• २३ वैशाख २०८१, आइतबार

खुम्चिँदै निर्जीवन बिमा कम्पनीको व्यवसाय

blog

काठमाडौँ, मङ्सिर २२ गते । मुलुकमा सञ्चालित निर्जीवन बिमा कम्पनीहरूको व्यवसायमा सङ्कुचन आइरहेको छ । निर्जीवन बिमा कम्पनीहरूले कात्तिकमा दुई अर्ब २८ करोड रुपियाँको हाराहारीमा कुल बिमा शुल्क आर्जन गरेका छन् ।

नियामक निकाय नेपाल बिमा प्राधिकरणले प्रकाशित गरेको निर्जीवन बिमा कम्पनीहरूको कात्तिकको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा सङ्कलित बिमा शुल्कभन्दा २३ करोड १२ लाख ६८ हजार रुपियाँ कम अर्थात् ९.१९ प्रतिशत कम बिमा शुल्क उठेको हो ।

यो बिमा शुल्क सङ्कलन चालु आवकै असोजको तुलनामा पनि एक अर्ब सात करोड रुपियाँ अर्थात् ३२.०१ प्रतिशतले कमी हो । असोज महिनामा निर्जीवन बिमा कम्पनीहरूले तीन अर्ब ३६ करोड छ लाख रुपियाँ बिमा शुल्क सङ्कलन गरेका थिए ।

कम्पनीहरूको बिमाङ्क रकममा पनि उच्च गिरावट आएको छ । कात्तिकमा कम्पनीहरूको बिमाङ्क रकम पाँच खर्ब ४८ अर्ब ८९ करोड ६० लाख रुपियाँ रहेको छ । जुन अघिल्लो महिनाकै तुलना गरेर हेर्दा झन्डै चार खर्बले कमी हो । अघिल्लो महिना नौ खर्ब २९ अर्ब ६९ करोड सात लाख रुपियाँ रहेको थियो ।

चार महिनामा एक अर्बमाथि

समग्रमा निर्जीवन बिमा कम्पनीले चार महिनामा १२ अर्ब ७३ करोड चार लाख ११ हजार रुपियाँ बराबरको व्यवसाय गरेका छन् । सो अवधिमा कम्पनीहरूले आठ लाख ८८ हजार ८७४ वटा बिमालेख जारी गरेका छन् ।

एक अर्बमाथि बिमा शुल्क आर्जन गर्ने कम्पनीहरूमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर, शिखर इन्स्योरेन्स, हिमालयन एभरेस्ट इन्स्योरेन्स, आइजिआई प्रुडेन्सियल र नेको इन्स्योरेन्स रहेका छन् ।

सगरमाथा लुम्बिनीको अग्रता

कात्तिकमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २८ करोड ७६ लाख ७९ हजार रुपियाँ बिमा शुल्क आर्जन गरेर १४ वटा निर्जीवन कम्पनीमध्ये अग्रणी बनेको छ । यद्यपि सगरमाथाको बिमा शुल्क आर्जन अघिल्लो वर्षको कात्तिक महिनाकै तुलनामा नौ करोड २० लाख ३३ हजार अर्थात् २४.२४ प्रतिशतले कमी हो । सगरमाथालाई पछ्याउँदै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २६ करोड ८२ लाख ७८ हजार रुपियाँ बिमा शुल्क आर्जन गरेको छ । 

यस्तै तेस्रो स्थानमा परेको शिखर इन्स्योरेन्सले २३ करोड २२ लाख ९० हजार रुपियाँ बिमा शुल्क आर्जन गरेको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले २३ करोड २१ लाख ८८ हजार, नेको इन्स्योरेन्सले २१ करोड ९० लाख ५९ हजार, हिमालयन एभरेस्ट इन्स्योरेन्सले १८ करोड ५३ लाख, युनाइटेड अजोड इन्स्योरेन्सले १६ करोड ६४ लाख ६४ हजार, एनएलजी इन्स्योरेन्सले १६ करोड सात लाख १० हजार, प्रभु इन्स्योरेन्सले १४ करोड दुई लाख २५ हजार, नेपाल इन्स्योरेन्सले १२ करोड नौ लाख ८४ हजार, सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले ११ करोड ७३ लाख १६ हजार, दी ओरियन्टल इन्स्योरेन्सले छ करोड ३९ लाख ८२ हजार, नेसनल इन्स्योरेन्सले पाँच करोड ९७ लाख २७ हजार र राष्ट्रिय बिमा कम्पनीले तीन करोड छ लाख ६१ हजार रुपियाँ बिमा शुल्क आर्जन गरेका छन् ।

पाँच वटाले बढाए

यो अवधिमा समग्रमा पछाडि देखिए पनि पाँच वटा कम्पनीले अघिल्लो सालको सोही अवधिको तुलनामा बिमा शुल्क आर्जनलाई बढाएका छन् भने बाँकी नौ कम्पनीले घटाएका छन् । व्यवसाय बढाउनेमा हिमालयन एभरेस्टले ५.१८ प्रतिशत, नेको इन्स्योरेन्सले २.२८ प्रतिशत, प्रभु इन्स्योरेन्सले ८३.७७ प्रतिशत, नेपाल इन्स्योरेन्सले ४.५४ प्रतिशत र नेसनल इन्स्योरेन्सले ३७.९२ प्रतिशतले बढाएका छन् ।

अर्थतन्त्रमा देखिएको शिथिलताको अवस्था बिमा क्षेत्रमा पनि देखिएको भन्दै बिमाविज्ञ डा. रवीन्द्र घिमिरे भन्नुहुन्छ, “मान्छेको क्रयशक्तिमा सङ्कुचन आइरहेको छ । बिमा क्षेत्रको व्यवसाय पनि क्रमशः खस्कँदै गएको छ ।”