काठमाडौँ, मङ्सिर २० गते । ओलम्पियन एवं तेक्वान्दोका पूर्व खेलाडी दीपक विष्टले राष्ट्रिय टिम तयारी निर्देशकको जिम्मेवारी पाउनुभएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ओलम्पियन विष्टलाई उक्त जिम्मेवारी दिएको हो । यसअघि विष्ट तालिम तथा प्रशिक्षण विभाग अन्तर्गत तेक्वान्दो प्रशिक्षकको रुपमा रहनुभएको थियो । नेपाली खेलकुदका सफल खेलाडीमध्येका एक विष्ट दक्षिण एसियाली खेलकुद (साग) को लगातार चार संस्करणमा स्वर्ण जित्ने एक मात्र नेपाली खेलाडी हुनुहुन्छ ।
उहाँले आठौँदेखि ११औं (साग) गेम्समा स्वर्ण जित्नुभएको थियो । विष्टले सन् २००२ को बुसान एसियाड तथा २००६ को दोहा एसियाडमा काँस्य पदक जित्नुभएको थियो । विष्ट ओलम्पिकमा छनोट भएर खेल्ने पहिलो नेपाली पुरुष खेलाडी हुनुहुन्छ ।
उहाँले सन् २००८ मा चीनको बेइजिङ भएको २९औँ ओलम्पिक छनोट चरण पार गरेर खेल्नुभएको थियो । उहाँ वि.सं. २०६५ साउन २० गते राखेपमा तेक्वान्दो प्रशिक्षकको रुपमा सेवा प्रवेश गर्नुभएको हो ।