७७ जनालाई सेवा दिनुपर्ने हुन्छ । यस प्रदेशमा एक जना प्रहरीले पाँच सय जनालाई हेर्नु परेको ढकालले जानकारी दिनुभयो । यद्यपि न्यून जनशक्तिलाई परिचालन गरेर प्रदेश प्रहरीले उत्कृष्ट काम भर्न सफल भएको दाबी ढकालको छ । 

राम्रो काम गर्ने प्रहरीलाई सम्मानित र गलत काम गर्नेलाई दण्डित गरेको जानकारी उहाँले दिनुभयो । प्रहरी नागरिकको साथी र सहयोगी भएकाले शान्ति सुरक्षा अमनचैन कायम राख्न हरदम सक्रिय रहेको भनाइ उहाँको छ । 

बस्ने भवन छैन

एकातिर जनशक्ति अभाव अर्कोतर्फ पर्याप्त भवन छैनन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्कमा प्रहरीका लागि भौतिक संरचनाको उपलब्धता सन्तोषजनक छैन । 

कर्णालीका अधिकांश प्रहरी कार्यालय र एकाइको आफ्नै भौतिक संरचना छैनन् भने भएकाहरू पनि जीर्ण र पुराना छन् । कतिपय प्रहरी एकाइका संरचना मर्मतसम्भारको अभावमा बस्नयोग्य नरहेको नायब महानिरीक्षक ढकाल बताउनुहुन्छ । 

“भूकम्पीय जोखिम र प्राकृतिक प्रकोपजन्य खतराले कर्णालीमा प्रहरीको भौतिक संरचना बस्न र कार्यालय सञ्चालन गर्न उपयुक्त छैनन्,” उहाँ भन्नुहुन्छ, “कर्णालीमा प्रहरीले सामना गर्नु परेको मुख्य चुनौती भनेकै सुरक्षित, सुविधायुक्त र पर्याप्त भौतिक संरचनाको अभाव हो ।”

प्रदेशमा प्रहरीका करिब ४५ प्रतिशत एकाइसँग भौतिक संरचना निर्माणका लागि आफ्नो जग्गा छैन । २५ प्रतिशत प्रहरी एकाइका लागि मात्र भवनहरू निर्माण भएका छन् । कर्णालीमा रहेका ३०८ प्रहरी एकाइमध्ये १७२ एकाइमा जग्गा छ ।  त्यस्तै १३६ प्रहरी एकाइमा जग्गा छैन । आफ्नै भवन भएका एकाइहरू ७९ वटा मात्रै छन् भने २२९ वटा प्रहरी एकाइमा आफ्नै भवन छैनन् । भवन नभएका २२९ वटा प्रहरी एकाइमध्ये १०१ भाडामा सञ्चालनमा छन् । ११५ वटा प्रहरी एकाइ दाताको सहयोगमा बनिरहेका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय र मातहतका एकाइ गरी हाल ११ वटा भवन निर्माणाधीन अवस्थामा छन् । अघिल्लो आर्थिक वर्षमा हुम्ला, मुगु, दैलेख र डोल्पामा गरी छ वटा अस्थायी प्रहरी पोस्टहरू स्थापना गरिएको छ । जाजरकोट र कालीकोटमा अघिल्लो आर्थिक वर्षमा सात वटा प्रहरी एकाइका लागि १७ रोपनी जग्गा प्राप्ति भएको कार्यालयले जनाएको छ ।

दक्ष जनशक्तिको कमी

कर्णालीको प्रहरी विभिन्न बाधाहरूसँग जुधिरहेको छ । प्रविधिसँग जोडिएका अपराध अनुसन्धान गर्न दक्ष जनशक्तिको कमी रहेको छ । साधन स्रोत, जनशक्ति अभावसँगै तालिम प्राप्त दक्ष जनशक्ति अभाव रहेको हो ।

अहिले घटनाहरू नयाँ नयाँ प्रकृतिका छन् । सोहीबमोजिम तालिम प्राप्त जनशक्ति अभाव छ । जसले गर्दा कार्यसम्पादनमा ढिलाइ भइरहेको छ । बढ्दो जनसङ्ख्या, सहरीकरण, पूर्वाधार निर्माण, बढिरहेको आपराधिक गतिविधिका कारण दक्ष जनशक्ति नहुँदा काम गर्न समस्या भइरहेको उहाँको भनाइ छ ।

सिसी क्यामरा छैन 

यसै गरी पर्याप्त सिसी क्यामरा नहुँदा सुरक्षामा चुनौती थपिएको प्रहरीको भनाइ छ । दैनिक जसो हत्या, लुटपाट, सडक दुर्घटना, चोरीलगायत अपराधका घटना हुने गरेका छन् । भएका सिसी क्यामरा बिग्रिएसँगै सुरक्षामा पनि चुनौती थपिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सिसी क्यामरा बन्द हुँदा अपराध र विभिन्न घटनाको अनुसन्धानमा ढिलाइ हुने गरेको छ । “प्रहरीलाई कुनै घटना, दुर्घटना भयो भने सिसी क्यामराबाट पत्ता लगाउन सजिलो हुन्छ,” महानिरीक्षक ढकालले भन्नुभयो ।