कपिल ज्ञवाली
सिद्धार्थनगगर, मङ्सिर २० गते । भैरहवामा भएको छैटाैं लुम्बिनी प्रादेशिक महोत्सव –२०८० मा साढे ९ करोडको कारोबार भएको छ ।
‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवर्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बचाऔं’ मूल नाराका साथ चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार सङ्गठन, रुपन्देही) को आयोजनामा महोत्सव भएको थियो ।
महोत्सवमा करिब ९ करोड ५५ लाख रुपियाँको कारोबार भएको उद्योग व्यापार सङ्गठन, रुपन्देहीका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक दर्पण श्रेष्ठले बताउनुभयो । महोत्सवको १ लाख ५० हजार दर्शकले अवलोकन गरेको श्रेष्ठले जानकारी दिनुभयो । उहाँले विगतका वर्षदेखि सङ्गठनले व्यापार मेला, महोत्सव, सडक खाना महोत्सवलगायतका कार्यक्रम सञ्चालन गर्दैआएको बताउनुभयो ।
‘आर्थिक मन्दीमा अर्थतन्त्र चलायमान गराउन केही भए पनि टेवा पुगोस् भन्ने उद्देश्यले १३ दिनसम्म महोत्सव सञ्चालन गरेका छौं’ अस्थायी संरचनामा महोत्सव सञ्चालन गर्दा धेरै खर्च र समय लाग्ने गरेको उहाँको भनाइ छ ।
महोत्सव समापन कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले आर्थिक मन्दीको बेला पनि महोत्सव सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो । उहाँले महोत्सव सफल पार्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाका महाप्रबन्धक हंसराज पाण्डेले विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनुपर्छ भन्ने मागप्रति आफ्नो पनि ऐक्यबद्धता रहेको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरतबहादुर विकले महोत्सवले आर्थिक गतिविधिलाई चलायमान बनाउने विश्वास ब्यक्त गर्नुभयो ।
उद्योग व्यापार सङ्गठन, रुपन्देहीका पूर्वअध्यक्ष नारायणप्रसाद भण्डारीले स्थायी मण्डप नहुँदा मेला–महोत्सव सञ्चालन झन खर्चिलो भएको बताउनुभयो । सो अवसरमा सङ्गठनका पूर्वअध्यक्ष खिमबहादुर खत्री, जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्रप्रसाद यादव, लुम्बिनी प्रेस क्लब, रुपन्देहीका कार्यबाहक अध्यक्ष कमल रायमाझीले विश्वव्यापी रुपमा आर्थिक मन्दी रहेका बेला पनि मेला–महोत्सव आयोजना गर्नु महत्वपूर्ण रहेको बताउनुभयो ।
सिद्धार्थनगर –८ स्थित अञ्चलपुरमा मङ्सिर ६ गतेदेखि सुरु भएको महोत्सव मङ्सिर १८ गतेसम्म चलेको थियो ।