• १२ साउन २०८१, शनिबार

‘बोधिसत्व’ को मञ्चन सुरु

blog

काठमाडौँ, मङ्सिर २३ गते । वज्र कला कुञ्जको प्रस्तुति रहेको सांस्कृतिक नाटक ‘बोधिसत्व’ को टेकुस्थित कौशी थिएटरमा मञ्चन सुरु भएको छ । नाटकमा मानिसले आफ्नो भोग विलास र तृष्णाका लागि अनेकौँ राम्रा र नराम्रा काम गरेर अकुत सम्पत्तिको जोहो गर्ने तर वास्तविक र कहिल्यै नास नहुने सम्पत्ति भनेको बोधिसत्व प्राप्त गर्नु हो भन्ने देखाइएको छ ।

सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गर्दा जीवन र जगत्लाई जसरी सरल भाषामा बुझे, त्यही कुरालाई हामीले पनि बुझ्न सके र लागु गर्न सके सधैँ खुसी हुन सक्छौँ भन्ने वरपर रहेर नाटक तयार पारिएको छ । वज्र कला कुञ्जले यसअघि नामसङ्गीति, कुमारी र पचली भैरव जस्ता सांस्कृतिक नाटकको मञ्चन गरिसकेको छ । इँगिहोपो काँइच सुनुवारले नाट्य रूपान्तरण गर्नुभएको नाटकलाई चन्द्रमान मुनिकारले लेखन, परिकल्पना तथा निर्देशन गर्नुभएको छ ।

सुदनमान मुनिकार, सङ्गीता थापा, नानुमैयाँ महर्जन, युवाहाङ्ग राई, सिर्जना शर्मा, अन्जु श्रेष्ठ, अनिशा श्रेष्ठ, अजय लामा, सन्तोष गिरी, नवीन काफ्ले र आकाश नेपालीका नाटकमा अभिनय रहेको छ । काठमाडौँ महानगरपालिकाको सहकार्यमा तयार भएको नाटक पुस ४ गतेसम्म हरेक साँझ ५ बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त सो मञ्चन हुने छ ।