• ६ माघ २०८१, आइतबार

एड्स संक्रमितमाथि गरिने विभेद अन्त्य गर्नुपर्छ : मन्त्री सिंह

blog

धर्बेन्द्र झा 

धनुषा, मङ्सिर १५ गते । मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बिरेन्द्रप्रसाद सिंहले एड्स संक्रमितलाई समाजमा विभिन्नखालका विभेद सहनुपरेको भन्दै त्यस्ता विभेद अन्त्य गर्नुपर्ने बताउनुभएको छ । 

स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले ३६ औं विश्व एडस दिवसको अवसरमा शुक्रबार धनुषाको सपहीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

उहाँले एड्स अन्य रोगजस्तै रोग भएको भन्दै समयमा उपचार भएमा मान्छे लामो समयसम्म बाँच्न सक्ने र अरुलाई पनि सङ्क्रमित नगर्ने बताउनुभयो । यसबारे जनचेतना जगाउनु पर्ने उहाँको सुझाव छ । एड्सको विषयमा जानकारी नभएर पनि समाजमा यसलाई नकारात्मक रुपमा लिनेगरेको र एड्स सङ्क्रमितलाई अहिले पनि समाजमा विभिन्नखालका प्रताडना दिनुको साथै विभेद गरिने गरिएकाले कुनै पनि व्यक्तिमा एड्स कसरी सर्छ भन्ने विषयमा समाजमा ज्ञान फैलाउन आवश्यक रहेको उहाँको भनाइ छ । 

विगतमा सरकारले एक हजारको दरले एड्सपीडित बालबालिकालाई उपलब्ध गराउँदै आएको रकम यस वर्ष पनि उपलब्ध हुने जानकारी गराउनुभयो ।  उहाँले आउने दिनमा मन्त्रालयले एड्सपीडितका लागि के गर्न सकिन्छ भने विषयमा छलफल गरी कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । 

उहाँले मधेश प्रदेशको स्वास्थ्य क्षेत्रमा परिवर्तन देखिने किसिमले कामकाज भइरहेको भन्दै मापदण्डविपरीत सञ्चालित अस्पताललाई कारवाही गर्ने बताउनुभयो ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. प्रमोद यादवले विगतमा एड्सबाट पीडित हुनेलाई एक वर्षसम्म उपचार गर्न २० लाख खर्चिनुपर्थ्याे तर अहिले उपचार निःशुल्क रहेकाले पीडितहरुले समयमै यसको लाभ लिनुपर्ने बताउनुभयो । 

स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक राजीव झाले एड्सपीडितले औषधिको सेवन गरेपछि सङ्क्रमितको भाइरल लोड कम हुने र उसले अरुलाई पनि नसार्ने भएकाले सङ्क्रमितहरुले समयमै उपचार गराउनुपर्ने धारणा राख्नुभयो । 

स्वास्थ्य निर्देशनालय मधेश प्रदेशको एड्सका फोकलपर्सन राजवीर यादवले एड्सको विषयमा आफ्नो प्रस्तुति गर्दै मधेश प्रदेशमा चार हजार चारसय जना अनुमानित एड्सपीडितको सङ्ख्या रहेकोमा तीन हजार ९२६ जनाले उपचार गराइरहेका छन् । 


जसमा १७६ जना १८ वर्षमुनिका बच्चाहरु रहेको बताउनुभयो । उहाँले मधेश प्रदेशको सबैभन्दा बढी सङ्क्रमित पर्सामा एक हजार २८७ र सबैभन्दा कम सप्तरी जिल्लामा १७३ रहेको बताउनुभयो । 

उहाँले मधेश प्रदेशमा एचआईभी सङ्क्रमणको उच्च जोखिममा खासगरी सुईद्वारा लागुपदार्थ प्रयोग गर्नेहरु, यौनकर्मी र त्यसका ग्राहक, जेलका कैदी र रोजगारीका लागि विदेश जानेहरु रहेको बताउनुभयो ।