• १२ साउन २०८१, शनिबार

भारी हिमपातका कारण हङ्गेरीमा जनजीवन प्रभावित

blog

हिमपात । फाइल तस्बिर

बुडापेस्ट, मङ्सिर २२ गते । बुधबार साँझबाट सुरु भएको भारी हिमपातले मध्य र पश्चिमी हङ्गेरीमा बिहीबार पनि जनजीवन नराम्ररी प्रभावित भएको छ ।

राष्ट्रिय प्रकोप व्यवस्थापन महानिर्देशनालयले बिहीबार दिएको जनाकारी अनुसार देशका विभिन्न स्थानबाट जनजीवन प्रभावितका घटनाहरू प्राप्त भएका छन् । साथै ठाउँ–ठाउँमा रूखहरू ढलेकोर हाँगा भाँच्चिएर सडक आवागमन  अवरुद्ध भएका विवरण प्राप्त भएका छन् । 

नियमित रूपमा सञ्चालन हुने रेल र बस सेवाहरू लामो समयसम्म विलम्ब भएका छन् । ठाउँ-ठाउँमा अवरुद्ध पनि भएका छन् । हङ्गेरियन समाचार एजेन्सी एमटीआईले जनाए अनुसार बसहरू लामो समयसम्म सडकमै फसेका  छन् ।

त्यसै गरी देशको पश्चिमी र उत्तरपूर्वी भागहरूमा  रेल सेवा  पनि अवरुद्ध भएका छन् । राजधानी बुडापेस्टमा म्युनिसिपल मेन्टिनेन्स कम्पनी (एफकेएफ) ले अहिले अवरोध पन्छाउँदै सडक सफा गरिरहेको जनाइएको छ ।

पुल, ओभरपास, राजमार्ग र ठूला यातायातका मुख्य प्रवेशद्वार खाली गर्ने कामलाई प्राथमिकतामा राखिएको स्थानीय निकायले जनाएका छन् । उडानमा ढिलाइ हुँदा विमानस्थलहरूमा पनि यात्रुहरूको चाप बढिरहेको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । रासस/सिन्ह्वा