बेरुत, भदौ ३ गते । लेबनानले हिजबुल्लाहलाई निःशस्त्र बनाउने अमेरिकी समर्थित योजनालाई समर्थन गरेपछि लेबनानका लागि अमेरिकी विशेष दूत टम बराकले सोमबार उहाँको टोलीले इजरायलसँग दीर्घकालीन युद्धविरामबारे छलफल गर्ने बताउनुभएको छ ।
राष्ट्रपति जोसेफ आउनसँगको भेटपछि बराकले वासिङ्टनले युद्धपछिको पुनर्निर्माणका लागि आर्थिक प्रस्ताव तयार पार्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री नवाफ सलाम र सभामुख नबिह बेर्रीसँग पनि भेट्ने तयारी गर्नुभएको छ । बेर्रीले प्रायः हिजबुल्लाहको तर्फबाट वार्ता गर्नुहुन्छ । बराकले भन्नुभयो, “लेबनानी सरकारले पहिलो कदम पूरा गरेको छ । अब इजरायलले समान प्रयास गर्नुपर्छ ।”
गत हप्ताको निर्णयले इरान समर्थित हिजबुल्लाह र यसको सहयोगीहरूलाई चिन्तित बनाएको छ । हिजबुल्लाहका महासचिव नाइम कासेमले निःशस्त्रीकरणको प्रयासविरुद्ध लड्ने प्रतिज्ञा गर्नुभएको छ । यसले देशमा गृहयुद्धको डर बढाएको छ । बराकले हिजबुल्लाहले आह्वानलाई समर्थन गरेन भने अवसर गुमाउने चेतावनी दिनुभयो । आउन र सलाम दुवैले हिजबुल्लाह र अन्य सशस्त्र समूहलाई निःशस्त्र बनाउने र इजरायलले आक्रमण रोक्न तथा कब्जा फिर्ता गर्न आग्रह गरेका छन् ।
आउनले लेबनानको सेनाको क्षमता बढाउन कोष वृद्धि र अन्तर्राष्ट्रिय दाताबाट सहयोग जुटाउन चाहेको बताउनुभयो । विश्व बैंकको अनुमान अनुसार, सन् २०२४ को अन्त्यतिर हिजबुल्लाह र इजरायलको युद्धले दक्षिणी र पूर्वी लेबनानमा करिब ११ अर्ब १० करोड डलरको आर्थिक नोक्सान पुर्याएको थियो । रासस/एपी