• १२ साउन २०८१, शनिबार

मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या ७७५ पुग्यो

blog

अनिल पराजुली

हेटौँडा, मङ्सिर १७ गते । मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या सात सय ७५ पुगेको छ । स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार जिल्लामा साउन १ गतेदेखि मङ्सिर १७ गतेसम्म पुरुष तीन सय ९५ र महिला तीन सय ८० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । 

गत २४ घण्टामा ९ जना डेंगु सङ्क्रमित थपिएका छन् । आइतबार जिल्लाको हेटौँडा उपमहानगरपालिकाका ५ जना र मनहरी गाउँपालिका ४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभयो । जाडोयाम सुरु भएसँगै मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या घट्न थालेको हो । साउनबाट देखिन थालेको डेंगु कात्तिकबाट घट्दै गएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो । 

जिल्लामा सबैभन्दा धेरै हेटौँडा उपमहानगरमा डेंगु सङ्क्रमित भेटिएका छन् । यहाँ २५६ पुरुष र २७१ महिलागरी ५३६ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ । जिल्लाको कैलाश गाउँपालिकामा भने डेंगु सङ्क्रमितको सङ्ख्या शून्य छ । 

त्यस्तै, थाहा नगरपालिकाका पुरुष ३ जना, मकवानपुरगढी गाउँपालिकाका पुरुष १२ र महिला ८ गरी २० जना, बागमती गाउँपालिकाकामा ५ पुरुष र १९ महिलागरी २४ जना, मनहरी गाउँपालिकाकामा पुरुष ४२ जना र ३० जना महिलागरी ७२ जना, इन्द्रसरोवर गाउँपालिकाकामा पुरुष २ जना र महिला २ जनागरी ४ जना, भीमफेदी गाउँपालिकाकामा पुरुष २३ जना र १४ जना महिलागरी ३७ जना, बकैया गाउँपालिकामा पुरुष १२ जना र १३ जना महिलागरी २५ जना र राक्सिराङ गाउँपालिकामा २ जना पुरुषमा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

हेटौँडा अस्पतालमा पुरुष २० जना र महिला २० जना गरी ४० जना र अन्य जिल्लाका पुरुष ९ जना र महिला ३ जना महिलागरी १२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्लामा डेंगु सङ्क्रमण कारण एक जनाको मृत्यु भएको थियो । मकवानपुरमा गत आर्थिक वर्षमा पाँच हजार ८६४ जनामा डेंगु सङ्क्रमण भएको थियो जसमध्ये तीन हजार २०५ जना पुरुष र दुई हजार ६५९ जना महिला थिए ।