• २० असार २०८१, बिहिबार

तातोपानीमा नुहाउने बढे

blog

हुम्ला समाचारदाता 

हुम्ला, मङ्सिर २४ गते । यस जिल्लाका विभिन्न स्थानमा रहेका तातोपानी कुण्ड मुहानमा नुहाउनेको सङ्ख्या बढ्दै गएको छ । बाथ तथा दमका रोग भएकाले तातोपानीमा नुहाए सन्चो हुने विश्वास गरिएको छ । 

चिसोको समयमा तातोपानीमा नुहाउने मानिसको सङ्ख्या बढेको स्थानीयवासी बताउँछन् । खार्पुनाथ गाउँपालिका–५, दुर्पा गाउँकी वीरकला बुढाले एक हप्तासम्मका लागि तातोपानी नुहाउन आएको बताउनुभयो ।

उहाँ बाथको रोगबाट पीडित हुँदै आउनुभएको छ । रातभरि तातोपानीको मुहानमा बस्ने गरेका कारण घुँडा दुख्न केही कम भएको उहाँले बताउनुभयो । उहाँसहित गाउँमा १४ जना स्थानीय खार्पुमा नुहाउन आउनुभएको छ । खार्पुमा रहेको धर्मशालामा खाना पकाएर खाँदै आउनुभएको छ । यता सिमकोट गाउँपालिका–७, का मन्दिर सिंहले एक हप्ताका लागि नाम्खा गाउँपालिका–२, केर्मीको तातोपानीमा नुहाउन गएको बताउनुभयो ।

उक्त स्थानमा नुहाउनेहरू पाल टाँगेर बसेका छन् । ढाड र घुँडा दुख्ने समस्याबाट पीडित सिंहले तातोपानीमा नुहाएका कारण दुखाइमा कमी आएको बताउनुभयो । डाँडाफया गाउँका २० जना स्थानीय पनि यता आएका छन् । 

सर्केगाड गाउँपालिका–३, उनापानी गाउँका दल फडेराले गाउँकै तातोपानीमा रातभर नुहाउने गरेको बताउनुभयो । उहाँ दम रोगबाट पीडित हुँदै आउनुभएको छ । उहाँले तातोपानीमा नुहाउनुका साथै बाफसमेत लिने गर्नुभएको छ । उक्त तातोपानी कुण्डमा दैनिक ३० जनाभन्दा बढी स्थानीयले नुहाउने गर्नुभएको छ । चङ्खेली गाउँपालिकाको दर्बी तातोपानीमा नुहाउनेको सङ्ख्या पनि दैनिक बढिरहेको स्थानीय सीता शाहीले बताउनुभयो ।

बाथलगायत छालाजन्य रोग र शरीरको दुखाइ तथा अन्य रोग निको हुने मान्यताका कारण जाडो मौसममा तातोपानी नुहाउनेको सङ्ख्या दिनदिनै बढिरहेको छ । हप्ता दिनसम्म लगातार तातोपानीमा नुहाउँदा रोग निको हुने विश्वास गरिएको छ ।