गजेन्द्र गुरुङ
खजुरा, मङ्सिर २३ गते । बाँके प्रहरीले राष्ट्रिय अनुसन्धानमा जागिर लगाइदिन्छु भनी ठगी गरेको आरोपमा फहद खाँलाई पक्राउ गरेको छ ।
राष्ट्रिय अनुसन्धानमा जागिर लगाइदिन्छु भनी ठगी गरेको आरोपमा प्रहरीले नेपालगन्ज उपमहानगरपालिका-२२ नहरपुर्वाका खाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।
खाँले नेपालगन्ज उपमहानगरपालिका-१७ का प्रदीप वर्मालाई राष्ट्रिय अनुसन्धानमा जागिर लगाइदिन्छु भनी ठगी गरेको उहाँले जानकारी दिनुभयो । खाँले २०८० भदौ ३ गते वर्मालाई राष्ट्रिय अनुसन्धानमा जागिर लगाइदिन्छु भनेर २६ हजार रुपियाँ ठगी गरेका थिए ।
प्रहरीका अनुसार खाँले सरकारी छापको किर्ते गरेर नक्कली नियुक्ति पत्र समेत दिई काममा लगाएर तलब नदिएपश्चात् वर्माले प्रहरीलाई सूचना गरेका थिए । खाँलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।
वर्माले अरू कोही कसैलाई राष्ट्रिय अनुसन्धानको कर्मचारी बनाइदिन्छु भनी ठगी गरेको जानकारी पाएमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन समेत प्रहरीले अनुरोध गरेको छ ।