सामान्यतया उमेरका हिसाबले पाका उमेरका व्यक्तिलाई ज्येष्ठ नागरिकका रूपमा परिभाषित गर्न सकिन्छ । ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा २ (क) अनुसार ६० वर्ष उमेर पूरा गरेको नेपाली नागरिक ज्येष्ठ नागरिक हुन् भनिएको छ । सामान्यतया विश्वव्यापी रूपमा ६५ वर्षभन्दा माथिका नागरिकलाई ज्येष्ठ नागरिक मान्ने गरिएको छ । नेपालका सन्दर्भमा ६० वर्ष पार गरिसकेका नागरिक ज्येष्ठ हुन् भन्न सकिन्छ । विभिन्न देशले ज्येष्ठ नागरिकलाई आफ्नो अनुकूलतामा परिभाषित गरेका छन् । ज्येष्ठ नागरिकलाई सामाजिक, मनोवैज्ञानिक हिसाबले सम्मान गर्नुपर्ने सवालमा पछिल्लो समय बहस तीव्र भएको छ । ज्येष्ठ नागरिकसम्बन्धी कानुन बनेका छन् । बौद्धिक ढङ्गले बहस सिर्जना भएका छन् । आधुनिक युग एआई युगसम्म आइपुग्दा मानवीय सम्बन्धमा तीव्र परिवर्तन देखा परेका छन् । पुराना पुस्ता र नयाँ पुस्ताबिच भावना, विचार, क्षमता, रोजाइ, कार्यक्षेत्र, मनोविज्ञान आदिमा दुरी कायम भएको छ । समाजको मूल आधार नै पारिवारिक, सामाजिक अनि सांस्कृतिक मूल्यहरूको जगमा निर्माण भएको हुन्छ । नेपाली समाजमा अग्रजहरू (ज्येष्ठ नागरिक) लाई सम्मान गर्ने परम्परा निकै पहिलादेखि चल्दै आएको छ । आफूभन्दा माथिकालाई सम्मान गर्नु पर्छ भन्ने भाष्य समाजमा स्थापित भएको छ ।
ज्येष्ठ नागरिक जीवन्त ज्ञानका भण्डार हुन्, अनुभवका खानी हुन् । उनीहरूले आर्जन गरेको ज्ञान र अनुभव कुनै किताबले दिने ज्ञानभन्दा कम हुँदैन । स्वयम् ज्येष्ठ नागरिक किताबजत्तिकै बनिसकेका पनि हुन्छन् । ज्येष्ठ नागरिकको ज्ञान मूलतः अनुभवबाट निर्माण भएको हुन्छ । एउटा बेग्लै विद्यालय हुन् अग्रजहरू, ज्येष्ठ नागरिक । मानिसले जहिल्यै एक पुस्ताबाट अर्को पुस्तासम्म आफ्ना ज्ञान, अनुभव, क्षमता र कतिपय अवस्थामा मूल्यमान्यतासम्म पनि हस्तान्तरण गरिरहेका हुन्छन् । ज्येष्ठ नागरिकका ज्ञान अनुभव अनि सिपले नयाँ पुस्तालाई मार्गदर्शन गर्छ । एउटा पुस्ताले आफूभन्दा अगाडि र आफूभन्दा पछाडि आइरहेका पुस्ताबाट सिकिरहेको हुन्छ । भन्ने गरिन्छ– ज्ञान र विज्ञान जहिल्यै गतिशील हुन्छन् । गतिशीलता विज्ञानको नियम पनि हो ।
पछिल्लो केही दशकयता नेपाली समाज आधुनिक जीवनशैलीमा अभ्यस्त हुन् थालेको छ । जसको कारण एक पुस्तासँग अर्को पुस्ताको संवाद र अन्तर्क्रिया जीवन्त ढङ्गले हुन पाएको छैन । समाज आधुनिक हुँदै जानु कुनै पनि हिसाबले खराब कुरा त होइन । आधुनिकसँगै मानवीय सम्बन्ध अनि संवादमा फेरबदल आउनु गम्भीर चिन्ताको विषय हो । आधुनिकताले मानव सभ्यतालाई ज्ञान र विज्ञानको माध्यमबाट उचाइमा लगिरहेको हुन्छ । आधुनिकतासँगै मानवीय भावना, नैतिकता, मानवता, विश्वबन्धुत्व, सामाजिक न्याय र सुसङ्गत समाजको निर्माण हुनु आवश्यक हुन्छ । पछिल्लो समय बनेका सिनेमा र साहित्य हे¥यौँ भने यसभित्र एउटा पुस्तासँग अर्को पुस्ताको अन्तर्क्रिया नभएको सवाललाई महत्वपूर्ण स्थान दिइएको छ ।
