• २९ असार २०८१, शनिबार

नेपाली विषयको पुनरुत्थान

blog

नेपालमा नेपाली भाषा समृद्ध हुनै पर्छ । नेपालबाटै नेपाली भाषा हराउँदै गयो भने नेपाली साहित्य जीवित रहने कुनै सम्भावना नै हुँदैन । नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण, संवर्धन र प्रवर्धन गर्ने दायित्व नेपालीकै हो । नेपाली विषयबाट नेपाली जनता नै विमुख हुँदै गए अरू विदेशीले जोगाई देलान् भनेर आशा गर्नु मूर्खता हो । केही दशक यतादेखि नेपाली भाषा र साहित्यमा खिया पर्दै गएको छ । यसलाई कमजोर बनाउन लागेका केही बिकेकाकै कारण चिन्ता थपिएको छ । यही व्रmम चल्दै गएमा नेपाली राष्ट्रियता कमजोर हुँदै जाने छ । 

नेपाली भाषा र साहित्यलाई नेपालमै उपेक्षा गर्दै जाँदा यसका अध्येता पनि घट्दै गएका छन् । नेपाली विषय अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै जाँदा नेपाली विषयका अध्ययन अध्यापनमा रुचि राख्ने प्राध्यापक र नेपाली भाषाप्रेमी चिन्तित हुँदै आएका छन् । पढ्न आएका विद्यार्थीको योग्यता र उनीहरूको गुणस्तरका साथै उत्पादित विद्यार्थीको क्षमताका सन्दर्भमा पनि विभिन्न प्रश्न उठ्दै आएका छन् । एक दशकअघिसम्म खचाखच हुने कक्षाहरू रित्तिँदै गएका कारण विद्यार्थीको चाप बढी हुँदा कक्षाभार भन्दा धेरै पढाउन बाध्य कतिपय प्राध्यापक पछिल्ला समयमा हाजिर मात्रै गरेर दिन बिताउन थालेका छन् ।

नेपाली विषयमा मात्र होइन पछिल्ला दिनमा अङ्ग्रेजी साहित्य अध्ययन गर्नेहरूको सङ्ख्यामा समेत कमी हुँदै गएको छ । इतिहास, संस्कृति, भूगोल, राजनीतिशास्त्र जस्ता विषयका कक्षामा विद्यार्थीको सङ्ख्याले दस नाघ्न छाडेको त दुई दशक भइसक्यो भन्दा पनि हुन्छ । संस्कृत अध्ययन गर्नेहरूका बारेमा त कुरै गर्न परेन । विगतमा जुन विषय विद्यार्थीका प्रथम रोजाइमा हुन्थे, ती सबै विषय नयाँ परिवर्तित सन्दर्भमा अनावश्यक जस्ता देखिएका छन् । जुन विषय देशका लागि अत्यन्त आवश्यक छन् ती सबै विषय विश्वविद्यालय, विद्यार्थी र राज्य सबैको अवहेलनामा पर्न थालेका छन् ।

त्रिभुवन विश्वविद्यालयले नेपाली विषय र अङ्ग्रेजी विषयका स्नातकोत्तर तहमा अध्ययन गर्न आवश्यक न्यूनतम योग्यतामा हालै फेरबदल गरेको छ । यसअघिसम्म नेपाली विषयको स्नातकोत्तर तहमा भर्ना हुनका लागि विद्यार्थीले स्नातक तहमा नेपाली विषय पढेकै हुनु पर्दथ्यो भने अङ्ग्रेजीका लागि पनि सोही अनुसारको व्यवस्था थियो । अहिले आएर जुनसुकै विषयमा स्नातक तह उत्तीर्ण भएका विद्यार्थीले नेपाली र अङ्ग्रेजी विषयका स्नातकोत्तर तहका कक्षामा पढ्न पाउने व्यवस्था गरिएको छ । यो व्यवस्थाले यी दुई विषयका भविष्य र गुणस्तरमा कस्तो असर पार्छ भन्ने हेर्न कम्तीमा पनि दुई वर्ष त पर्खिनै पर्छ तर यसका सकारात्मक र नकारात्मक दुवै पक्षमा टिप्पणी हुने व्रmम भने आरम्भ भइसकेको छ ।

