कविराज घिमिरे
हिले, पुस २८ गते । धनकुटाको साँगुरीगढी गाउँपालिका–६, भेडेटार चोकमा प्रहरीले ठुलो परिमाणमा लागु औषध गाजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ।
आइतबार साँझ इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट खटिएको प्रहरी टोलीले गाजा सहित एम्बुलेन्स नियन्त्रणमा लिएको हो । धनकुटाबाट धरानतर्फ जाँदै गरेको ना. ४ च. ६४७४ नम्बरको एम्बुलेन्सलाई चेकजाँचका लागि रोक्न खोज्दा चालकले नरोकी प्रहरी ब्यारिकेट लडाउँदै फरार भएको थियो ।
प्रहरी टोलीले एम्बुलेन्सलाई पछ्याउँदै भेडेटार गेट नजिक पुग्दा चालकले सवारी साधन छोडी फरार भएको अवस्थामा एम्बुलेन्स नियन्त्रणमा लिइएको हो। एम्बुलेन्सभित्र सेतो बोरामा कालो प्लास्टिकले बेरेर प्याक गरिएको १५ वटा पोका लागु औषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिनु भयो ।
बरामद गाँजाको तौल ४५९.९६५ किलोग्राम (चार सय उन्सठ्ठी किलोग्राम नौ सय पैसठ्ठी ग्राम) रहेको छ। प्रहरीले गाँजा सहित एम्बुलेन्स नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याई थप अनुसन्धान गरिरहेको जनाएको छ। घटनामा संलग्न फरार चालक तथा सवारी धनीको खोजतलास कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।