छोराछोरी धनीमानी छन्, आफ्नो ठाउँमा इज्जत र मान पाएका छन् तर आमाबुबा वृद्धाश्रम बस्नुपर्ने स्थितिसम्म समाजमा सिर्जना भएका उदाहरण छन् । यस्ता कुरा कला, साहित्य र सिनेमामार्फत बाहिर आएका छन् । नयाँ पुस्ता, अग्रज पुस्ता अनि ज्येष्ठ नागरिकबिच निकै दुरी बढिरहेको छ । कतिपय ज्येष्ठ नागरिक उमेरसँग एक्लोपन अनुभव गरिरहेका हुन्छन् । गाउँको तुलनामा सहरमा यस्तो जनसङ्ख्या बढिरहेको छ । एक्लोपन एक प्रकारको सोचाइ हो । एक्लोपनका कारण ज्येष्ठ नागरिक शारीरिक र मानसिक रोगको सिकार भएका छन् । मानिसको जिन सामूहिकतामा आधारित छ । यसैले मानिस समूहमा बस्न मात्र होइन, भावनात्मक अन्तर्क्रिया गर्न पनि चाहन्छन् । यस्तो भावनात्मक अन्तर्क्रिया नहुँदा व्यक्ति गहिरो मानसिक सोचाइमा डुब्न पुग्छ । त्यो मानसिक रोगका रूपमा समेत विकास हुन सक्छ । कतिपय ज्येष्ठ नागरिक भावनात्मक रूपमा कमजोर बनिरहेका हुन सक्छन् र यो रोगकै रूपमा समेत विकास भएको हुन सक्छ । ज्येष्ठ नागरिकका सवालमा राज्य मात्र नभएर व्यक्ति र समाज पनि गम्भीर हुन जरुरी छ ।
बदलिँदो समाज, आधुनिकता, सहरीकरण र वैदेशिक रोजगारका कारण एक पुस्ताले अर्को पुस्तासँग संवाद, अन्तर्क्रिया र ज्ञान विमर्श गर्ने संस्कृति कमजोर हुँदै गएको छ । नेपाली समाजमा थेगो झैँ बनेको सानालाई माया र अग्रजलाई सम्मान गर्ने रीति जोगाउनु हाम्रो साझा दायित्व बनेको छ । गतिशील समाजमा एउटा पुस्ताले अर्को पुस्तालाई नैतिकता र सद्भावका पाठहरू सिकाउन जरुरी छ । हामीले आफ्नो ठाउँमा पहल लिन ढिला भएको छ । अभिभावकले आफ्ना छोराछोरीलाई अग्रजप्रति विनम्र हुन सिकाउनु पर्छ । स्थानीय तह पछिल्लो समय केही बलिया भएका छन् । स्थानीय तहले शिक्षा प्रणालीलाई नयाँ ढङ्गले समुदायसँग जोडेर विकास गर्न सक्छन् । स्थानीय तहले आफ्नो बेग्लै पाठ्यसामग्री बनाएर अग्रजको सम्मान गर्ने संस्कृतिलाई प्रभावकारी बनाउन सहयोग गर्न सक्छन् । नैतिकतालाई जोगाउने, माटो र मौलिकतालाई माया गर्ने पुस्ता निर्माण गर्न भूमिका निर्वाह गर्न सक्छन् । अभिभावक विद्यार्थी र अग्रजको पुल बन्न सक्छन् । केही स्थानीय तहमा थोरै मात्रामा भए पनि यस्तो संस्कृतिको जग बसेका पनि पाइन्छ । स्थानीय समुदायले यो संस्कृतिलाई संस्थागत रूपमा जोगाउन सक्छन् ।
सरकारी नीतिमार्फत वृद्धवृद्धाको हेरचाहलाई प्रोत्साहन गर्ने कानुन बनाउन सकिन्छ । सामाजिक सुरक्षा भत्ताको व्यवस्था सरकारबाट गरिएको महत्वपूर्ण काम हो । विकसित मुलुकमा बालबालिका र वृद्धवृद्धालाई सम्मान, हेरचाह र उनीहरूको जीवनमा महत्वपूर्ण भूमिकाका निम्ति राज्यले कानुन नै निर्माण गरेको पाइन्छ । यस्ता कानुन प्रभावकारी पनि छन् । नेपालको हकमा भने अझै धेरै काम गर्न बाँकी रहेको अनुभूत हुन्छ । अग्रजलाई सम्मान गर्ने संस्कृतिसँग नैतिक शिक्षालाई जोड्नु जरुरी छ । समाजलाई नैतिक रूपमा बलियो बनाएपछि मात्र सुसंस्कृतिको जग बसाल्न सकिन्छ । शिक्षामार्फत, परिवारमार्फत र समुदायमार्फत हामीले एउटा जीवन्त राष्ट्र बनाउने हो । व्यावहारिक ज्ञानले नै एउटा सद्भावपूर्ण समाज निर्माण गर्न सकिन्छ । एक पुस्ताबाट अर्को पुस्तामा ज्ञान प्रणालीलाई हस्तान्तरण गर्ने विधि विकासतिर अगाडि बढ्न चाहने समाजको आधारशिला हो ।