• १४ फागुन २०८०, सोमबार

स्रोत हराएका समाचार

blog

चीनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको स्वशासित क्षेत्र तिब्बतस्थित कैलाश मानसरोवर पुग्नुभएको थियो । गत असोज ११ मा प्रधानमन्त्री त्यहाँ पुग्दा उहाँको भ्रमण दलमा सहभागी पत्रकारमा राससबाट पङ्क्तिकार र फोटो पत्रकार प्रदीपराज वन्त (हाल प्रधानमन्त्री कार्यालयमा), दी राइजिङ नेपालका नन्दलाल तिवारी र नेपाल टेलिभिजनका चूडामणि नेपाल मात्र थियौँ । पहिला कैशाल पर्वतको दर्शन गरेपछि केही पर रहेको मानसरोवर ताल गएका थियौँ । त्यसपछि कैलाशको बेस क्याम्पमा रहेको बजार पुग्न सवारीबाट त्यस्तै तीन घण्टाजति लाग्यो । बजार पुगेपछि मात्र हामीले आआफ्ना मिडियामा समाचार पठायौँ । 

त्यो समाचार एकैछिनमा देशभरका मिडियामा फैलिन थाल्यो । कैलाश पर्वत र ताल छेउमा प्रधानमन्त्री बसेर खिचेको तस्बिर पनि प्रायः सबै अनलाइनमा आयो । त्यो तस्बिरसँगै आएको छ समाचार पनि । समाचार राससको नै कपी गरिएको छ, त्यहाँबाट समाचार पठाउने अर्काे स्रोत थिएन तर पनि एकाधबाहेक कतै राससलाई ‘क्रेडिट’ दिइएको थिएन । समाचारको सुरु, बिच या अन्तिम कतै पनि रासस लेखेको देखिँदैन, समाचार भने सबैतिर पङ्क्तिकारले नै सम्प्रेषण गरेको आएको छ । अनि अङ्ग्रेजी समाचार चाहिँ दी राइजिङ नेपालको अनलाइनबाट कपी गरिएको देखिन्छ । एकछिनपछि राससकै अङ्ग्रेजी अनुवादबाट पनि मिडियाले लिएका छन् तर राससलाई धेरैले क्रेडिट दिएका छैनन् । 

कसैले समाचारको डेटलाइन काठमाडौँ राखेका छन् र प्रत्यक्ष भाषामा प्रधानमन्त्री यहाँ आइपुग्नुभयो र दर्शन एवं अवलोकन गर्नुभयो भनेर आफैँले रिपोर्टिङ गरे सरह नै प्रत्यक्ष भाषामा दिएका छन् । समाचारको डेटलाइन काठमाडौँ हो भने त कैलाश मानसरोवरबाट कसैले त्यो समाचार दिएको हुनुप¥यो या समाचार समितिबाट लिएको हुनुप¥यो, उसैलाई उद्धरण गर्नुप¥यो । यसको हेक्का कपी एडिटर अथवा डेस्क एडिटरमा देखिएको छैन । अझ कतिले त समाचारको डेटलाइन मानसरोवरकै राखेका छन् र प्रधानमन्त्री आज यहाँ आउनुभयो, अवलोकन भ्रमण गर्नुभयो भनेर प्रत्यक्ष रिपोर्टिङ गरिएको ढाँचा र भाषामै समाचार प्रस्तुत गरेका छन् । समाचार पढ्दा यतिसम्म अप्ठेरो लाग्छ कि ‘प्रधानमन्त्री यहाँ आए र कैलाश मानसरोवरको अवलोकन गरे’ भनेर नै लेखेका छन् तर त्यो समाचारमा यहाँ आए भन्ने त्यो मिडियाको समाचारदाता या कुनै पनि समाचार स्रोत त्यहाँ थिएन । प्रधानमन्त्री यहाँ आए भनेर समाचार दिइरहँदा त्यहाँ आफ्नो समाचारदाता छैन भन्ने हेक्का कतै देखिँदैन । 

