• १२ साउन २०८१, शनिबार

भूकम्पपीडितको सहयोगार्थ चित्रकला

blog

काठमाडौँ, मङ्सिर २४ गते । स्वस्तिश्री गुरुकुल आइबी वर्ल्ड विद्यालयमा देशका १० अग्रणी चित्रकारले आज चित्रकला बनाउने कार्यक्रम आयोजना हुँदैछ । 

हिलिङ जाजरकोटलाई निरन्तरता दिन चित्रकला कार्यक्रम आयोजना गर्न लागिएको हो । कलाकारबाट सृजित चित्रकला पुस ७ गतेदेखि जिजी मचन रेस्टुरेन्ट, ललितपुरमा प्रदर्शनीमा राखिने छ । उक्त प्रदर्शनीको बिक्रीबाट उठेको रकम जाजरकोट भूकम्पपीडितको सहयोगार्थ प्रयोग गरिने छ ।

गत साता जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि विद्यालयले विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालयका कर्मचारीको सहयोगमा पहिलो चरणमा कपडा, स्टेसनरी सामग्री र खाद्यान्न प्रभावित क्षेत्रमै पुगी पीडितलाई वितरण गरिसकेको छ ।

स्वस्तिश्री गुरुकुल आइबी वर्ल्ड स्कुलका विद्यार्थी नियमित पाठ्यक्रमको एक भागका रूपमा धेरै सामुदायिक सेवा गतिविधिमा संलग्न हुने गरेका छन् । चन्दाका लागि कोष सङ्कलन गर्न विभिन्न परोपकारी कोष कार्यक्रम राखिएको छ भने विद्यार्थीले पछि यो कोष स्याङ्जा र बेनीघाट रोराङ गाउँपालिका जस्ता ग्रामीण क्षेत्रका विद्यालयलाई स्टेसनरी र खेल सामग्रीहरू सहयोग गर्न प्रयोग गर्ने गरेका छन् । 

जाजरकोटका बालबालिकालाई सहयोग गर्ने अवधारणाले विद्यालयको प्रबन्ध निर्देशक मीना महर्जन चित्रकार, शिक्षक, अभिभावक, विद्यार्थी र सबैको सहयोगमा हिलिङ जाजरकोटलाई सहयोग गर्ने अवधारणाको जन्म भएको हो ।