• ११ असोज २०८१, शुक्रबार

क्षयरोगी खोजी गर्दै स्वास्थ्यकर्मी

blog

बुटवल समाचारदाता

बुटवल, मङ्सिर १८ गते । रुपन्देहीको कञ्चन गाउँपालिकामा क्षयरोगीको खोजी अभियान सुरु भएको छ । जोखिम समूह तथा स्वास्थ्य सेवाको पहुँच कम भएका समुदायमा क्षयरोग सक्रिय रहेको छ । क्षयरोगको न्यूनीकरणका लागि पालिकाको स्वास्थ्य शाखाले सो अभियान थालेको हो ।

खोज पडताल अभियानका क्रममा शङ्कास्पद क्षयरोगी बिरामीको खकार जाँच परीक्षण गर्ने गरिएको छ । खकार जाँचबाट क्षयरोग नदेखिए छातीको एक्सरेका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल पठाउने गरिएको गजेडी स्वास्थ्य चौकीका प्रमुख गीताराम रिजालले जानकारी दिनुभयो ।

खोज पडताल अभियानकै क्रममा कञ्चन गाउँपालिकामा क्षयरोगीको सङ्ख्या बढ्दो क्रममा रहेको देखिएको छ । कञ्चनको वडा नं. ३, ४ र ५ सबैभन्दा बढी क्षयरोगी धेरै देखिएको छ । पालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद गौतमले पालिकाले हरेक वर्ष यही समयमा क्षयरोगविरुद्ध खोज पडताल अभियान सुरु गर्ने गरिएको बताउनुभयो । 

विगतको तुलनामा यो वर्ष क्षयरोगीको सङ्ख्या बढेको बताइन्छ । वर्ष कञ्चनमा करिब ५० जना क्षयरोगी कञ्चन गाउँपालिकामा भेटिएको थियो । यो वर्ष अझै धेरै भेटिने अनुमान गरिएको छ । क्षयरोगीले पनि कुष्ठरोगीले जस्तै आफ्नो समस्या बाहिर सार्वजनिक नगर्ने समस्या रहेको छ ।

उहाँका अनुसार शुक्रबारदेखि सुरु भएको अभियानकै क्रममा मसिना र पिपरीचापामा शङ्कास्पद क्षयरोगी विरामीको खकार जाँच परीक्षण भएको छ । त्यहाँ क्षयरोगीको सङ्ख्या पहिलेको तुलनामा धेरै देखिएको छ । क्षयरोगी देखिएको अवस्थामा बिरामीलाई पालिकाको स्वास्थ्य शाखाले निःशुल्क औषधी वितरण गर्दै आएको छ ।