• ६ पुस २०८१, शनिबार

नचिनिएका अमृत

blog

स्वास्थ्य नै धन हो ।’, यो कथन जति सरल छ त्यति नै मार्मिक र अर्थपूर्ण पनि छ । ‘भौतिक धन’ जीवनभोगका लागि हो भने ‘स्वास्थ्य–धन’ स्वस्थ र सुखी जीवनयापनका लागि हो । ‘भौतिक धन’ र ‘स्वास्थ्य–धन’ बीच एक हदसम्म नाता रहे पनि स्वास्थ्य–धनको उचाइ भौतिक धनले प्राप्त गर्न सक्दैन । 

कोही दीर्घरोगी बनेर थलिनुपर्ने अवस्था आयो भने भौतिक धनले मात्र धेरै सुख दिँदैन । शरीर स्वस्थ रहे ‘भौतिक धन’ आर्जन गर्न सकिन्छ तर ‘भौतिक धन’ बाट ‘स्वास्थ्य–धन’ आर्जन हुन्छ भनेर किटान गर्न सकिन्न । त्यसैले ‘स्वास्थ्य–धन’ धनको पनि धन हो । राम्रो स्वास्थ्यभन्दा ठूलो अर्को धन छैन ।

भौतिक दृष्टिले हाम्रो चोला एकबारको हो । फेरि फेरि नपाइने एक जुनीको मानव चोलामा राम्रो स्वास्थ्यको अपार महत्व छ । अस्वस्थ शरीर र विकारग्रस्त मन लिएर बाँच्नु अतिशय कठिन जीवन भोगाइ हो, जुन आफैँमा अतिशय कठोर सजाय हुन्छ । यस्तो अनुभव भुक्तभोगीहरूबाट सुनिँदै आएको हो । राम्रो स्वास्थ्य कायम गर्नु र भएको राम्रो स्वास्थ्यलाई यथावत् राख्नु सुखद जीवनका लागि अपरिहार्य छ ।

त्यसो हो भने हाम्रो स्वास्थ्य कसरी राम्रो बनाउने ? यस प्रश्नको उत्तर सरल र सहज छ । बहुधा स्वास्थ्यविज्ञको भनाइ छ, उचित आहारविहार नै राम्रो स्वास्थ्यको रहस्य हो । यसलाई अर्को शब्दमा भन्ने हो भने उचित किसिमको खानपिन र जीवनशैलीले नै स्वास्थ्य राम्रो बनाउँछ । 

हामीले ग्रहण गर्ने खानेकुराले नै हाम्रो स्वास्थ्य कस्तो हुने भन्ने निर्धारण गर्छ । हाम्रो शरीरलाई अन्नपानीको शरीर भन्ने भनाइ बहुश्रुत छ । धार्मिक मतानुसार अन्नमा देवतत्व निहित छ । त्यसैले हामीले ग्रहण गर्ने अन्नलाई ‘अन्नब्रह्म’ भन्ने चलन छ । यसै गरी ‘अन्नको परान, नुनको तरान’ यो भनाइ पनि जनस्तरमा बहुतै सुनिएको लोकअभिव्यक्ति हो । अचेल सुनिन थालेको अर्को भनाइ छ ‘जस्तो खाना उस्तै शरीर र मन’ । 

यी सबै लोकअभिव्यक्ति र मतले स्वस्थ जीवनयापनका लागि सही किसिमको खानपिनको महìवलाई दर्साउँछ । स्वाभाविक रूपमा खानपिनले हाम्रो स्वास्थ्यमा गहिरो प्रभाव पार्छ । सही किसिमले पहिचान गरी ग्रहण गर्न जानेमा पृथ्वीतलमा पर्याप्त पोसिलो खाद्यभण्डार छ । धर्तीमा अनेकन् प्रकारका पोसिलो र गुनिलो खानेकुरा उपलब्ध छन्, जसमा प्राकृतिक रूपमै सहज किसिमले उपलब्ध खाद्यपरिकारदेखि कृत्रिम तवरबाट उत्पादित खानेकुरासम्मको लामो सूची पर्छन् । 

