• १४ मंसिर २०८१, शुक्रबार

‘लम्पी स्किन’ पीडितले अझै पाएनन् राहत

blog

काठमाडौँ, मङ्सिर २४ गते । सरकारले ‘लम्पी स्किन’ रोगका कारण पीडित भएका किसानलाई राहत दिने घोषणा गरे पनि किसानले अझै प्राप्त गरेका छैनन् । 

‘लम्पी स्किन’ रोगबाट ६५ हजार पशु मरेका छन् । त्यसका आधारमा राहत दिने भनी कृषि तथा पशुपन्छी विकास मन्त्रालयले घोषणा गरेको छ महिनाभन्दा बढी भइसक्यो तर किसानले अझै सो राहत प्राप्त नगरेको गुनासो गरिरहेका छन् । 

कृषि मन्त्रालयले गत भदौमा नै बजेटको सुनिश्चितताको माग गर्दै ‘लम्पी स्किन राहत क्षति विवरणसम्बन्धी मापदण्ड २०८०’ तयार गरी अर्थ मन्त्रालय पठाएको थियो तर हालसम्म न मापदण्ड स्वीकृत भएको छ न बजेटकै सुनिश्चितता भएको छ । 

कृषि मन्त्रालयका पशुपन्छीतर्फका सचिव डा. रेवतीरमण पौडेलले भन्नुभयो, “हामीले सबै तयार गरेर अर्थ मन्त्रालय पठाइसकेका छौँ तर त्यहाँबाट हालसम्म कुनै जानकारी आएको छैन, अर्थ मन्त्रालयले बजेट दिएपछि मात्र हामी राहत वितरण गर्न सक्छौँ ।”

पशु सेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले ‘लम्पी स्किन’ बाट पीडित बनेका किसानले विभागलाई पनि ताकिता गरिरहेका छन् तर बजेट नभएका कारणले राहत वितरण गर्न नसकेको बताउनुभयो । 

दुधालु गाईभैँसीको मूल्य अनुसार जात तथा उमेरका आधारमा राहत वितरण गरिने मापदण्डमा उल्लेख छ । प्रतिपशु अधिकतम २० हजार रुपियाँ दिन सकिने मापदण्डमा उल्लेख छ । प्रवक्ता ढकालका अनुसार ‘लम्पी स्किन’ रोगबाट १५ लाख पशु प्रभावित भएका छन् भने ६५ लाख पशुको निधन भएको छ । त्यसमा कम्तीमा १५ देखि २० हजार किसान पीडित बनेको अनुमान आफूले गरेको उहाँले बताउनुभयो ।