राजु लामिछाने
रुकुमपश्चिम, मङ्सिर १८ गते । भूकम्पबाट प्रभावित रुकुमपश्चिमका विद्यालयहरूमा पठनपाठन नियमित बनाउन अस्थायी सिकाइ केन्द्र निर्माण गरिएको छ । आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा २१३ वटा अस्थायी सिकाइ केन्द्र निर्माण भएका हुन् ।
अस्थायी सिकाइ केन्द्र निर्माण भएपछि विद्यालयमा आउने विद्यार्थी सङ्ख्यामा वृद्धि भएको छ । स्थानीय तहले विभिन्न दातृ निकायसँग समन्वय गरेर अस्थायी सिकाइ केन्द्रमार्फत पठनपाठन नियमित गरिएको जनाएका छन् । आठबिसकोट नगरपालिकामा १३९ र सानीभेरी गाउँपालिकामा ७४ वटा अस्थायी सिकाइ केन्द्र निर्माण भएका छन् ।
आठबिसकोट नगरपालिकाका शिक्षा अधिकृत इन्द्रबहादुर विष्टका अनुसार पठनपाठनलाई नियमित गर्न अस्थायी सिकाइ केन्द्र तयार भएको बताउँदै पढ्न आउने विद्यार्थी सङ्ख्या बढेको जानकारी दिनुभयो ।
सानीभेरी गाउँपालिकाका शिक्षा अधिकृत भुपालसिंह विष्टले पालिकाभर सबै विद्यालयहरूमा पठनपाठन नियमित भइरहेको जानकारी दिनुभयो । उहाँले सामग्री अपुग भएपछि अस्थायी सिकाइ केन्द्र निर्माण हुन नसकेका विद्यालयमा अहिले सिकाइ केन्द्र बनिसकेको बताउनुभयो ।
आठबिसकोट नगरपालिका–१४ मा रहेको जनविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपक सङ्गम थापाले विद्यालयमा सात वटा अस्थायी सिकाइ केन्द्र निर्माण भएसँगै औपचारिक रूपमा शिक्षण सिकाइ सुरु भएको बताउनुभयो ।
भूकम्पले मानवीय क्षतिसँगै घर र विद्यालयसमेत भत्किएका र चर्किएका छन् । यसका कारण अधिकांश विद्यार्थी र शिक्षकमा मनोवैज्ञानिक त्रास रहेको बताइएको छ । शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख ताराप्रसाद पुनले मनोवैज्ञानिक त्रासकै कारण सबै विद्यालयमा अझै पनि सहज पठनपाठनको वातावरण तयार हुन नसकेको बताउनुभयो ।
रुकुमपश्चिमका २८८ वटा सामुदायिक र २० वटा संस्थागत विद्यालयमध्ये १९६ वटा विद्यालय प्रभावित बनेका छन् । ५२ वटा विद्यालयका २४४ भवन र सात सय वटा कक्षाकोठामा क्षति पुगेको छ । ५५ वटा शौचालय पूर्ण र ८३ वटामा आंशिक क्षति पुगेको तथ्याङ्क कार्यालयले दिएको छ ।