• २८ पुस २०८२, सोमबार

सोलुखुम्बुमा बोलेरो दुर्घटना हुँदा ९ घाइते

blog

सन्तोष राउत

सोलुखुम्बु, पसु २८ गते । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–६ घुरुन्दु नयाँपानीस्थित भित्री सडक खण्डमा बोलेरो गाडी दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । 

सोमबार दिउँसो करिब १२ बजेको समयमा माप्य दुधकोशी गाउँपालिका–६ वाकु चोकबाट वडा नम्बर ७ वरोदी रोचमतर्फ जाँदै गरेको बि.ए.डी. ७७४२ नम्बरको डबल क्याप बोलेरो गाडी सडकबाट करिब एक सय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी वाकुबाट खटिएको प्रहरी टोलीले घाइतेहरूलाई उद्धार गरी स्वास्थ्य चौकी वाकुमा ल्याई उपचार गरेको छ । गम्भीर घाइतेहरूलाई अन्य अस्पतालमा रिफरको तयारी भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये चालक माप्य दुधकोशी गाउँपालिका–५ काकु निवासी २८ वर्षीय प्रदिप राई र यात्रु २८ वर्षीया कुशुम राईको बायाँ कानबाट रगत बगेको र अवस्था गम्भीर रहेको जनाइएको छ ।

त्यस्तै, २७ वर्षीय बलराम राई र ३० वर्षीय देबेन्द्र राईको टाउकोमा चोट लागि शरीर नचल्ने अवस्था रहेको र दुवैको अवस्था गम्भीर रहेको छ । ३१ वर्षीय सुरेश राईको बायाँ घुँडामा चोट लागेको छ भने १९ वर्षीय मनोज राईको बायाँ घुँडा र टाउकोमा चोट लागेको छ । १७ वर्षीय सदिप राईको ढाड मुनि हिप र टाउकोमा चोट लागेको छ । उनीहरुको अवस्था मध्यम रहेको छ ।

२७ वर्षीया देविका राई र २७ वर्षीया सबिना राईको अवस्था सामान्य भई उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त गाडी घटनास्थलमै रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक विकास राईले जानकारी दिनुभयो ।