• १३ मंसिर २०८१, बिहिबार

बाजुरामा ३५ सय घर पूर्ण जोखिममा

blog

भूकम्प्ले भत्किएको बाजुराका बूढीगङ्गा नगरपालिका–२ का तुलाराम नेपालीको घर । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की
बाजुरा , मङ्सिर  १६ गते ।
 बाजुरामा ३५ सय भन्दाबढी घर पूर्ण जोखिममा रहेका छन् । विसं. २०७९ माघ १० गते र २०८० असोज १७ गते गएको भूकम्पका कारण बाजुराका ३५ सय भन्दाबढी घर पूर्ण जोखिममा रहेका हुन् ।

भूकम्पका कारण बाजुरामा १४ सय घर पूर्ण भत्किएको र तीन हजार पाँच सय भन्दाबढी घर बस्न लायक नभएको जिल्ला रेडक्रस शाखा बाजुराले जनाएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा पुगेर दुई महिनासम्म तथ्याङ्क सङ्कलन गर्दा एक हजार चार सय पूर्ण क्षति र तीन हजार पाँच सय भन्दाबढी घरमा बस्न लायक नभएको जिल्ला रेडक्रस शाखा बाजुराका सभापति मेखराज जैशीले बताउनुभयो ।

उहाँले भन्नुभयो,  “बाजुरामा चार हजार पाँच सयभन्दा बढी घरपरिवार भूकम्पबाट निकै प्रभावित भएका छन् । अहिले उनीहरूलाई अस्थायी रूपमा बसोबास गर्ने गरी विभिन्न ठाउँबाट राहतको व्यवस्था मिलाउने तयारी भएको छ ।”

जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा सबै भन्दाबढी क्षति भएको छ । यहाँका डोगडी काँडा, जयवाग्यश्वरी गुदू, लिसाना, आटिचौरलगायतका गाउँ बस्तीमा निकै क्षति भएकाले सो क्षेत्रका स्थानीयलाई अहिले खाद्यान्न त्रिपाल लुगा कपडा लगायतका राहत सामग्री समेत वितरण गर्दै आएको सभापति जैशीले बताउनुभयो ।

त्यसै २०७९ माघ १० गते गएको भूकम्पले गौमुल, हिमाली, बूढीगङ्गा, बडिमालिका नगरपालिकालगायतका अधिकांश घर चिरा चिरा परेको र २०८० असोज १६ गते गएको भूकम्पले ती घरमा नै ठुलो क्षति गरेको हो ।

बाजुराको हिमाली, जगनाथ, स्वामिकार्तिक, बुढीनन्दा, बडिमालिका, गौमुल, बूढीगङ्गा, खप्तड छेडेदह र त्रिवेणीमा लगायतका  गाउँ बस्तीमा प्रायः माटो र ढुङ्गाले निर्माण गरिएका कच्ची घर घन् । अधिकांश घर धेरै पुराना छन् । भूकम्पले ती घर सबैभन्दा बढी क्षति गरेको यहाँका स्थानी बत्ताउँछन् ।

भूकम्पले घर भत्किएपछि यहाँका अधिकांश स्थानीय यती बेला त्रिपालको भरमा चिसो रात काट्न बाध्य भएको छेडेदह गाउँपालिका ५ का स्थानीय जीत सार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “तातो समयमा बाहिर बस्न सहज भएपनि चिसोको बेला भने बाहिर बस्न निकै समस्या हुँदै गएको छ  ।” छोराछोरीलाई त्रिपालमा राख्दा रुघाकोखी निमोनिया लगायतका रोगका बिरामी हुने गरेको स्थानीय जित सर्कीले बताउनुभयो ।

उसोत यो समस्या सार्कीको मात्र होइन । हिमाली, जगनाथ, स्वामिकार्तिक, बूढीनन्दा , बडिमालिका, गौमुल, त्रिवेणी, बूढीगङ्गा र खप्तड छेडेदह गाउँपालिका लगायतका भूकम्पबाट प्रभावित भएका हजारौँ स्थानीयलाई पनि चिसोमा कसरी बाहिर बस्ने भन्ने चिन्ता छ ।

यहाँका स्थानीयलाई भूकम्पले चर्किएको घरमा ज्यान जोखिममा राखेर बास गर्दै आउनु परेको छ ।

अस्थायी आवासका लागि मन्त्रालयबाट १४ करोड रुपियाँ आएको जिल्लामा पुगिसेको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला व्यवस्थापन समिति बाजुराका संयोजक भिमकान्त पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “त्यो रकम जसको वास्तविक घर पूर्णरुपमा क्षति भएको छ । त्यसलाई नै दिने फेरि स्थानीय निकायलाई तथ्याङ्क माग गरेको छ ।”

भूकम्पपीडितका लागि स्थानीय आवासको ढाँचा समेत मन्त्रालयले पठाएको छ । सोही अनुसार बाजुराका भूकम्पपीडितले अस्थायी आवास निर्माण गर्ने गरी रकम उपलब्ध गर्ने जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकशरी पौडेलले बताउनुभयो ।