प्रशोधित खाद्यवस्तुको अँध्यारो पक्ष

अचेल विकासोन्मुख मुलुकका बहुसङ्ख्यक उपभोक्ता आकर्षक प्याकेट वा डिब्बामा उपलब्ध प्रशोधित खाद्यवस्तुका पछाडि लागेका छन् । हामीकहाँ म्याकडोनाल्ड, केएफसीजस्ता ‘फास्टफुड’ को लोकप्रियता बढेर गएको छ । यस्ता खाद्यपरिकार ग्रहण गर्ने परिपाटीलाई कसै कसैले सम्पन्नताको प्रतीक (स्ट्यास सिम्बोल) का रूपमा लिने गरेको पाइन्छ । अर्थात् यस्ता खाद्यपरिकार ग्रहण गर्ने व्यक्तिको आर्थिक तथा सामाजिक हैसियत उच्च छ भन्ने सङ्केतका रूपमा बुझ्ने प्रवृत्ति हामीकहाँ छ, जुन उच्चस्तरको भ्रमबाहेक केही होइन । 

गुणस्तरहीन प्रशोधित खाद्यवस्तु (junk food) मूलधारको खाद्यवस्तु बन्ने तरखरमा रहेको प्रतीत हुन्छ । खाद्यवस्तु जीवनशैलीको एक हिस्सा बन्न लागिरहेका बेला यसका अँध्यारो पक्षबारे हामी जानकार बन्नै पर्छ । प्रशोधित खाद्यवस्तु देख्नमा आकर्षक र  जिब्रोका लागि स्वादिलो हुन्छ नै तर प्रशोधित खाद्यवस्तुलाई स्वादिष्ट बनाउन स्वास्थ्यका लागि प्रतिकूल ठहरिएका रसायनलगायतका अखाद्य वस्तु प्रयोग हुन्छन् । यसको मूल्य मानव जीवन नै हुन सक्छ । 

प्रशोधित खाद्यवस्तुमा खाद्यवस्तुको प्रकृति अनुसार अत्यधिक मात्रामा नुन तथा चिनी प्रयोग गरिँदा मानव स्वास्थ्यमा एकपछि अर्को गरी गम्भीर असर परिरहेको चर्चा पनि शिखरमा छ । 

संयुक्त राष्ट्रसङ्घ बालकोष (युनिसेफ) द्वारा जारी एक प्रतिवेदनले गुणस्तरहीन प्रशोधित खाद्यवस्तु ग्रहण गर्दा विश्वभरका बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर परेको जनाएको छ । खासगरी गुणस्तरहीन प्रशोधित खाद्यवस्तुले शरीरको प्रतिरोधात्मक क्षमतामा कमजोर हुने, क्यान्सरको जोखिम बढ्ने, शरीरको तौल असन्तुलित हुने, हृदयरोगको जोखिम बढ्ने लगायतका गम्भीर प्रकृतिका स्वास्थ्यसम्बन्धी जोखिम तथ्य पोषणविद्हरूले औँल्याउँदै आएका छन् । 

गुणस्तरहीन प्रशोधित खाद्यवस्तुलगायतका गलत खानपिन र जीवनशैलीसँग सम्बन्धित नसर्ने रोगको ग्राफ उकालो लाग्दै छ, जुन हामी स्वयम्ले निम्त्याएको सङ्कट हो । आधुनिकताको नाममा गलत खानपिन र जीवनशैलीसँग सम्बन्धित रोगले विश्वमा हरेक वर्ष लाखौँ मानिसको जीवनलीला समाप्त हुँदै आएको छ । 

अमेरिकी पत्रिका ‘टाइम’ (अप्रिल ३, सन् २०१९)ले ‘द ल्यानसेट’ जर्नलमा प्रकाशित शोधमूलक लेखलाई उद्धरण गर्दै विश्वका कुल मृत्युमध्ये २० प्रतिशत मृत्यु ‘जङ्क फुड’ लगायत कमसल खालका खानेकुरासँग सम्बन्धित छ भन्ने तथ्य उजागर गरेको छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार विश्वमा गुणस्तरहीन तथा कमसल खानेकुराबाट लाग्ने रोगबाट मर्नेको सङ्ख्या सुर्तीजन्य पदार्थ सेवनबाट मर्नेको भन्दा बढी छ ।

