अछाम, मङ्सिर २१ गते । अछाम र सुर्खेतको सिमानामा पर्ने जङ्गलघाटमा ठेक्का लगाइएको पुलको निर्माण कार्य अगाडि बढ्ने भएको छ । बुधबार अछाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह तथा अछाम र सुर्खेतका नागरिकबिच जङ्गलघाटमा भएको अन्तरक्रिया कार्यक्रममा शाहले अब तोकिएकै स्थानमा पुल बन्ने बताउनुभयो ।
जङ्गलघाटमा ठेक्का लगाएको पुल निर्माण कार्य अगाडि बढाउन मन्त्रीस्तरिय निर्णय भएको जानकारी गराउँदै उहाँले अब तोकिएको स्थानमा नै पुल बन्ने कुरा सुनिश्चित भएको बताउनुभयो । अछाम र सुर्खेतको सिमानामा बन्न लागेको बेतन कर्णाली हाइड्रोपावरले जङ्गलघाटमा बन्न लागेको पक्की पुल हाइड्रोपावरका कारणले डुबानमा पर्ने समस्या देखाउँदै पुलको उचाइ बढाउनुपर्ने वा पुल अन्यत्र निर्माण गर्नुपर्ने बताउँदै आएको थियो ।
लामो समयको अवरोधपछि पुल बन्ने प्रक्रियामा गएको छ । २०७८ साउन ८ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा लामा कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो । कर्णाली-बाबियाचौर-जङ्गलगाट-तुर्माखाद कमलबजार-गैरिटाड सडक यो वर्ष देशभरमा नौ वटा रणनीति सडकमा छनोट भएको छ । त्यसमा उक्त सडक खण्डलाई कोरिडोरका रूपमा अगाडि बढाउन पाँच अर्ब १८ करोड बजेटको सुनिश्चितता भएको शाहले बताउनुभयो । रासस