• ६ जेठ २०८१, आइतबार

भूकम्प प्रभावितस्थलमा सञ्चारमन्त्रीका दुई दिन (फोटो फिचर)

blog

तस्बिर :कुलदीप न्यौपाने

काठमाडौं, २० मङ्सिर। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले मङ्सिर १६ र १७ गते भूकम्प प्रभावित क्षेत्रको स्थलगत भ्रमण गर्नुभयो। मङ्सिर १६ गते सल्यानको दार्मा गाउँपालिकाको अगुवाइमा सुरु भएको पुनर्निर्माणका लागि स्वयंसेवक परिचालन अभियानको उद्घाटन गर्नुका साथै केही समय क्षतिग्रस्त घरबाट ढुङ्गा हटाउन श्रममा जोडिनुभयो। 

मङ्सिर १७ गते बिहान रुकुमपश्चिमका भूकम्प प्रभावित र प्रभावितस्थलको रिपोर्टिङमा खट्ने पत्रकारहरूका लागि सहयोग सामग्री (स्लिपिङ ब्याग, जकेट र टेन्ट) नेपाल पत्रकार महासङ्घ रुकुमपश्चिमका अध्यक्ष लक्ष्मण केसीलाई हस्तान्तरण गर्नुभयो।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, उपाध्यक्ष उदय जीएम, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तसहितको उपस्थितिमा पत्रकारलाई सहयोग सामग्री हस्तान्तरण गर्नुभयो। मन्त्री शर्माले रुकुमपश्चिमका भूकम्प प्रभावितका लागि पाँच सय थान सिरक प्रमुख जिल्ला अधिकारी पन्तलाई हस्तान्तरण गर्नुभयो।

सोही दिन मन्त्री शर्माले रुकुमपश्चिमको सानीभेरी गाउँपालिका र आठबीसकोट नगरपालिकाका प्रभावितस्थलको स्थलगत भ्रमण गरी प्रभावितको अवस्था र अस्थायी टहरा निर्माणको प्रगतिबारे जानकारी दिनुभयो। सो क्रममा सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर विष्टसहितका जनप्रतिनिधि र कर्मचारी तथा आठबीसकोट नगरपालिका प्रमुख रवि केसी, निवर्तमान प्रमुख गोरखबहादुर केसीसँग छलफलसमेत गर्नुभयो। मन्त्री शर्माले दुवै पालिकामा पुनर्निर्माणमा खटिएका स्वयंसेवकसँग छलफल गर्नुभयो।

सोही दिन मन्त्री शर्मा जाजरकोटको अतिप्रभावित नलगाड नगरपालिका पुगेर जनप्रतिनिधि र कर्मचारीसँग अस्थायी टहरा निर्माणको अवस्था र स्थायी आवास निर्माणको तयारीबारे छलफल गर्नुभयो। मन्त्री शर्माले जाजरकोटको भेरी नगरपालिकाका प्रभावितस्थलको भ्रमण गर्नुका साथै सदरमुकाम खलङ्गामा जिल्ला विपद् व्यवस्थापन समितिको बैठकलाई निर्देशनात्मक मन्तव्य दिनुभयो। 

सो क्रममा मन्त्री शर्माले जाजरकोटका भूकम्प प्रभावित र प्रभावित स्थलको रिपोर्टिङमा खट्ने पत्रकारका लागि सहयोग सामग्री (स्लिपिङ ब्याग, जकेट र टेन्ट) नेपाल पत्रकार महासङ्घ जाजरकोटका अध्यक्ष बालकुमार शर्मालाई हस्तान्तरण गर्नुभयो। नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, उपाध्यक्ष उदय जीएम, प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसहितको उपस्थितिमा पत्रकारलाई सहयोग सामग्री हस्तान्तरण गर्नुभयो। मन्त्री शर्माले जाजरकोटका भूकम्प प्रभावितका लागि पाँच सय थान सिरक प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई हस्तान्तरण गर्नुभयो। मन्त्री शर्माको सो भ्रमणमा कर्णाली प्रदेश सरकारका पूर्व कृषि तथा सहकारी मन्त्री विमला केसीसमेतको सहभागिता रहेको थियो। 

सो भ्रमणका क्रममा भूकम्प प्रभावित तथा स्थानीय जनप्रतिनिधिले उद्धार र उपचारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तत्काल प्रभावितस्थल पुगेर लिएको उच्चस्तरीय पहलको प्रशंसा गर्दै यसले एक दिनभित्रै उद्धार भएकोमा खुसी व्यक्त गर्नुभयो। उनीहरूले एकसरो आधारभूत राहत पुगेको, अस्थायी टहरा निर्माणले गति लिन थालेको, चिसोका कारण सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिकमा समस्या देखिन थालेको, अस्थायी टहराका लागि बजेट व्यवस्थापन भए पनि शौचालय, सरसफाइ तथा खानेपानीलगायतका अत्यावश्यकीय आवश्यकताका लागि बजेट व्यवस्थापन हुन नसकेको, स्थायी आवास बनाउँदा एकीकृत बस्ती विकासमा ध्यान दिनुपर्नेलगायतका सुझावसहित रिपोर्टिङ गरेका थिए। 

मन्त्री शर्माले उद्धार र उपचारकै गतिमा बाँकी काम गर्नुपर्ने सरकारको निर्णय सुनाउँदै मङ्सिर महिनाभित्र सबै प्रभावितलाई छानोमुनी ल्याउने गरी अस्थायी टहरा निर्माणको काम अघि बढाउन आग्रह गर्नुभयो। 

अस्थायी टहराका लागि प्रतिपरिवार ५० हजार अनुदानको व्यवस्था गरिएको, अस्थायी टहरा बनाउँदा स्थानीय सामग्रीको प्रयोग गर्न पाइने गरी कार्यविधि बनाइएको, प्रभावित आफैले निर्माण गरेको हटरालाई पनि मान्यता दिइएको, टहरा निर्माणमा जिल्ला सुरक्षा समितिले निर्णय गरेर सेना प्रहरी परिचालन गर्नसक्ने व्यवस्था गरिएको र जिल्लामा सुरक्षाकर्मी अपुग भए बाहिरबाट माग गर्नसक्ने व्यवस्था गरिएको सरकारका निर्णयबारे जानकारी दिनुभयो। 

भूकम्प प्रभावितको आवासस्थलको एक वर्षभित्र पुनर्निर्माण गरिसक्ने गरी मन्त्रिपरिषद्बाट निर्णय भएको, निर्वाचन क्षेत्र विकास कोषको रकममा एक अर्ब ७५ करोड थप गरी १० अर्बको पुनर्निर्माण कोष स्थापना गरिएको, ७७ वटै जिल्लामा विपद् कोष निर्माण गर्ने नीतिगत निर्णय भएको जानकारी गराउँदै मन्त्री शर्माले भूकम्प प्रभावितको आवास निर्माणलाई एकीकृत बस्ती विकासको अवसरको रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले विपद् नागरिकको सेवा गर्ने अवसरको रूपमा लिन पनि आग्रह गर्नुभयो।


तस्बिर सौजन्यः कुलदीप न्यौपाने