• १६ वैशाख २०८१, आइतबार

विश्व सञ्चार शिखर सम्मेलन

तथ्यपरक, वस्तुनिष्ठ र निष्पक्ष समाचार विश्वको माग

blog

ग्वाङझोउ, चीन, मङ्सिर १७ गते । 

विश्वका एक सयभन्दा बढी देश र क्षेत्रका सञ्चार माध्यम, विचार समूह र अन्तर्राष्ट्रिय संस्थालगायत करिब २०० संस्थाका ४५० भन्दा बढी प्रतिनिधि उपस्थित चीनको ग्वाङ्झोउमा विश्व सञ्चार शिखर सम्मेलन शुरू भएको छ । 

सम्मेलनका सहभागीले सञ्चारमाध्यममा तथ्यपरक, वस्तुनिष्ठ, र निष्पक्ष समाचार सम्प्रेषण गर्नुपर्ने परिवर्तित विश्वको माग रहेको बताएका छन् ।

सम्मेलनको उद्घाटन तथा पूर्ण सत्रमा सहभागी प्रतिनिधिले आइतबार संयुक्त वक्तव्य जारी गर्दै सहभागीहरूले विश्व, समय र इतिहासले उठाएका प्रश्नहरूको जवाफ दिन सञ्चारको पुल निर्माण गर्न विश्वव्यापी सञ्चारमाध्यमसँग आह्वान गरेका छन् । 

“हामीले आफ्ना श्रोतालाई तथ्यपरक, वस्तुनिष्ठ, र निष्पक्ष समाचार सम्प्रेषण गर्नुपर्छ, गलत सूचनाको प्रतिरोध गर्नुपर्छ र सञ्चार जगत्को अधिकार र विश्वसनीयता कायम राख्न अफवाह र पूर्वाग्रहको विरोध गर्नुपर्छ,” वक्तव्यमा भनिएको छ ।

‘विश्वव्यापी विश्वास बढाउने, सञ्चारमाध्यमको विकासलाई बढावा दिने’ मूल नाराका साथ शुरू भएको कार्यक्रममा सहभागीहरूले परिवर्तनहरूलाई अङ्गीकार गर्दै ‘नयाँ प्राविधिक अवसर र चुनौतीहरूको लागि मिडियाको प्रतिक्रिया, सञ्चारमाध्यममा अग्रगामी नवीनता, डिजिटल युगमा सञ्चारमाध्यमको नयाँ बजार र विकासको खोजी, र सुन्दर भविष्यका लागि सञ्चारमाध्यमको विश्वव्यापी सहयोग’ जस्ता प्रमुख चार विषयमा विस्तृत छलफल गरेका छन् ।  

पाँचौँ विश्व शिखर सम्मेलनका लागि संयुक्त वक्तव्यमा भनिएको छ, “सञ्चार उद्योगका लागि विश्वव्यापी चुनौतीहरूको सामना गर्ने तरिकाहरूको खोजी गर्न आज विश्व एक शताब्दीमा नदेखिने तीव्र परिवर्तनबाट गुज्रिरहेको, अनिश्चितता र अप्रत्याशित कारकहरू बढ्दै गएको विश्वले, समय र इतिहासले सोधेका प्रश्नहरूको जवाफ दिन सञ्चारको पुल निर्माण गर्न विश्वभरका सञ्चारमाध्यमलाई सहभागीले आह्वान गरेका छन् ।

गरिबी न्यूनीकरण, खाद्य सुरक्षा, विकासका लागि वित्तीय सहायता र औद्योगीकरणजस्ता क्षेत्रमा विकासशील मुलुकका मागलाई विश्वव्यापी सञ्चारमाध्यमले अझ बढी ध्यान दिने र यसले विकासमा रहेका असन्तुलन र अपर्याप्ततालाई समाधान गर्न सहयोग पुग्ने विश्वास उनीहरूले व्यक्त गरेका छन् । 

“सूचनाको युगमा नयाँ प्रविधिको तीव्र विकासको बीचमा, विश्वभरका सञ्चारमाध्यमले पत्रकारिता नैतिकताको पालना गर्नुपर्दछ र सक्रिय रूपमा नवीनता सञ्चालन गर्दा व्यावसायिक मानकहरू पूरा गर्नुपर्दछ, र उदीयमान प्रविधिहरूको तर्कसङ्गत प्रयोग गर्नुपर्दछ,” वक्तव्यमा भनिएको छ ।

सहभागीहरूले विश्वभरका सञ्चारमाध्यम र सहयोगी सङ्गठनहरूको सहयोग सुदृढ गर्न, विश्व सञ्चार उद्योगको साझा विकासलाई बढावा दिन, र विभिन्न ऐतिहासिक पृष्ठभूमि, सांस्कृतिक परम्परा र विकासको स्थिति भएका देशहरू र जनताबीच पारस्परिक समझदारी र सञ्चारलाई सहज बनाउन आग्रह गरेका छन् । अस्थिर विश्वमा अधिक स्थिरता र सकारात्मक ऊर्जा प्रदान गर्न यसले टेवा प्रदान गर्ने उनीहरूले आह्वान गरेका छन् । 

सम्मेलनले विश्वभरका सञ्चारमाध्यमलाई सहमति निर्माण गर्न, उच्च गुणस्तरको विकासका लागि सँगै काम गर्न र मानवता र राम्रो विश्वका लागि साझा भविष्य भएको समुदाय निर्माण गर्न शक्तिशाली सञ्चार शक्ति एकत्रित गर्न प्रोत्साहित गर्ने विश्वास गरिएको छ ।

विश्व सञ्चार शिखर सम्मेलन उच्चस्तरीय सञ्चार आदानप्रदान र सहयोगका लागि एक महत्वपूर्ण विश्वव्यापी मञ्च हो । 

सिन्ह्वा समाचार एजेन्सी र गुआङडोङको प्रान्तीय सरकारको सह–आयोजना, शिखर सम्मेलनको मुख्य स्थलमा कार्यक्रमहरू डिसेम्बर २ देखि ६ सम्म चल्नेछन् । रासस, सिन्ह्वा