• ५ जेठ २०८१, शनिबार

लागूपदार्थ दुर्व्यसन रोक्न प्रहरीको ‘नवप्रवर्तनीय’अभियान

blog

महोत्तरी, मङ्सिर १९ गते । नेपाल प्रहरीले मधेस प्रदेशमा लागूपदार्थ दुर्व्यसनविरुद्ध नयाँ अभियान सञ्चालन गरेको छ । लागूपदार्थको दुर्व्यसन र यसको कारोबारविरुद्ध सचेतना र निस्तेजकार्य सँगसँगै बढाउन प्रदेशका आठवटै जिल्लामा ‘नवप्रवर्तनीय कार्य’अभियान सञ्चालन गरिएको नेपाल प्रहरी, मधेस प्रदेश कार्यालय जनकपुरधामले जनाएको हो । 

अभियानलाई ‘एन्टी ड्रग क्याम्पनिङ्’ भनिएको छ । यसै साताको प्रारम्भमा महोत्तरीबाट सुरु गरिएको अभियानअन्तर्गत दुर्व्यसनी र कारोबार गर्नेको पहिचान, नियन्त्रण, अभिलेखीकरण, मनोपरामर्श, अभिभावकसँग परामर्श र कानुनी कारबाहीका चरण रहेको नेपाल प्रहरी मधेस प्रदेश कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो । “हामीले अभियानको पहिलो चरणमा दुर्व्यसनी र कारोबारीको पहिचान गर्न थालेका छौँ, यसअन्तर्गत दुर्व्यसनी कुन अवस्थाको छ, त्यो छुट्टिन्छ”, भट्टराई भन्नुहुन्छ, “भर्खरै सम्पर्कमा पुगेको भए मनोपरामर्श र संवादका विधिले अभिभावकको जिम्मा लगाइन्छ, उसको दुर्व्यसनको प्रकृतिअनुसार हामी कारबाहीको चरणसम्म पुग्छौँ ।” 

कारोबारमै संलग्न भएका पहिचान गरिएकालाई भने कानुनी कारबाही बढाइने भट्टराईको भनाइ छ । अभियान प्रारम्भसँगै महोत्तरीमा पहिचान गरिएका चार सय ९५ जनासँग सचेतना कक्षासँगै उनीहरूलाई मनोविज्ञबाट मनोपरामर्श दिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । भर्खरै दुर्व्यसनीको सङ्गतमा परेका मनोपरामर्शपछि सुधारिएर नियमित पारिवारिक जीवनमा फर्कने अपेक्षा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्ल बताउनुहुन्छ ।

भारतसँगको खुला सीमा आवतजावत भएको हुँदा दुर्व्यसनी भारतीय बजारमा गई लागूऔषध प्रयोग गरेर फर्कने, यस्ताले केही आफ्नो प्रयोगका लागि ल्याउने गरेका पाइएको मधेस प्रहरी कार्यालयले जनाएको छ । यसै गरी कारोबारीले प्रतिबन्धित यस्ता लागूऔषध लुकाइछिपाइ दुरदराजसम्म पुर्‍याउने गरेका प्रहरी अधिकारी बताउँछन् । मधेसमा लागूऔषधको दुर्व्यसन र कारोबार भयावह रहेको प्रहरी अधिकारी स्वीकार गर्छन् । चालु आर्थिक वर्ष २०८०/८१ मा हालसम्म आठ जिल्लामा लागूऔषध सम्बन्धी दुई सय ६३ वटा मुद्दा दर्ता भइसकेका प्रहरी नायब महानिरीक्षक भट्टराई बताउनुहुन्छ ।

यसअघि आव २०७९/८० मा नौ सय ३७ र आव २०७८/७९ मा नौ सय २७ वटा यस प्रकृतिका मुद्दा दर्ता भएका प्रहरी अभिलेखमा उल्लेख छ । अभियानमा सीमा नाकामा प्रहरी मुस्तैदी बढाइएको प्रहरीको भनाइ छ । यद्यपि दुर्व्यसनीले कति लागूपदार्थ सेवन गरेको छ ? ऊ सिकारु हो वा अभ्यस्त हो ? यो थाहा पाउन जाँच्ने यान्त्रिक उपकरण नहुँदा उनीहरूको ठिकठिक अवस्था बुझ्न कठिनाइ हुने गरेको प्रहरी नायब महानिरीक्षक भट्टराई बताउनुहुन्छ ।

यसबिच यो अभियानका लागि आवश्यक उपकरण र अन्य सहयोग मधेस प्रदेश सरकारबाट सहयोगको प्रतिबद्धता प्राप्त भएको उहाँले बताउनुभयो । अत्यन्त भयावह बन्दै गएको लागूपदार्थ दुर्व्यसन तथा ओसार प्रसारविरुद्धको यो अभियानमा राज्यका सबै अङ्ग, प्रदेश तथा स्थानीय सरकार, राजनीतिक दल, सामाजिक सङ्घ संस्था र प्रत्येक घरपरिवारको प्रत्यक्ष सहभागिता बढ्न आवश्यक रहेको र यो साथ पाइने मधेस प्रहरी कार्यालयले जनाएको छ । रासस