त्यसो गर्दा हो समाचारको स्रोत खुलाउनुपर्ने । खुलेको छैन, खुलाएका छैनन् । थोरै मात्र मिडियाले राससलाई क्रेडिट दिएका छन्, धेरैले आफ्नै बनाएका छन् । त्यति टाढाको समाचारलाई आफ्नो बनाउँदा र आफ्ना समाचारदाता प्रधानमन्त्रीको भ्रमण दलमा नहुँदा समाचारको स्रोत दिनु पर्छ भन्ने जानकारी डेस्क एडिटरले राख्नुपर्ने हो । हुन त प्रधानमन्त्रीको सचिवालयले पनि अहिले समाचार नै बनाएर विज्ञप्ति जारी गर्ने गरेको छ  तर त्यस दिन, तत्क्षण विज्ञप्ति प्रकाशन भएको छैन । त्यो विज्ञप्ति राति त आयो तर त्यतिन्जेल यता समाचार र तस्बिर भाइरल भइसकेको थियो ।  

गत वर्षको मङ्सिरमा टोनी ह्यागनकी छोरी क्याटरिन ह्यागन नेपाल आएका बेला मैले उहाँसँग राससका लागि एउटा अन्तर्वार्ता गरेको थिएँ । ‘नेपालमा बुबाको पद पछ्याउँदै टोनी ह्यागनी छोरी’ शीर्षकमा कुराकानीमा आधारमा एउटा ‘स्टोरी’ राससबाट पठायौँ । बत्तीसपुतलीको एक होटलमा बस्नुभएकी उहाँलाई होटलमै पुगेर भेटेँ, कुराकानी गरेँ, तस्बिर पनि लिएँ । नेपाललाई उहाँको पिता टोनी ह्यागनले चिनाएको विषय, बुबासँग सानैमा उहाँ पनि नेपाल आएको क्षण र उहाँले नेपालमा गरिरहेको पदयात्रा पर्यटनबारे कुराकानी केन्द्रित थिए । 

राससको त्यो समाचार देशका धेरै मिडियामा आयो पनि तर यहाँ कोट्याउन खोजिएको प्रसङ्ग समाचार कभरेजको भन्दा पनि स्रोतको हो । त्यो स्टोरीमा आधाभन्दा बढी अनलाइनले न रासस लेखे र न त स्टोरीको बाइलाइन नै दिए । न तस्बिरमा र न त समाचारमा नै स्रोत उद्धरण गरिएको छ । यहाँसम्म कि कतिले त मेरो बाइलाइन काटेर आफ्नो नाम नै राखेर पनि सम्प्रेषण गरेको देखेँ । प्रायः राससबाट जाने समाचारमा यस्तो भइरहने हुनाले त्यसबेला खासै हामीले केही प्रतिक्रिया जनाएनौँ तर वर्षदिन पछि आएर यो प्रसङ्ग कोट्याउनुपर्ने कारण के प¥यो भने यो कुराको जानकारी क्याटरिनले नै राख्नुभएको रहेछ । महिना दिनअघि जोरपाटीस्थित नेपाल अर्थाेपेडिक अस्पतालको रजत जयन्ती समारोहका लागि उहाँ नेपाल आउनुभएको रहेछ । त्यस क्रममा भएको भेटमा उहाँको त्यो समाचारको प्रसङ्ग पनि निस्कियो । सायद उहाँलाई नेपालमा छापिएका अनलाइनहरूको लिङ्क कसैले पठाएको रहेछ । त्यो अन्तर्वार्ता सबैमा कसरी कपी भयो भन्ने विषयमा जिज्ञासा राख्नुभयो । उहाँले मसँग मात्र सो अन्तर्वार्ता गरेको भए पनि कतिपय अनलाइनमा उनीहरू आफैँले पनि लिएको बनाएर आफ्ना समाचारदाताको नाम दिएकाले यो कसरी हुने रहेछ भन्ने जिज्ञासा राख्नुभएको थियो । मैले कुरा बुझेँ र थप केही नभनी समाचार समितिका सेवाग्राहीले समाचार कपी गर्न सक्ने जवाफ दिएँ । 