तथ्याङ्क अनुसार विश्वमा प्रतिवर्ष एक करोड १० लाख मानिस कमसल खानेकुराबाट लाग्ने रोगबाट मर्छन् भने सुर्तीजन्य पदार्थ सेवनका कारण लाग्ने रोगबाट देहत्याग हुनेको सङ्ख्या जम्मा ७० लाख रहेको छ । ‘द हिन्दुस्तान टाइम्स’ (अगस्ट २३, सन् २०२३) मा प्रकाशित लेखमा बालबालिकाको स्वास्थ्यमा क्षति पु¥याउने चाउचाउ, गुलियो पेय, प्रशोधित मासुलगायत १० वटा ‘जङ्क फुड’ को सूची दिइएको छ । 

विज्ञापनको भ्रमजाल

हामी विज्ञापनको युगमा बाँचिरहेका छौँ । हामीकहाँ नकारात्मक र गुणस्तरहीन चिजलाई के के न हो जस्तो गरी प्रचार गरेर भ्रम बाँड्ने संयन्त्र तयार भइसकेको छ । गलत चिजलाई गौरवीकरण गरिएका विज्ञापन ९नयिचषष्भम बमक० अहिलेको निर्मम वास्तविकता हो । अचेल आकर्षक तर भ्रामक विज्ञापनबाट सङ्क्रमित पुस्ता तयार भइसकेको छ, जो विज्ञापनमा प्रस्तुत भएका अवास्तविक दुनियाँलाई साँचो ठान्छन् तर वास्तविक भुक्तभोगीका मौलिक जीवन भोगाइबाट निसृत ज्ञानलाई अङ्गीकार गर्न हतपत तयार हुँदैनन् । 

भ्रमयुक्त विज्ञापनले नयाँ पुस्ताको दिमाग एकोहोरो बनाइदिएको हुन्छ । विज्ञापनको सूत्रमय र शानदार प्रस्तुतिले उनीहरूलाई पागलप्रेमी जस्तो एकोहोरो बनाइदिइसकेको हुन्छ । परिणामस्वरूप विज्ञापनले बिछ्याएको भ्रमजाललाई सत्य ठानी गुणस्तरहीन चिजलाई उच्चस्तरीय वस्तु मान्नेहरू पनि हामीकहाँ कम छैनन् । 

विज्ञापनले समाजमा कसरी भ्रमजाल बिछ्याएका छन् र हामी कसरी हुस्सु बनिरहेका छौँ भन्ने जान्न आवश्यक छ । ‘द अनरियालिटी इन्डस्ट्री’ (सन् १९८९), ‘नो लोगो’ (सन् १९९९), ‘डिह्युनाजेसन अफ अमेरिका’ (सन् १९९२), ‘अम्युजिङ आवरसेल्भस् टु डेथ’ (सन् २००५) आदि पुस्तकले भ्रामक र धोकापूर्ण विज्ञापनले हाम्रो जन, धन र मन कसरीलाई सिध्याउँदै छ भन्ने मार्मिक दृष्टान्त पेस गरेका छन् । ‘जङ्क फुड’ का पक्षमा खर्च गरिएका करोडौँको खर्चले गजब किसिमले नयाँ पुस्ताको ‘बे्रनवास’ गरिरहेको छ । 

चेतनाको दियो

पश्चिमी गोलाद्र्धमा खाद्यवस्तुसम्बन्धी मनोविज्ञान हाम्रोभन्दा नितान्त भिन्न देखिन्छ । हामी ‘जङ्क फुड’ को हिमायती बनिरहेका बेला पश्चिमी समाजले म्याकडोनाल्ड, केएफसी आदि ब्रान्डका खाद्यवस्तुलाई सस्तो र कमसल खालका खानेकुरा मान्दछ । उनीहरूले जैविक खाद्यवस्तुलाई गुणस्तरीय र स्वास्थ्यवद्र्धक खानेकुरा मान्छन् ।

वास्तविकता पनि त्यही हो। पश्चिमी समाज प्रशोधित खाद्यवस्तुलाई त्यागी जैविक खाद्यवस्तुतर्पm आकर्षित हुँदै गएको छ । परिणामतः त्यहाँ जैविक खाद्यवस्त अकल्पनीय किसिमले महँगो पनि छ । 

हाम्रो समाजमा पनि जैविक खाद्यवस्तुका पक्षमा जनचेतनाको दियो सल्किने क्रम जारी छ । झिनो रूपमा नै सही अचेल जैविक खाद्यवस्तुका पक्षमा जनमत तयार हुँदै गएको छ । हुन त नेपाली समाज मूलभूत रूपमै जैविक खाद्यवस्तु उपभोग गर्दै आएको रैथाने समाज हो । प्रकृतिको निकटमा रहेर प्रकृतिकै काखमा उपलब्ध जैविक खाद्यवस्तु ग्रहण गरी निरोगी र दीर्घजीवी बन्ने परिपाटी हाम्रो समाजको मौलिक चिनारी हो । 