केही दशकअघिसम्म कुनै शब्दको शुद्धतामा आशङ्का उब्जिए गोरखापत्रमा त्यो शब्द खोजिन्थ्यो । गोरखापत्रमा छापिएका शब्द शतप्रतिशत शुद्ध हुन्छन् भन्ने विश्वास जनमानसको थियो । गोरखापत्रमा मुद्राराक्षस हेर्नका लागि संस्कृत आधार भएका नेपाली विषयका ज्ञातालाई जिम्मा दिइएको हुन्थ्यो । हिजोआज पनि लगभग त्यस्तै व्यवस्था छ तर पहिले पहिले जस्तो शुद्धता गोरखापत्रमा पाउन कठिन भइसकेको छ । यो अवस्था आउनुमा नेपालमा सर्वत्र चलेको कामचलाउ नीति प्रमुख कारक हो । जिम्मेवारीलाई हल्का रूपमा लिने बानी बस्दै जानु र गल्तीको जिम्मेवारी कसैले लिनु नपर्ने संंस्कार नेपालमा बसेकाले पनि हो ।

त्रिभुवन विश्वविद्यालयले विद्यार्थी बढाउन लिएको नीतिले केही हदसम्म काम पनि गर्ला । यसका सकारात्मक पक्ष पनि धेरै होलान् । जुनसुकै विषय पढेकाले विवेकमा वृद्धि हुँदै गएपछि आफ्नो मातृभाषाको ज्ञान लिनै पर्छ भन्ने ज्ञान पलाएर पढ्ने चाहना पलाएमा अवसर पाउन सक्छन् । रोजीरोटीका लागि पढिएको विषयको अध्ययन समापन गरेपछि ज्ञानका चाहनाले पढ्न चाहनेका लागि यो सुविधाले मौका प्रदान गर्छ । आफूले पढेको विषयमा नेपालीपनको प्रवेश गराउन मेहनत गर्नेहरूका लागि समेत त्रिभुवन विश्वविद्यालयको यो व्यवस्थाले सहयोग गर्छ ।

आजसम्म स्नातकोत्तर तहमा नेपाली साहित्य पढ्दै आएका विद्यार्थीले नेपालका साहित्य र साहित्यकारका बारेमा नै बढी जोड दिँदै आएका थिए । नेपालीका गुरु बनेकाहरूले समेत अङ्ग्रेजी साहित्यमा त्यति ज्ञान नभएका कारण पाश्चात्य साहित्यका बारेमा नेपालीका विद्यार्थीलाई तुलनात्मक अध्ययन गराउन चाहे जति सकेका थिएनन् । अङ्ग्रेजी भाषामा दख्खल भएकाहरूले नेपालीमा स्नातकोत्तर पढे भने भविष्यका विद्यार्थीलाई तिनीहरूले देशविदेशका साहित्यका बारेमा ज्ञान दिन समर्थ हुन सक्छन् ।

अर्कातिर नेपाली साहित्य, शब्द संरचना र भाषाको आधारभूत ज्ञान नभएकाले एकै पटक माथिल्लो तहमा प्रवेश गर्दा चाहे जस्तो गुणस्तर उत्पादित विद्यार्थीमा पाउन सकिन्छ कि सकिन्न भन्ने पनि आशङ्का छ । कुन शब्द ह्रस्व र कुन दीर्घ भन्ने जानकारी नै नभएकालाई स्नातकोत्तर तहमा कसरी पढाउने भन्नेमा विश्वविद्यालय निकै संवेदनशील हुन जरुरी छ । पाठ्यव्रmम निर्माण गर्दा हचुवाका भरमा निर्माण गर्न हुँदै हुँदैन । स्नातक तहमा नेपाली पढेकाहरूलाई नै जसरी एकै पटक स्नातकोत्तर तहमा भर्ना हुन आएकालाई पढाएर लक्ष्य प्राप्ति हुन सक्दैन । देखाउनका लागि विद्यार्थी सङ्कलन गरे जस्तै मात्रै हुन बेर लाग्दैन । टाउकाको औषधी नाइटामा भन्ने नेपाली उखान प्रख्यात छ । मानिसलाई मात्रै होइन कि समस्त प्राणी जगत् र वनस्पतिसमेतलाई रोग लाग्छ र जे रोग लाग्यो त्यसैको औषधी गर्नु पर्छ । नेपालमा क्यान्सरका बिरामीलाई क्षयरोगको औषधी दिएको, दाहिने गोडामा समस्या हुँदा देब्रे गोडाको अप्रेसन गरेको, मिर्गाैलाका बिरामीको कलेजोको उपचार गरेका उदाहरण प्रशस्तै छन् । त्यस्तै नेपाली र अङ्ग्रेजीका विषयका सन्दर्भमा पनि रोग एकातिर उपचार अर्कोतिर नहोस् भन्ने चाहना आमनेपाली जनताको छ ।

