• २ जेठ २०८२, शुक्रबार

बेनीको वीरेन्द्रचोक नमुना चोकको रूपमा विकास गरिँदै

blog

तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, मङ्सिर २० गते । म्याग्दीको सदरमुकाम बेनी बजारको वीरेन्द्रचोकलाई नमुना चोक बनाइएको छ । सडक छेउका पर्खालमा फूलका गमला, चौतारी मर्मत, वाल तथा पेटीहरूमा रङ्गरोगन र दैनिक रूपमा सडक सरसफाइ गरेर नमुना चोक बनाइएको हो । 

सडकको छेउछाउमा राखिएका गमलामा रङ्गीचङ्गी फूल फुलेका छन् । चौताराको छेवैमा रहेको पर्खालमा बेनीलाई चिनाउने पुरानो गीत बेनीको बजार, जता माया उतै छ नजर, किरेमिरे जाले रुमाल बोलको गीतका रचनाकार टिकाबहादुर श्रेष्ठ र गायिका मनकुमारी छन्त्याल श्रेष्ठको तस्बिर कोरिएको छ । उक्त गीत अझै पनि लोकप्रिय छ । 

हुलाकचोक हुँदै आवाचोक, जिल्ला प्रशासन गेटदेखि बेनी सामुदायिक विद्यालयसम्मको सडकमा फूलका गमलाहरू राखेर सौन्दर्यकरण गरिएको छ । चोकलाई नमुना बनाउन लाग्ने जति खर्च टोलवासीहरूले आफैँ जुटाएका छन् ।   

"वीरेन्द्रचोकलाई सुन्दर र नमुना चोक बनाउने हामीले प्रयास थालेका छौँ", टोल विकास संस्थाका अध्यक्ष महेन्द्र श्रेष्ठले भन्नुभयो, "केही नमुना काम गरौँ भन्ने भावनाका साथ टोलवासीहरू सक्रिय भएका हौँ । टोलमा बसोबास गर्नुहुने २६ घरपरिवारले आफैँ पैसा खर्च गरेर काम गरेका छौँ ।" अध्यक्ष श्रेष्ठले भने व्यक्तिगत रूपमा पचास हजार रुपियाँ सहयोग गर्नुभएको छ । 

फूलका गमला राख्न, रङ्गरोगन गर्न र चौतारी मर्मतसंभार गर्न करिब ४ लाख रुपियाँ खर्च भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । चौतारी रङ्गरोगन गर्न लायन्स क्लबले सहयोग गरेको उहाँले बताउनुभयो । सर्वसाधरणहरुका लागि चोकमा फिल्टर सहितको सार्वजनिक धारा पनि राखिएको छ । 

प्रत्येक बिहान टोलवासीहरू मिलेर सडक पुरै सफा गर्ने गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, जिल्ला हुलाक र जिल्ला समन्वय समितिको कार्यालयहरू समेत छन् तर त्यहाँ कार्यरत कार्यालय सहयोगीहरूलाई काम लगाउन कठिने हुने गरेको उहाँले अनुभव सुनाउनुभयो । हामीले गरेको यो उदाहरणीय कार्यलाई बेनीका अन्य टोलवासीहरूले पनि सिको गरे बेनी बजारलाई नमुना बजार बनाउन सकिने अध्यक्ष श्रेष्ठको भनाइ छ ।