• २७ वैशाख २०८२, शनिबार

अत्यधिक योजनाको माग छ : मन्त्री लामा

blog

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामा कार्यक्रममा सम्बोधन गर्नुहुँदै । तस्विर : सुजन काफ्ले

सुजन काफ्ले

चरीकोट, मंसिर २० गते ।  बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिं लामाले अत्यधिक विकासका योजनाको माग आएपछि बजेट विनियोजनमा समस्या भएको बताउनुभएको छ । 

बुधबार बिहान दोलखा सदरमुकाम चरीकोट आइपुग्नुभएका लामाले नेपाली काँग्रेस दोलखाको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सो कुरा बताउनुभएको हो । दोलखाका स्थानीय तहमा बागमती प्रदेशले कम बजेट विनियोजन गरेको जनप्रतिनिधिले गुनासो गरेपछि मन्त्री लामाले योजनाको माग अत्यधिक आएको तर बजेट गत आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्ष कम बजेट विनियोजन भएको बताउनुभयो । 

मन्त्री लामाले जनताको अपेक्षा धेरै भएकाले पूरा गर्न नसकिएको बताउनुहुँदै प्रदेश सरकारको विनियोजित बजेटमा दोलखालाई प्राथमिकता साथ राखेको उहाँको भनाइ छ । 

पुराना योजनामा अरबौ बजेट विनियोजन गर्नुपर्ने भएकाले नयाँ विकासका योजनामा बजेट कम भएको बताउदै लामाले आगामी आर्थिक वर्ष बजेटमा नयाँ र प्रदेशका गौरबको आयोजनामा प्राथमिकताका साथ बजेट विनियोजन गर्ने बताउनुभयो । 

प्रदेश सरकारले आगामी वर्ष टुक्रे योजनामा बजेट विनियोजन नगर्ने बताउनुहुँदै उहाँले अरु जिल्लाको तुलनामा दोलखामा बजेट विनियोजन प्राथकितासाथ गर्ने बताउनुभयो । लामाले दोलखाका निर्माण व्यवसायीसँग दोलखामा निर्माण व्यवसायको बारेमा छलफल गर्नुभएको छ । 

छलफलमा लामाले निर्माण व्यवसायीको अहिलेको समस्याबारे जानकार रहेको बताउनुहुँदै निर्माण व्यवसायीको भुक्तानी र दोलखामा ६ महिनादेखि बन्द भएका क्रसर बारेमा सम्बन्धित निकायसँग बसेर समाधान गरिने बताउनुभयो ।