पहिलेका तपस्वीले जैविक खाद्यवस्तुलाई आत्मसात् गरेको पाइन्छ । मातृका तिम्सिनाले तपस्विनी योगमाया न्यौपाने (विसं १९२५–१९९८) बारे लेखेको लेखमा यही प्रसङ्ग कोट्याएका छन् । समाजको विसङ्गति तथा विकृतिविरुद्ध सामाजिक अभियन्ताका रूपमा प्रकटित योगमायाले जैविक खाद्यवस्तुको महìव बुझेकी थिइन् । उनले आश्रम सञ्चालन गर्ने अभिप्रायले ‘भिक्षापत्र’ जारी गरेको इतिहास छ । त्यस ‘भिक्षापत्र’ मा साग, सिस्नो, पिठोको प्रसङ्ग छ । 

महाकवि लक्ष्मीप्रसाद देवकोटाको लोकप्रिय काव्यकृति ‘मुनामदन’ मा साग र सिस्नुको प्रसङ्ग छ । ‘मुनामदन’ मा एउटा मार्मिक हरफ छ, ‘हातका मैला सुनका थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दी मनले’ । सर्वसाधारणका लागि समेत बोधगम्य ठहरिएका यस हरफमा मौलिक आहारा र आनन्दी मनबीचको सम्बन्धलाई उजागर गरिएको छ । 

‘मुनामदन’ को उपर्युक्त हरफले स्वस्थ जीवनका लागि शरीर र मन दुवै स्वस्थ हुन आवश्यक छ भन्ने सरल तर मार्मिक सन्देश दिएको छ । साथै यसले स्वस्थ जीवनका लागि साग, सिस्नुजस्ता सहजै उपलब्ध हुने खाद्यवस्तु पर्याप्त छ भन्ने शक्तिशाली सन्देश पनि दिएको छ । 

सागकै परिवर्तित रूप गुन्द्रुकलाई धेरैले हेयभावले हेर्छन् तर यसको महत्व आफ्नै किसिमको छ । नेपाल समाचारपत्रमा प्रकाशित डा. प्रकाशराज रेग्मीको एक लेखमा जाडोको समयमा बेलुका गुन्द्रुकको झोल खाने गरेमा यसले जिउ तताउन मद्दत गर्छ भनी उल्लेख गरिएको छ ।

समयको खेल नै मान्नुपर्ला कुनै बेला गरिबको आहारा भनेर चिनिएका र हेला गरिएका गुन्द्रुक, ढिँडो तथा सिस्नुको लोकप्रियता बढेर गएको छ । हिजोका दिनमा फालिएको अवस्थामा रहेका ती खाद्यपरिकार आज सहरका तामझामपूर्ण होटलको मेनु बन्न पुगेका छन् । घरगाउँमा सित्तैमा पाइने ती वस्तु अब महँगो मूल्य चुकाएर मात्र खान पाइने भएको छ । हामीले बेलैमा अमृतलाई चिन्न नसक्दा यस्तो अवस्था आएको हो ।

समस्याको पाटो

जैविक खाद्यवस्तु बहुधा गुणकारी हुँदाहुँदै पनि समस्याविहीन भने रहन सकेको छैन । यसका पछाडि हाम्रै गैरजिम्मेवारपूर्ण व्यवहार जिम्मेवार बनेको छ । अनावश्यक किसिमले रासायनिक मल तथा कीटनाशकको प्रयोगले जैविक खाद्यवस्तु विषालु बन्न पुगेको अवस्था छ । कीटनाशक प्रयोग भएका तरकारी, फलफूल र अन्नबाट जनस्वास्थ्यमा गम्भीर समस्या आइरहेको निष्कर्ष आइरहेका छन् । 

रासायनिक मल तथा कीटनाशकले माटो रुखो बन्नुका साथै जलचर तथा थलचर जस्ता यावत् मित्रजीव क्रमिक रूपमा नासिन पुगेका छन् । यसबाट प्रकृतिको चक्र खल्बलिने अवस्था आएको छ । व्यापारिक प्रयोजनका निमित्त उत्पादित खाद्यवस्तुमा अखाद्य वस्तुको मिसावट अर्को गम्भीर समस्या बनेको छ ।

