भावना जोशी
अत्तरिया, मङ्सिर २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार धनगढी आउने कार्यक्रम तय भएको छ । मङ्सिर २२ गते शुक्रबारदेखि धनगढीमा सुुरु हुन गइरहेको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड धनगढी आउन लाग्नुभएको हो ।
सुदूरपश्चिम महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले १७ औँ संस्करणको महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री आउने कार्यक्रम निश्चित भएको बताउनुभयो ।
अध्यक्ष कुँवरले भन्नुभयो, ‘‘प्रधानमन्त्री आउने भएपछि महोत्सवको गरिमा अझै बढ्नेछ, यस क्षेत्रका व्यवसायीहरुले भोग्नुपरेका समस्या र अहिलेको अवस्थाबारे प्रधानमन्त्रीसँग व्यवसायीले कुरा राख्न पाउनेछन् । उद्योग वाणिज्य सङ्घले पनि यसक्षेत्रका व्यवसायीहरुका समस्या प्रधानमन्त्री समक्ष राख्नेछ ।’’
अध्यक्ष कुँवरले प्रधानमन्त्री आउने तय भएपछि त्यही अनुसारको तयारी गरेको जानकारी दिनुभयो । ‘‘विगतका वर्ष झैं यो पटक पनि प्रमुख अतिथिलाई पूरा नभएका मागहरुको बारेमा जानकारी गराउने सङ्घको तयारी छ ।
महोत्सव १० दिनसम्म चल्नेछ । यस पटक महोत्सवको टिकट खल्ती एप्सबाट पनि लिन सकिने व्यवस्था सङ्घले मिलाएको छ ।