यसरी समाचार समितिका समाचारमा ‘क्रेडिट’ नदिने प्रवत्तिले समाचारका स्रोत हराएका छन् । समितिबाट जाने समाचार आफ्ना बनाइदिँदा यो समाचार कहाँबाट उत्पत्ति भयो, कसले लेख्यो र यसको स्रोत के हो भन्ने विषयमा नै आमपाठक अन्योलमा पर्ने गरेको बताउँदै पनि आएका छन्, जुन कुराको प्रतिक्रिया हामीलाई नै प्रायः आउने गरेको छ । 

पछिल्लो समय प्रायः मन्त्री तथा पदाधिकारीहरूले प्रेस संयोजक, प्रेस सल्लाहकार राख्ने प्रवृत्ति निकै बढेको छ । उनीहरूले बनिबनाउ रूपमा खबर तयार पार्छन् र मिडिया हाउसका डेस्कसम्मै पु¥याइदिने गरेका छन् । यसबाट पनि समाचारको स्रोत हराउन थालेको छ । उनीहरूले पनि मानौँ कि हरेक मिडियाको समाचारदाता नै त्यहीँ पुगेर रिपोर्टिङ गरे जस्तो प्रत्यक्ष उपस्थितिको भाषामा विज्ञप्ति नभएर समाचार नै तयार पारिदिन्छन् । पहिले पहिले उनीहरूले विज्ञप्तिको ढाँचा र भाषामा पठाउने गर्दथे भने अहिले बनिबनाउ समाचार नै । कपी तथा डेस्क एडिटरलाई पनि यति सजिलो कि कपी गरेर राख्दा भइहाल्ने । तर त्यसमा अधिकांशले समाचारको स्रोत नै उल्लेख गर्न बिर्सिन्छन् । 

जस्तो कि कुनै सम्मेलन, कार्यक्रम या बैठकमा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीको सहभागिता हुन्छ भने यी तीनै जनाका प्रेस सल्लाहकार र संयोजकका प्रेस रिलिज आउँछन् । नेपालमा ‘न्युज मेकर’ को हुन् भन्ने विषयमा अनुसन्धान गर्ने हो भने त धेरै प्रतिशत ‘हाइ प्रोफाइल’ कै आउँछ । अरू घटना या विषयका तुलनामा उनीहरूका भनाइ र भाषणका समाचार धेरै बन्ने गरेका छन् । अनि उनीहरूका सचिवालयबाट नै विज्ञप्ति आएपछि समाचारदातालाई पनि पुगिहाल्यो तर दुःखको कुरा यो छ कि सबैका सहयोगीले आआफ्ना जिम्मेवारीका मात्र भाषण पठाइदिन्छन्, त्यो स्वाभाविक पनि हो तर कार्यक्रमको अरू धेरै सूचना आउँदैनन् । त्यो कार्यक्रमका बारेमा आवश्यक सूचना र त्यहाँ विचार राख्ने, कार्यपत्र प्रस्तुत गर्ने या त्यस कार्यक्रमका विषयमा दिइएका जानकारी आदिका समाचार आउँदैनन् । रिपोर्टरले पनि सातु नै पायो भने मकै चपाउने झमेला किन गरोस् ? 

पहिलो कुरा उसलाई रिपोर्टिङ गर्नका लागि कार्यव्रmमस्थलमा जानै परेन अनि अर्काे कुरा समाचार लेख्नै परेन । यसरी एउटै कार्यव्रmमका धेरै समाचार (भाषण) आउँछन् तर वास्तविक समाचार चाहिँ आउँदैन ।

जस्तो कि बालुवाटारमा तीन शीर्ष दलको बैठक बस्दा बैठकमा यो यो विषयमा छलफल र निर्णय भयो भन्ने समाचार आफू नै बैठकभित्रै बसेर रिपोर्टिङ गरेको शैलीमा आउँछ, कसले बतायो या जानकारी दियो भन्ने स्रोत खुलाएको देखिन्न । यसरी समाचारदाता आफैँ पनि दिनप्रतिदिन सतही बन्दै गएका छन् । सूचना र स्रोतको नजिकसम्म पनि पुग्न छोडिसकेका छन् । अनि अर्काे कुरा समाचार समितिका समाचारलाई नै कपी गरेर आफ्नो बनाएर सम्प्रेषण गर्न पाइयो भने धेरै दुःख पनि किन गर्नु प¥यो ? आखिर सामाजिक सञ्जालले पाठक, स्रोतालाई पनि त सतही बनाएकै छ । उनीहरू पनि गम्भीर प्रकृतिका सूचना र गहनतम बहसभन्दा पनि चट्पटे प्रकारका सूचना भए पुग्ने भएका छन् । 