अर्कोतिर हामी छिटो, छरितो र उब्जाउ बालीनालीका पछि लागेका छौँ । यस क्रममा हामी जिन नै परिवर्तन गरिएका ‘जिएमओ’ फसलका उपासक बनेका छौँ । अब किसानको हातमा बिउ नरहने अवस्था आएको छ । किसानले वर्षैपिच्छे व्यापारीकहाँ बिउ किन्नुपर्ने अभूतपूर्व अवस्था आएको छ । व्यापारिक कम्पनीको ‘मुठीको माखा’ बन्न पुगेका छन् किसानवर्ग । 

एकातिर किसानले आत्मनिर्भरता गुमाउने र अर्कोतिर बहुराष्ट्रिय व्यापारिक कम्पनीको किसानलाई टेकेर नाफा कमाउने । यसलाई हाम्रो नीतिगत असफलता मान्न सकिन्छ । यस प्रकारको दुःखदायी दृष्टान्तलाई गुणकारी रैथाने बालीनालीप्रति गरिएका अत्याचारपूर्ण व्यवहारका रूपमा लिन सकिन्छ । 

‘जिएमओ’ फसलप्रतिको मोहले हाम्रै सेरोफेरोमा रहेका औषधीय गुणयुक्त कतिपय रैथाने बाली हेलाहोचो हुन पुगेका छन् । परिणामस्वरूप कतिपय रैथाने बालीनाली त पूरापूर विलुप्त भइसके भने कतिपय लोप हुने चरणमा छन् । 

यति हुँदाहुँदै पनि पछिल्लो चरणमा रैथाने बालीप्रति झिनो रूपमा भए पनि आकर्षक बढेको छ । रैथाने फसलको माग बढेको छ तर माग पूरा गर्न सकिने अवस्था देखिँदैन । यहाँनेर एउटा समाचार शीर्षकलाई दृष्टान्तका रूपमा लिन सकिन्छ : ‘गाउँमा कोदो खेती घट्दै, सहरमा महत्व बढ्दै’ (बाह्रखरी, असोज २७, २०८० साल) । समाजलाई स्वस्थ रहन सघाउने हो भने रैथाने बालीको खेती बढाउनुको विकल्प छैन ।

यात्रा र ‘जङ्क फुड’

यात्रामा ‘जङ्क फुड’ को प्रयोग भरमार देखिन्छ । बेच्नेले पनि गौरवपूर्ण किसिमले बेचिरहेको र किन्नेले पनि छाती फुलाएर किनिरहेको देखिन्छ । स्वास्थ्यका दृष्टिले अभक्ष ठहरिएका यस्ता खाद्यवस्तु किन्ने, बेच्ने र जनस्वास्थ्यलाई हाकाहाकी ताकमा राख्ने काम भइरहेको छ । ‘जङ्क फुड’ को प्याकेट तथा डिब्बाले वातावरणमा पारेको नकारात्मक प्रभावबारे बेग्लै अध्ययन तथा विश्लेषणको विषय बन्न पुगेको छ । 

यात्रामा निस्कँदा खानपानमा उच्च सतर्कता अपनाउने व्यक्तिले पनि जङ्क फुड खानैपर्ने बाध्यता छ । किनभने मौजुदा खाद्य संस्कृतिमा यसको कुनै भरपर्दो विकल्प उपलब्ध छैन । यस प्रकारको कुचव्रmलाई तोड्नैपर्ने अवस्था आएको छ । राजमार्गका व्यापारीले ताजा जैविक खानेकुरा बेच्ने नीतिगत परिपाटी बसाल्न आवश्यक छ । यसबाट किसान, बिक्रेता र उपभोक्तालाई लाभ हुन्छ । 

अबको बाटो

सबैभन्दा हामीमा पहिले रैथाने खाद्यवस्तुप्रति प्रेमभाव विकास हुन आवश्यक छ । आकर्षक तर भ्रामक विज्ञापनका पछाडि दौडने परिपाटीमा आमूल परिवर्तन आउन आवश्यक छ । रैथाने जैविक बालीनाली चिन्न र तिनका व्यावहारिक उपयोगबारे व्यापकस्तरमा जनचेतना जगाउन विलम्ब गर्न नहुने अवस्था छ । 

