• १५ मंसिर २०८१, शनिबार

रिब्दिकोटमा घुम्ती सेवा शिविर सुरु

blog

घुम्ती सेवा शिविरमा सेवा लिँदै स्थानीय । तस्बिर : गोरखापत्र

बिन्दु थापा 

पाल्पा, मङ्सिर २३ गते । पाल्पाको रिब्दीकोट गाउँपालिकाले स्थानीयलाई सहजै सेवा प्रदान गर्न पालिका स्तरीय घुम्ती सेवा शिविर सञ्चालन गरेको छ । 

रिब्दिकोट गाउँपालिका-८ फेकको लूम्बासबाट शिविर सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले जानकारी दिनुभयो ।  शिविरमा स्वास्थ्य परीक्षण राजस्व सङ्कलन, घटना दर्ता, जन्म दर्ता, मृत्यु दर्ता, जन्म दर्ता प्रतिलिप नागरिकता सिफारिस, नाता प्रमाणित  बाली उपचार परामर्श, माटो परीक्षण नमुना सङ्कलन, गोबर परीक्षण गरिएको अध्यक्ष कार्कीले बताउनुभयो । 

शिविरकै अवसरमा बाह्र भैँसीको गोवर परीक्षण, एक सय पशुलाई औषधी वितरण, बाख्रा, गाई गोरु, कुखुरा, बङ्गुर र भैँसीलाई आवश्यक उपचार सेवा प्रदान गरेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताउनुभयो ।

सेवाग्राही मिना थापाले घुम्ती शिविरले गर्दा बस्तु भाउको आवश्यक उपचार गर्न सकेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले शिविरले समयको बचतसँगै सबैलाई उत्साहित बनाएको पनि बताउनुभयो ।