• १२ साउन २०८१, शनिबार

आँखा जाँच गरिएकामध्ये १२ प्रतिशतमा मोतिबिन्दु

blog

स्थानीयको आँखा जाँच गर्दै स्वास्थ्यकर्मी ।

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर २० गते । झापाको कमल गाउँपालिकामा आयोजित आँखा शिविरमा आँखाको जाँच गरिएकामध्ये १२ प्रतिशतभन्दा बढीमा मोतिबिन्दु फेला परेको छ । स्थानीय इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाले २७ औं स्थापना दिवसको अवसरमा गरेको आँखा शिविरमा यस्तो भेटिएको हो । 

सहकारीले निःशुल्क आयोजना गरिएको आँखा शिविरमा २ सय १६ जनाको आँखा परीक्षण गराएका थिए । सहकारीका व्यवस्थापक खगेन्द्रप्रसाद भण्डारीका अनुसार आँखा शिविरमा परीक्षण गरिएकामध्ये १७ जना महिला र १० जना पुरुषसहित २७ जनामा मोतिबिन्दु देखिएको छ ।

सहकारीको संयोजन र आग्रहमा आँखा शिविरमा फेला परेका मोतिबिन्दु रोगीहरुको मेची आँखा अस्पताल बिर्तामोडले निःशुल्क शल्यक्रिया गरिदिएको पनि भण्डारीले जानकारी दिनुभएको छ । जाँच तथा आउन जान आवश्यक व्यवस्थापनमा हामीले सहयोग गरेका छौं, उहाँले भन्नुभयो ।

आँखा जाँच गरेका विरामीले निःशुल्क रुपमा औषधि वितरण गरिएको थियो । सहकारीका उपाध्यक्ष राजेन्द्र मिश्रका अनुसार आँखा जाँचका लागि अस्पताल जान नसकेका स्थानीयको घरआँगनमा जाँच र मोतिबिन्दु भएकाको निःशुल्क उपचारले धेरैलाई राहत मिलेको छ । सहकारीले वार्षिक रुपमा यस प्रकारको आँखा शिविरलाई निरन्तरता दिने पनि उहाँले बताउनुभयो ।

जुनसुकै उमेरका मानिसमा मोतिबिन्दुको समस्या देखिन सक्छ । तर अधिकांशमा उमेर बढ्दै गएपछि मोतिबिन्दु हुने सम्भावना धेरै हुने स्वास्थ्य प्राविधिकको भनाइ छ । मोतिबिन्दु भइसकेपछिको सबैभन्दा प्रभावकारी उपचार शल्यक्रिया नै भएकाले शल्यक्रिया निःशुल्क गर्ने व्यवस्था मिलाइएको सहकारीले जनाएको छ ।