• ४ जेठ २०८१, शुक्रबार

दशौँ राष्ट्रिय खेलकुदको समन्वय बैठक सम्पन्न

blog

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरुप समन्वय बैठकमा सहभागीहरु ।

काठमाडौँ, मङ्सिर २३ गते । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरुप समन्वय बैठक सुर्खेतमा सम्पन्न भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको बैठकमा सङ्घीय सरकारको युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ सहभागी रहनुभयो ।

बैठकमा प्रतियोगिता आयोजनाका लागि पूर्वाधार निर्माणतर्फ आगामी पुस मसान्तभित्र एक अर्ब बजेट सुनिश्चित गरि दिन प्रदेश खेलकुद विकास परिषद् कर्णालीले सङ्घीय सरकारसमक्ष प्रस्ताव राखेको छ । प्रदेश खेलकुद विकास परिषद् कर्णालीका सदस्यसचिव विश्वमित्र सन्ज्यालले दशौं राष्ट्रिय खेलकुदको तयारी सम्बन्ध हालसम्म भएका प्रगति र अवस्थाबारे प्रस्तुत गर्नुभएको थियो । 

हालसम्मको तयारीले कर्णालीमा २८ वटा खेल आयोजना गर्न सकिने तर पूर्वाधार निर्माणका लागि बजेट सुनिश्चित हुनुपर्ने माग गरिएको छ । जिल्लाहरुमा रहेका भौतिक पूर्वाधारको अवस्था तथा बसोबास क्षमताका आधार विभिन्न जिल्लामा प्रतियोगिताका लागि प्रस्ताव गरिएको छ ।

बैठकमा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले दशौँ राष्ट्रिय खेलकुदका लागि कर्णाली जुरुक्क उठेको भन्दै सङ्घीय सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । बैठकमा उठेको प्रश्नहरुको जवाफमा मन्त्री लिम्बूले प्रतियोगिता कुनै पनि अवस्थामा निर्धारित मिति आगामी वर्ष मङ्सिरमा नै सम्पन्न गर्न तीनै तहको जिम्मेवारी भएको बताउनुभयो । प्रतियोगिताका लागि आवश्यक समन्वय र सहयोग गर्न सरकार तयार रहेको बताउनुभयो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले प्रदेश खेलकुद तथा सरकारको तयारीले राष्ट्रिय खेलकुद परिषद उत्साहित भएको भन्दै उपसमितिहरु दोहोरो नपर्ने गरी बनाउनुपर्ने बताउनुभयो । व्यवस्थापनसम्बन्धी उपसमितिहरु स्थानिय तहबाटै र प्राविधिक र खेल सन्चालनसँग सम्बन्धित समितिहरु केन्द्रबाट बनाउनु उपयुक्त हुने सुझाव दिनुभयो । नवौँ राष्ट्रिय खेलकुदमा भएको कमजोरीबाट शिक्षा लिँदै दशौँ खेलकुदको तयारी गरिने घिसिङको भनाइ छ ।

प्रदेशको सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलको अध्यक्षतामा भएको बैठकमा प्रदेश आर्थिक मामिलामन्त्री वेदराज सिंह, युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थ, प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव, विभिन्न जिल्लाका खेलकुद समितिका अध्यक्ष, खेल सङ्घका प्रतिनिधि, उद्योग वाणिज्य सङ्घका अध्यक्ष, तथा अन्य निजी क्षेत्रका प्रतिनिधिले प्रतियोगिता तोकिएकै मितिमा गर्न र आवश्यक सहयोग पुर्‍याउन सङ्घीय सरकारसँग माग गरेका छन् ।

यसैबिच दशौँ राष्ट्रिय खेलकुदको विषयमा शुक्रबार सङ्घीय युवा तथा खेलकुदमन्त्री लिम्बू र कर्णाली प्रदेश मुख्यमन्त्री राजकुमार शर्माबिच अन्तरसंवाद भएको छ । दशौँ राष्ट्रिय खेलकुद आयोजनाको तयारी गरिरहेको राखेप र प्रदेश सरकारबीच आवश्यक समन्वय र सहकार्यका लागि छलफल भएको हो । मुख्यमन्त्री कार्यालयमा भएको छलफलमा मन्त्री लिम्बूले प्रदेशको तयारी उत्साहजनक रहेको र केन्द्र सरकारले पनि पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । 

छलफलमा प्रदेश सरकारका मन्त्रीहरु, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, प्रदेशका प्रमुख सचिव चूडामणि पौडेललगायतको सहभागिता थियो । त्यस क्रममा प्रदेश खेलकुदमा कर्मचारीहरु समायोजन सम्बन्धमा पनि छलफल भएको थियो ।