सुजल श्रेष्ठ
प्युठान, मङ्सिर २३ गते । प्युठान नगरपालिका वडा नम्बर ९ मरन्ठानाकी ८७ वर्षीया डोरा गिरीको एउटा आँखामा मोतीबिन्दु थियो । जिल्लामै शल्यक्रिया सहितको शिविर हुने थाहा पाएपछि उहाँका छोरा रमेश गिरीले आमालाई उपचारका लागि प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल, आँखा उपचार केन्द्र विजुवारमा पुर्याउनुभयो । उहाँको जिल्लामै नि:शुल्क शल्यक्रिया भयो ।
मोतीबिन्दुको शल्यक्रिया गरेपछि गिरीले आँखाले देख्न सक्ने हुनुभएको छ । “पहिले आँखा धमिलो हुन्थ्यो, देख्न सक्थेन, शल्यक्रियापछि गिरीले भन्नुभयो, “अप्रेसनपछि अक्षरहरू धेरैजसो चिने, अब सजिलोसँग देख्न सक्छुहोला ।” गिरी जस्तै ५१ जनाको मोतीबिन्दुको शल्यक्रिया भएको छ । रण अम्बिका आँखा अस्पताल भैरहवाका डाक्टर विनीता भट्टराई नेतृत्वको टोलीले शिविरमा आँखाको शल्यक्रिया गरेको हो ।
“मोतीबिन्दुको समस्या त उमेर बढेपछि हुनेहुन्छ,” डाक्टर भट्टराईले भन्नुभयो, “यहाँ आउनुभएकाहरु मध्ये कोही अलि जटिल समस्या भएका बिरामी पनि हुनुहुन्थ्यो जसको मोतीबिन्दु पाकेर झरिसकेको थियो ।” समयमै उपचार नगर्दा मोतीबिन्दु पाकेर झर्ने भएकाले नियमित रूपमा आँखा जाँच गराउनुपर्ने डाक्टर भट्टराईको सुझाव छ ।
उपचार केन्द्रमा स्थानीय सरकारले ज्येष्ठ नागरिकका लागि नि:शुल्क उपचारदेखी शल्यक्रियासम्मको व्यवस्था गरेका छन् । जसका कारण जिल्लाका विभिन्न ठाउँबाट आँखा उपचार गराउन र शल्यक्रिया गर्न बिरामी उपचार केन्द्रमा पुग्ने गर्दछन् ।
जिल्ला भित्र रहेका सरुमारानी गाउँपालिका बाहेक आठ वटा स्थानीय तहसँग यो वर्ष सम्झौता गरी सेवा प्रवाह गरेको नेपाल नेत्रज्योती सङ्घ प्युठानका अध्यक्ष लक्ष्मी प्रकाश राजभण्डारीले बताउनुभयो । विगत वर्षदेखी नियमित रूपमा सुरु गरेको सेवालाई निरन्तरता दिने पालिकाहरूको योजना समेत रहेको छ । मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले सेवालाई निरन्तरता दिँदै बजेटको व्यवस्थापन गर्दै आएको बताउनुभयो ।
प्युठान नगरपालिकाका प्रवक्ता सुमन श्रेष्ठले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई उपचार सेवा दिएर सुरुवात गरेको र हाल ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई मात्र सेवा उपलब्ध गराएको जानकारी दिनुभयो । जिल्लाका तीन स्थानबाट उपचार सेवा प्रवाह गरेको केन्द्रका प्रमुख लक्ष्मी मल्लले जानकारी दिनुभयो ।