• १२ साउन २०८१, शनिबार

भारतीय खेलाडी सुभयानलाई हेटौँडा कप बुद्धिचालको उपाधि

blog

हेटौँडामा भएको एसियन खुल्ला रेटिङ्ग हेटौँडा कप बुद्धिचाल प्रतियोगिताको उपाधि उचाल्दै भारतीय खेलाडी ।

राममणि दाहाल

हेटौँडा, मङ्सिर १७ गते । नेपाल बुद्धिचाल महासङ्घको तत्त्वावधानमा हेटौँडामा भएको एसियन खुल्ला रेटिङ्ग हेटौँडा कप बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका २३९३ रेटेड शीर्ष खेलाडी सुभयान कुण्डुले हात पार्नुभएको छ । आइतबार भएको नवौँ चरणको प्रतिस्पर्धामा ६ जित र ३ बराबर परिणाम निकाल्दै अपराजित ७.५ अङ्क सहित उहाँ प्रतियोगिताको विजेता बन्नुभएको हो । 

उहाँले नगद एकलाख २५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभएको छ । कुण्डुले अन्तिम खेल बराबर गर्दा उपाधि आफ्नो नाममा रहने भएपनि बङ्गलादेशका एफएम सरिफ होसेनमाथि जित हात पार्दै एकल विजेता बन्नुभएको छ । 

नेपाल खेलकुद महासङ्घ र जिल्ला बुद्धिचाल सङ्घको संयुक्त आयोजनामा गत छ दिनदेखि जारी प्रतियोगितामा ७-७ अङ्क जोड्दै दोस्रो स्थानमा बङ्गलादेशका आईएम मोहमद मिनहाज उद्दिनले नगद ७५ हजार र तेस्रो स्थानसहित भारतका एफएम अरबिन्दर प्रीत सिं नगद ४० हजार रुपियाँ जित्नुभएको आयोजकले जनाएको छ ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा बङ्गलादेशका मो. सरिफ होसेन, भारतका अमरदीप बर्तके, बङ्गलादेशका आईएम अबु सुफिन सकिल, एफएम नारिक शेख, भारतका राहुल गुरुङ , एएफएम सौरभ चौबे र भारतका महिला खेलाडी मारियम फातिमा सबैले ६.५ अङ्क प्राप्त गर्दै चौधौँदेखि दशौँ स्थान हासिल गर्नुभएको थियो । 

हेटौँडा चेस क्लबको व्यवस्थापनमा भएको यस प्रतियोगितामा एफएम नयम हक एघारौँ, नेपालका एआईएम शुश्रुत दाहाल बाह्रौँ, डेवोस्निक तेह्रौँ, आशिष् राज चौधौँ र भारतका आदित्य बर्टके पन्ध्रौँसहित पुरस्कार प्राप्त गर्नुभयो । 

यसैगरी, स्थानीय उत्कृष्ट खेलाडीमा झिल्के मोक्तान, वेस्ट भेटेरान देव कान्तिलाल प्रथम र नेपालका मोहन सिं प्रधान दोस्रो, उत्कृष्ट महिला खेलाडी श्रीलङ्का सचिनि रानासिंघे महिला प्रथम , इसानाभि दोस्रो, वेस्ट यूथ १०– इस्माइल सिद्धिकि, ओम कश्यप, १२– कुमार भमरद्वाज, अविन पाण्डे, १४– आयुश डेमानराउरा, अत्रिञ्जय, ज्ञट– देव राज , पुरुषोत्तम सिलवाल, १८– कमद मिश्र, मुहान श्रेष्ठ, वेस्ट अनरेटेड रसिक सिद्धिकि र स्वर्णिम दुवाल बन्नुभएको छ । अन्डर १५०० रेटेडमा नेपालका कुशल बेलबासे, रोहन कुमार, अन्डर १७०० रेटेड अक्षत नेगि, शिभम चौधरी, अन्डर १९००रेटेड मोहित कुमार, सोम्यजित दासले क्रमशः फरक क्याटेगोरीहरुमा उत्कृष्ट रहँदै पुरस्कार प्राप्त गर्न सफल हुनुभएको छ । 

मकवानपुर जिल्ला बुद्धिचाल सङ्घका अध्यक्ष मनोज श्रेष्ठको सभापतित्वमा भएको समापन कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तान, नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हेराकाजी महर्जन, नेपाल खेलकुद महासङ्घका अध्यक्ष पर्शुराम बस्नेतलगायतले विजेता तथा उपविजेता खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । 

विजयी खेलाडीहरुलाई विभिन्न विधामा गरी नगद पाँच ८७ हजार पाँच सय रुपियाँ तथा ट्रफी प्रदान गरिएको थियो । प्रतियोगिताका निर्देशक तथा नेपाल बुद्धिचाल महासङ्घको महासचिव धरमबहादुर लामाले आगामी वर्ष साल जिम नर्म प्रतियोगिता गर्ने घोषणा गर्नुभयो ।