चितवन समाचारदाता
चितवन, पुस २८ गते । त्रिशूली नदीमा गाडिएको अवस्थामा बस देखेपछि प्रहरीले खोतल्ने काम गरेको छ । १८ महिनाअगाडि चितवनको मुग्लिङ–नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट पहिरोले दुई वटा बस नदीमा खसालेर बेपत्ता बनाएको थियो ।
तत्काल खोजी गर्दा फेला नपरेपछि खोज्ने कार्य रोकिएको थियो । आइतबार बिहान माछा मार्ने व्रmममा बस गाडिएको अवस्थामा स्थानीय रोशन भुजेलले देखेपछि प्रहरीलाई खबर गर्नुभएको थियो । खबर पाएपछि आइतबार दिनभर प्रहरीले गाडिएको बस खोतलेर हराएको सवारीसाधन हो, होइन भन्ने यकिन गर्न लागेको हो । चितवनको मुग्लिङ–नारायणगढ सडकखण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेर हराएका दुई बसमध्ये एउटा फेला परेको छ ।
नदीमा खसेको १८ महिनापछि आज दुईमध्ये एउटा बस नदी किनारमा गाडिएको अवस्थामा फेला परेको हो । फेला परेको एउटा बसको अगाडिको ड्राइभरतर्फको चक्काको डिस्ट र केही टिनको भाग फेला परेको छ । चितवन प्रहरीका प्रवक्ता रवीन्द्र खनालले गाडिएको अवस्थामा फेला परेको बस गत वर्ष पहिरोले बगाएको नै हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “खबर पाएपछि चितनव प्रहरी, तनहुँ प्रहरी, कुरिनटारमा रहेको विपत् प्रहरीलगायतले खोजी गर्दै छन् । केही अवशेष फेला परेको छ तर यकिन भएको छैन ।”
दुर्घटना भएको स्थलबाट करिब तीन सय मिटर तल बसको केही भाग नदी किनारको बालुवामा गाडिएको अवस्थामा फेला परेको थियो । बसको अवशेष खोतल्न ३० जनाभन्दा धेरै प्रहरी खटिएका छन् । विसं २०८१ असार २८ गते भरतपुर महानगरपालिका–२९, सिमलतालमा बिहान ३ बजे पहिरोले बगाउँदा त्रिशूलीमा खसेर दुई वटा यात्रुवाहक बस बेपत्ता भएका थिए । वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई लेदोसहितको पहिरोले बगाएर त्रिशूली नदीमा खसालेको थियो ।
६५ यात्रु रहेका दुई वटा बसमा तीन जना घाइते अवस्थामा फेला परेका थिए । ११ जनाको मृत्यु भएको शव फेला परेको थियो भने ५१ जना बेपत्ता भएका छन् । बस खोज्न भारतबाट गोताखोरसमेत ल्याइएको थियो ।