गुणस्तरहीन खाद्यवस्तुको प्रभाव मन्द विषजस्तो गरी पैmलिएको सन्दर्भमा यस्तो कदम अत्यावश्यक भइसकेको छ । अब रैथाने प्रविधिमा आधारित जैविक खाद्यवस्तुको उत्पादन र उपभोग बढाउन प्रेरित तुल्याउने नीतिगत संरचना पनि आवश्यक छ । औषधिको सहारामा जीवन धकेल्नुपर्ने कारुणिक अवस्थाबाट मुक्ति लिएर हाम्रा जन, धन र मनलाई जोगाएर जीवनको लयमा लयबद्ध बनाउने योभन्दा अर्को कुनै सुन्दर र भरपर्दो उपाय छैन ।  

 जैविक खाद्यवस्तु

विज्ञान र प्रविधिले चरम प्रगति चुमेको एक्काइसौँ शताब्दीमा खाद्यवस्तुका अनेकन् विकल्प छन् । खाद्यविद्हरूका अनुसार संसारमा मूल रूपमा तीन प्रकारका खाद्यवस्तुका स्रोत छन् । तीन हुन्, बोटबिरुवा वा फसलबाट उत्पादित खाद्यवस्तु (plant-based products), जनावरको मासु, दूध–दही तथा अन्डा (animal products)  र प्रशोधित खाद्यवस्तु (processed foods) ।

यीमध्ये बोटबिरुवा वा फसलबाट उत्पादित खाद्यवस्तु नै मानव जातिका सबैभन्दा उपयुक्त खानेकुरा हो भन्ने राय पोषणविद्हरूले पेस गर्दै आएका छन् । यिनीहरू नै साँचो अर्थमा जैविक खाद्यवस्तु हुन् । यस्ता खाद्यवस्तुका अनेकन् जीवनदायिनी लाभ छन् । 

सङ्क्षेपमा भन्दा जैविक खाद्यवस्तु ग्रहण गर्दा शरीरको प्रतिरोधात्मक क्षमतामा अभिवृद्धि हुने, क्यान्सरजस्ता घातक रोगको जोखिम कम हुने, शरीरको तौल सन्तुलित तुल्याउन सहयोग पुग्ने, हृदयरोगको जोखिम कम हुनेजस्ता गुणदायिनी लाभ मिल्छ भन्ने पोषणविद्हरूको एकमना निष्कर्ष छ ।

यसका अतिरिक्त जैविक खाद्यवस्तुमा औषधीय गुण पनि अन्तरनिहित छ । सही किसिमले सही खानेकुरा खाएमा खानेकुरा स्वयम् नै औषधि बन्छ, रोग लाग्दैन र औषधिको कुनै दरकार पर्दैन । अर्को शब्दमा भन्दा उपयुक्त खानेकुरा उपयुक्त मात्रामा खाएमा त्यही जीवनदायिनी औषधि बन्छ । खानेकुरालाई औषधिका रूपमा उपयोग गर्ने परिपाटीलाई खाद्य औषधि (food medicine) भनिन्छ । 

एन्टिबायोटिक्सजस्ता आधुनिक औषधिको गलत प्रयोगले जनस्वास्थ्यमा अनेकौँ कहालीलाग्दा दुष्प्रभाव पारिरहेको बेलामा खाद्य औषधिको महत्व बढेर गएको छ । औषधिको गलत प्रयोगले जनधनको अपार क्षति भइरहेको रिपोर्ट आइरहेको छ । यस्तो प्रतिकूल घडीमा खाद्य औषधिको महिमा र गरिमा नबढ्ने कुरै छैन । 

आधुनिक समाजमा ‘अग्र्यानिक खाद्यवस्तु’ भनेर चिनिने जैविक खाद्यवस्तु नै मानव जातिका लागि पहिलो श्रेणीको उपयुक्त खाद्यवस्तु हो भन्ने तथ्य अघि नै आइसकेको छ । जनस्तरको लवजमा मिठोपिठो, साग–सिस्नु, ककरी–मकरी आदि नामले चिनिने अप्रशोधित खाद्यवस्तु नै साँचो अर्थमा जैविक खाद्यवस्तु हुन्, जो हामीले राम्रसँग नचिनेको वा हामीबाट अपहेलित अमृत हुन् भन्न सकिन्छ ।  

Author

यमबहादुर दुरा