• २८ पुस २०८२, सोमबार

महानगरका २८ वडामा ५ हजार ४४ कुकुरको बन्ध्याकरण

blog

काठमाडौँ, पुस २८ गते । काठमाडौँ महानगरपालिकाले समुदायमा रहेका कुकुरहरूको सङ्ख्या व्यवस्थापन तथा रेबिज नियन्त्रणका लागि सञ्चालन गरेको बन्ध्याकरण तथा खोप कार्यक्रमअन्तर्गत हालसम्म २८ वटा वडामा ५ हजार ४४ वटा कुकुरको बन्ध्याकरण गरिएको छ ।

महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागका अनुसार कार्यक्रम गएको कात्तिक १४ गतेदेखि सुरु गरिएको हो । 

बन्ध्याकरण भएका कुकुरको सङ्ख्याका आधारमा वडा नं. ६ मा सबैभन्दा धेरै ६२१ वटा कुकुरको बन्ध्याकरण गरिएको छ भने सबैभन्दा कम वडा नं. २१ मा ८ वटा कुकुरको बन्ध्याकरण गरिएको छ ।

विभागका प्रमुख नुरनिधि न्यौपानेका अनुसार वडा नं. १६ मा ५६४ वटा, वडा नं. १५ मा ४५६ वटा, वडा नं. ३१ मा ४१९ वटा, वडा नं. ७ मा ४०७ वटा, वडा नं. ३२ मा ३८५ वटा र वडा नं. १४ मा २५८ वटा कुकुरको बन्ध्याकरण गरिएको छ । 


यस्तै वडा नं. १० मा २३६ वटा, वडा नं. ३ मा २१५ वटा, वडा नं. २६ मा १८७ वटा, वडा नं. ४ मा १६० वटा, वडा नं. ५ मा १३८ वटा, वडा नं. ८ मा ११४ वटा, वडा नं. १ र १२ मा समान ११३–११३ वटा कुकुरको बन्ध्याकरण गरिएको छ ।

यसैगरी वडा नं. १३ मा १०१ वटा, वडा नं. ९ मा ९८ वटा, वडा नं. ११ मा ७४ वटा, वडा नं. २० मा ६१ वटा, वडा नं. २८ मा ५७ वटा, वडा नं. २९ मा ५६ वटा, वडा नं. १७ मा ५५ वटा, वडा नं. १९ मा ४१ वटा, वडा नं. २ र २३ मा समान ३२–३२ वटा, वडा नं. २४ मा ३१ वटा तथा वडा नं. ३० मा १२ वटा कुकुरको बन्ध्याकरण भएको विभागले जनाएको छ ।

कृषि तथा पशुपन्छी विभागका अनुसार वडा नं. १८, २२, २५ र २७ गरी चारवटा वडामा कार्यक्रम प्रारम्भ गर्ने प्रक्रियामा छ ।

महानगरपालिकाले काठमाडौँ पशु उपचार केन्द्र (क्याट सेन्टर), क्याट क्लिनिक, मण्डला भेटिरिनरी अस्पताल, स्नेहाज केयर तथा पशुपन्छीप्रति निर्दयता रोकावट समाज (एसपीसीए) नेपालसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप दिने क्रममा पशु कल्याणका मापदण्डको पूर्ण पालना गरिने विभागका प्रमुख न्यौपानेले जानकारी दिनुभयो । 

उहाँका अनुसार कुकुरलाई सुरक्षित रूपमा नियन्त्रणमा लिने, बन्ध्याकरण गर्ने, २४ घण्टा निगरानीमा राख्ने र पूर्णरूपमा स्वस्थ भएपछि पुनः पुरानै स्थानमा छाड्ने व्यवस्था गरिएको छ । यस क्रममा पशुहरूले कुनै पनि प्रकारको पीडा महसुस नगर्ने गरी विशेष ध्यान दिइएको उहाँले बताउनुभयो ।

महानगरपालिकाले यस कार्यक्रमबाट सहरभित्र रहेका सामुदायिक कुकुरहरूको सङ्ख्या नियन्त्रण गर्न तथा रेबिज जस्ता रोगको जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरेको छ ।