काठमाडौँ, पुस २८ गते । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई अमरावती बुटिक होटलले नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।
अमरावती बुटिक होटलका प्रबन्ध निर्देशक कुशल श्रेष्ठले सर्वाधिक रन बनाउने खेलाडीलाई ५० हजार र सर्वाधिक विकेट लिने खेलाडीलाई ३५ हजार रुपियाँ पुरस्कारको घोषणा गर्नु भएको हो ।
महिला क्रिकेटलाई प्रोत्साहन गर्न नगद पुरस्कारको घोषणा गरेको श्रेष्ठले बताउनु भयो । “महिला क्रिकेट आज विश्वस्तरमा तीव्र रूपमा अगाडि बढिरहेको छ। यस्तो अवस्थामा हामीले हाम्रा खेलाडीलाई सम्मान र हौसला दिनु हाम्रो दायित्व हो,” श्रेष्ठले भन्नु भयो।
आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट माघ ४ गते देखि १८ गतेसम्म कीर्तिपुर र मुलपानी मैदानमा हुने छ । ग्लोबल छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालले छनोटको पहिलो खेल जनवरी १८ तारिख थाइल्यान्डसँग खेल्ने छ ।
यस समूहमा स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बाब्वे र नेदरल्यान्ड्स रहेको छ । छनोटका खेलहरू त्रिवि मैदान र मुलपानी क्रिकेट मैदानमा हुने छ । छनोटका लागि नेपाली टोलीको घोषणा भइसकेको छ ।
१० देशको सहभागिता रहने छनोट खेलको समूह ‘ए’ मा बङ्गलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी (पिएनजी), नामिबिया र अमेरिका रहेको छ ।
छनोट खेलको शीर्ष चार टोलीले सन् २०२६ को जुन १२ देखि जुलाई ५ तारिखसम्म इङल्यान्ड र वेल्समा हुने आइसिसी महिला टी–२० विश्वकपमा छनोट हुने छन् ।