• ३१ वैशाख २०८३, बिहिबार

स्वर्णपदक विजेता गुरुङको सम्मान

blog

दमौली, मङ्सिर २३ गते । काठमाडौँमा सम्पन्न सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसीपमा स्वर्णपदक विजेता तनहुँको देवघाट गाउँपालिका निवासी पार्वती गुरुङलाई गाउँपालिकाले नगदसहित सम्मान गरेको छ । उक्त प्रतियोगितामा स्वर्णपदक विजेता देवघाट गाउँपालिका-५ गैडाढुङ्गा निवासी गुरुङलाई गाउँपालिकाले शुक्रबार नगद २५ हजारसहित सम्मान गरेको हो । 

गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले गुरुङलाई २५ हजार नगद र प्रमाणपत्र प्रदान गर्नुभयो । कराँते प्रतियोगितामा स्वर्णपदक जितेर नेपाल तथा देवघाट गाउँपालिकाको नाम राख्न सफल भएकाले प्रोत्साहनस्वरुप सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँले खेलकुदमार्फत पालिकाको नाम राख्न सफल हुनुभएको छ । खेलाडीलाई प्रोत्साहन गर्नका लागि नगदसहित सम्मान गरेका हौँ ।”

सम्मानित भएपछि गुरुङले यसले आफूलाई प्रेरणा मिलेको बताउनुभयो । गुरुङले ४५ केजीमुनिको समूहमा बङ्गलादेशकी अर्पा सलिहालाई हराउँदै स्वर्णपदक जित्नुभएको थियो । रासस