• ५ जेठ २०८१, शनिबार

नेपाल आयल निगम ऋणमुक्त

blog

काठमाडौं, मङ्सिर १४ गते । नेपाल आयल निगम ऋणमुक्त भएको छ । नेपाल आयल निगमले सरकारलाई तिर्नुपर्ने सात अर्ब रुपियाँ ऋण मङ्गलबार चुक्ता गरेसँगै निगम ऋणमुक्त भएको हो । 

निगमले इन्धनको आपूर्ति सहज बनाउन सरकारबाट लिएको सात अर्ब ऋणमध्ये अन्तिम किस्ता ७० करोड अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा भुक्तानी गरेको नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताउनुभयो ।  

उहाँले भन्नुभयो, ‘‘नेपाल आयल निगमले तिर्नुपर्ने सबै ऋण अब सकिएको छ । नेपाल सरकारलाई तिर्नुपर्ने अन्तिम किस्ता बापतको ७० करोड तिरेका छौँ । कच्चा र प्रशोधित तेलको मूल्य बढ्दा निगम २०७७ पुसदेखि नोक्सानीमा जान थालेको थियो । मूल्य बढ्दै जाँदा एकै वर्षमा निगम करिब ५० अर्ब घाटा बेहोरेको थियो ।’’

त्यसयता भारतीय आयल निगमबाट इन्धन खरिद गर्दा समेत करिब ३३ अर्ब बक्यौता रहेको थियो । वाणिज्य बैङ्कसँग तीन अर्ब र सरकारसँग सात अर्ब ऋण लिएकोमा मङ्गलबार ब्याजसहित सबै चुक्ता गरेको पनि ठाकुरले बताउनुभयो  ।

आन्तरिक दायित्व २६ अर्ब 

नेपाल आयल निगमले इन्धनको आपूर्ति सहज बनाउन तथा ऋण तिर्नको लागि प्रयोग गरेको आन्तरिक दायित्व बापतको २६ अर्ब भने तिर्न बाँकी नै छ । आन्तरिक दायित्व चुक्ता गर्न ब्याज तिर्नु नपर्ने भएकाले निगमलाई यो रकम चुक्ताको लागि ठुलो भार नपर्ने ठाकुर बताउनुहुन्छ । 

आन्तरिक दायित्व अन्तर्गत मूल्य स्थिरीकरण कोषमा २१ अर्ब, एयरलाइन्स र बिक्रेताको धरौटीबापत दुई अर्ब र कर्मचारी आवास अन्तर्गत तीन अर्ब २० करोड रहेको प्रवक्ता ठाकुरको भनाइ छ । 

स्वचालित मूल्यमा गएपछि घाटामा 

स्वचालित मूल्य प्रणालीमा गएपछि निगम घाटामा गएको थियो। निगमका प्रवक्ता ठाकुरका अनुसार निगम अहिलेको इन्धनको मूल्यअनुसार १५ दिनमा ६ अर्ब घाटामा रहेको छ । अहिले निगमलाई ग्याँसमा प्रतिसिलिन्डर तीन सय रुपियाँ घाटा रहेको उहाँको भनाइ छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।