• १३ असोज २०८१, आइतबार

प्राविधिक शिक्षालयमा एक वर्षदेखि पढाइ ठप्प

blog

धनुषाको गणेशमान चारनाथ नगरपालिका–९, बरमझियामा रहेको रामवृक्ष यादव स्मृति (बालीविज्ञान) प्राविधिक शिक्षालय । तस्विर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केवर, मङ्सिर २० गते । धनुषाको गणेशमान चारनाथ नगरपालिका–९, बरमझियामा रहेको माध्यमिक विद्यालय मातहत सञ्चालित रामवृक्ष यादव स्मृति (बालीविज्ञान) प्राविधिक शिक्षालयमा शिक्षक नहुँदा एक वर्षदेखि पठनपाठन ठप्प भएको छ । शिक्षक अभावमा २०७९ माघ महिनादेखि बाली विज्ञान प्राविधिकधारका सम्पूर्ण पठनपाठन ठप्प रहेको विद्यार्थीको भनाइ छ । 

२०७६ सालमा सिटिइभिटीबाट स्वीकृत लिएर २०७७ सालबाट तीनवर्षे बालीविज्ञान कक्षा सञ्चालन गरिएको यस शिक्षालयमा ३३ जना विद्यार्थी भर्ना छन् । पहिलो वर्षमा ११ र दोस्रो वर्षमा २२ जना गरी ३३ जना विद्यार्थी भर्ना छन् । 

शिक्षालयमा अध्ययनरत छात्रा अनुकुमारी ठाकुरले पढाउने शिक्षक नभएका कारण करिब एक वर्षदेखि बालीविज्ञान प्राविधिकतर्फको पढाइ नभएको बताउनुभयो । पढाइ नहुँदा विद्यार्थी समस्यामा परेको उहाँले जानकारी दिनुभयो । 

"एक वर्षदेखि एक पाना पनि पढाइ भएको छैन । पढाउने एउटा शिक्षक पनि छैन । यसरी हामी विद्यार्थीको भविष्य अन्याेल बन्दै गएको छ । अरु प्राविधिक शिक्षालयमा गएर पढछु भन्दा पनि पाइँदैन । अरु ठाउँ पढ्नका लागि सिटिइभिटीबाट स्वीकृति प्राप्त बाली विज्ञान पढाउने शिक्षालय नै हुनुपर्ने हुनुपर्दछ", उहाँले भन्नुभयो । 

घरमै पढेको भरमा साउन महिनामा सम्पन्न तेस्रो वर्षको परिक्षा दिएको बताउँदै छात्रा अनुकुमारीले शिक्षक व्यवस्थापनका लागि विद्यालय प्रशासन, वडाध्यक्ष र नगरप्रमुखलाई समेत भेटेर भनेको बताउनुभयो । 

विद्यालयका प्रधानाध्यापक जीवछ यादवले शिक्षक अभावका कारण बाली विज्ञान प्राविधिकतर्फको पढाइ गत माघ महिनादेखि अवरुद्ध रहेको स्वीकार गर्दै शिक्षकको तलबभत्ता दिन नसकेकाले पढाइ रोकिएको बताउनुभयो । शिक्षक अभावकै कारण २०७९ र २०८० सालको शैक्षिक सत्रमा बालीविज्ञान प्राविधिक धारतर्फ नयाँ विद्यार्थी भर्ना नगरिएको उहाँले जानकारी दिनुभयो । 

विद्यार्थीबाट असुल गरिएको वार्षिक शुल्क र केही विद्यालयको आन्तरिक आम्दानीबाट शिक्षक व्यवस्थापन गरिएको थियो । तर, विद्यालयको आर्थिक अवस्था जर्जर भएर शिक्षकलाई तलब दिन नसकेपछि प्राविधिक धारतर्फको पढाइ रोकिएको छ । शिक्षक व्यवस्थापनका लागि नगरपालिकासँग समन्वय भइरहेको प्रधानाध्यपक यादवको भनाइ छ। 

गणेशमान चारनाथ नगरपालिका शिक्षा शाखाका प्रमुख छोटी मुखियाले विद्यालय स्वयम्ले प्राविधिक शिक्षक व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । विद्यालयको आन्तरिक स्रोत अथवा नगरपालिकाले शिक्षक व्यवस्थापन गर्नुपर्ने उहाँले जानकारी दिनुभयो । गणेशमान चारनाथ नगरपालिकाका नगर प्रमुख जीतनारायण यादवले प्राविधिक शिक्षालयमा शिक्षक व्यवस्थापनलगायत अन्य खर्चका लागि चालू आर्थिक वर्ष २० लाख रुपियाँ छुट्याइएको बताउनुभयो ।