नेपाली विषयको क्षयीकरण राज्यको नीतिका कारण नै हुन थालेको हो । विद्यालय तहमा जबदेखि सात विषय अङ्ग्रेजीमा र नेपाली मात्रै नेपाली भाषामा पढाउन थालियो, त्यतिबेलैदेखि नेपाली विषयको लोकप्रियतामा कमी आउँदै गएको हो । राज्यका हरेक निकायमा अङ्ग्रेजीमा फरर्र बोल्ने र नेपालका बारेमा भन्दा विदेशका बारेमा जानकारी राख्नेलाई प्राथमिकता दिन थालियो तबदेखि नेपाली भाषा रोजाइमा कमी आउँदै गएको भन्न सकिन्छ । नेपालीका ज्ञातालाई सामान्य र अङ्ग्रेजीमा पारङ्गतलाई होइन कि बोल्न मात्रै जान्नेलाई पनि विद्वान् देख्ने प्रचलन बढ्दै जाँदा नेपाली विषय ओझेलमा पर्दै गएको हो ।

लोकसेवा आयोगमा नेपाली विषयको परीक्षा लिँदासम्म विद्यार्थीले नेपाली विषय घुँडा धसेर पढ्ने गर्दथे । कुनै लेख प्रकाशित गर्दा या कतै दुई चार हरफ लेख्दा गल्ती भएमा बेइज्जती महसुस गर्ने समय रहँदा नेपाली शुद्ध लेख्न सबैले हरदम प्रयत्न गर्दथे । पछिल्ला समयमा भाषा भनेको बुझ्नका लागि मात्र हो, ह्रस्व, दीर्घ, शुद्धता आदिको कुनै मतलव छैन भन्ने प्रचार गरिन थालियो तर यो भनाइ नेपाली विषयका लागि मात्र लागु भयो । अङ्ग्रेजी चाहिँ शुद्धै हुन पर्छ भन्ने मान्यता चाहिँ नेपालमा स्थापित गराइयो ।

यसै कारण आजभोलि ठुलाठुला ओहोदामा बसेकाहरूले सामाजिक सञ्जालमा लेखेका वाक्य हे¥यो भने कसैको शुद्ध पाइँदैन । नामका अगाडि डाक्टर झुन्ड्याएकाहरूमा समेत दुई वाक्यमा चार वटाभन्दा बढी गल्ती भेटिनुलाई सामान्य नै मान्न थालिएको छ । नेपालीमा विद्यावारिधि गरेर स्नातकोत्तर तहमा पढाउँदै आएकाहरू कतिपयको समेत पूर्णतः विश्वास गर्न सकिने अवस्था छैन । यही अवस्था रहिरहेमा नेपाली भाषा र साहित्यको संरक्षण हुन निकै कठिन देखिन्छ । ७० वर्ष उमेर हाराहारीका दस कक्षा पढेकाको जत्तिको नेपाली शुद्ध अहिलेका स्नातकोत्तरले लेख्न सकेको पाइँदैन ।

यो नेपाल हो । नेपाली भाषा नेपालमा बाँच्नै पर्छ । यसका लागि लोकसेवा आयोगमा कम्तीमा पनि ५० नम्बरको परीक्षा लिने व्यवस्था भयो भने नेपाली विषयमा विद्यार्थी खोज्न कुनै कठिनाइ हुँदैन । शिक्षक सेवा आयोग तथा सरकारी निकायका सबै परीक्षामा कम्तीमा पनि २० नम्बरको नेपाली विषयको परीक्षाको व्यवस्था भएमा नेपाली विषयको पुनरुत्थान सहजै हुन सक्छ । विद्यालय तहमा कम्तीमा पनि आधा विषय नेपाली भाषामा पढाउने व्यवस्था हुन जरुरी छ ।

नेपाली भाषा बिगार्न धेरै जना धेरै पटक लागेको इतिहास छ । अङ्ग्रेजीमा साइकोलोजी लेख्दा पी अक्षरबाट सुरु हुन्छ । पी यु टी पुट र बी यु टी बट हुँदा कहिल्यै कठिन भयो भनिँदैन तर यसलाई सहज बनाउनु पर्छ भन्ने आन्दोलन चल्दैन । नेपालीबाट भने आफ्नो मौलिकता नै हराउने गरी संस्कृतका केही अक्षर हटाउने, ह्रस्वदीर्घ आदिमा नियम तोड्न जस्ता अभियान चलाउँदै ध्वस्त पार्ने काम पनि भएका थिए । सबै सचेत भएर भाषा जोगाउन संवेदनशील हुन जरुरी भइसकेको छ ।