जब स्रोत नै हराउँछ त्यसपछि समाचारका कुनै पनि अङ्ग निष्प्रभावी हुन पुग्छन् किनभने समाचारका अङ्गहरूको कुरा गर्दा आधा त स्रोत नै हो । त्यसैले त स्रोतबिना पस्किएको सूचना पनि कमजोर हुँदै जान्छ । कमजोर सूचनाले बनेका समाचार बलिया हुने पनि कुरा भएन । यस्ता कमजोर सूचनाले भरिएका समाचारले नागरिकमा विश्वसनीयताको मात्रा कसरी बढाउन सक्ला ? अहिले आएर नेपाली मिडियामा बन्ने गरेका समाचारमा सूचना कमजोर बन्दै गएका छन् । यस कारण सतही बन्दै गएका छन् नेपाली मिडिया । मिडिया कमजोर हुनु भनेको उसका सामग्री फितलो, सतही र कमजोर हुनु हो । मिडियाले आफ्नो सतहीपन स्वीकार गरिदिँदा उसका समाचारदाताले पनि स्रोतसम्म पुग्नैपर्ने आफ्ना प्रयासलाई पनि खुम्च्याउन थालेका छन् । स्रोत खुम्चँदै जाँदा समाचारदाता र डेस्क एडिटरको ज्ञान पनि खुम्चँदै जान्छ । यसले भोलिका दिनमा सबै कुराको ज्ञान र सूचना राख्नुपर्ने पत्रकारिता विषय नै खोक्रो बन्दै जाने खतरा बढाउँछ । 

स्रोत हराएको समाचार धागो चुँडिएपछिको चङ्गाको गन्तव्यको जस्तै बेठेगान र बेवारिसे बन्छ । यसले तत्कालका लागि त समाचारदातालाई सजिलो भएको छ तर भोलिका दिनमा उसको पेसाकै स्रोत हराएपछि आफैँ कमजोर बन्दै जान्छ । 

माथिका दृष्टान्तको आशय यो हो कि समाचारदाताले आफ्नै स्रोतबाट समाचार तयार पारोस् र एउटा समाचारका लागि धेरैथरि स्रोत र सूचना जम्मा पारेर राख्न सकोस् । समाचारमा दिएर बाँकी रहेका ती सूचना या जानकारी आफ्नै डायरीमा राखोस् र भोलि त्यही विषयको अर्काे प्रसङ्गमा समाचार तयार पार्दा त्यसको प्रयोग गर्न सकोस् । अहिले स्रोत नदिने र आफ्ना अखबारका पेज भर्न या अनलाइन अपडेट गर्ने नाममा स्रोतबिनै अरू मिडियाका समाचार लिने गर्नाले हाम्रै समाचारको विश्वसनीयता घट्दै जाने छ । 

पत्रकारिता सधैँ नै विश्वसनीयताको कसीमा हुन्छ । पत्रकारिता बाँच्ने पनि यसैबाट हो तर हेक्का राखौँ यतिबेला विश्वसनीयताको कसी नाप्ने पैमाना प्रतिदिन बढ्दो छ । पहिले जस्तो हातमा अखबार परेपछि पाठकले नाप्ने अवस्थामा मात्र सीमित छैन अहिलेको कसी । हामी पत्रकार सधैँ समाजका प्रशिक्षार्थी नै हौँ र चौतर्फी परीक्षणमै रहन्छौँ भनेर बुझ्न भुल्नु हुँदैन । एउटा समाचारको परीक्षण अहिले कति जनाले गर्दछन् ? हामी अनुमान गर्नै सक्दैनौँ । लाखौँले लिएका हुन्छन् एउटा समाचारको जाँच । अहिलेलाई यति नै बुझौँ र समाचारका स्रोत हराउन नदिउँ ।

   

Author

एकराज पाठक