• २२ वैशाख २०८१, शनिबार

चाडपर्वलक्षित बजार अनुगमन जरिबाना सङ्कलनमा सीमित

blog

काठमाडौँ, मङ्सिर १३ गते  । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०८०/८१ मा गरेको दुईमहिने चाडपर्वलक्षित बजार अनुगमनमा अधिकांशमा कैफियत भेटिएको छ । विभागको नेतृत्वमा गएको असोज १ देखि कात्तिक ३० सम्म भएको चाडपर्वलक्षित संयुक्त बजार अनुगमनका क्रममा अधिकांशमा कैफियत भेटिएको हो । 

विभागका अनुसार गएको असोज १ देखि कात्तिक ३० सम्म एक हजार ५४ वटा व्यवसायी फर्मको अनुगमन भएकामा ११ वटा बाहेक अन्यमा केही न केही कैफियत भेटिएको छ । 

विभागले यस अवधिमा अनुगमन गरेकामध्ये २९७ वटा व्यवसायी फर्मलाई न्यूनतम पाँच हजारदेखि तीन लाख रुपियाँसम्म जरिबाना गरी एक करोड दुई लाख ५३ हजार रुपियाँ राजस्व सङ्कलन भएको जनाएको छ । यस्तै सो अवधिमा उपभोग्य म्याद सकिएका सामान बिक्री गरेका २७ वटा व्यवसायी फर्मबाट एक करोड ४२ हजार बराबरको सामान नष्ट गरेको विभागका महानिर्देशक तीर्र्थराज चिलवालले जानकारी दिनुभयो । उहाँका अनुसार यस अवधिमा अनुगमन गरिएका व्यवसायी फर्ममध्ये ४७५ वटा व्यवसायी फर्मलाई आवश्यक सुुधारका लागि निर्देशन दिइएको छ भने २५२ वटा व्यवसायी फर्मलाई व्यवसायी दर्ता नवीकरणको निर्देशन, स्पष्टीकरण तथा बयानका लागि आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ । 

विभागका अनुसार सो अवधिमा एक हजार ५४ वटा व्यवसायी फर्मको अनुगमन भएकामा ११ वटा व्यवसायी फर्म सामान्य अवस्थामा रहेकाले नियममा रहेर व्यापार गरेको भन्दै धन्यवाद दिइएको छ । 

विभागका महानिर्देशक चिलवालले विभागले दैनिक उपभोग्य वस्तु, खाद्यवस्तु, तरकारी, फलफूल, माछामासु पसल, औषधी, मिठाई पसल तथा होटल, विद्युत् पसल, भाडा पसललगायत क्षेत्रमा विभिन्न २८ वस्तु वा सेवामा केन्द्रित गरेर अनुगमन गर्दा तोकिएकोभन्दा चर्को मूल्यमा बिक्री वितरण भइरहेको, न्यून गुणस्तर, लेबल नभएका वस्तु बिक्री गरेको, कृत्रिम अभाव सिर्जना गरेकोलगायतका समस्या देखिएको जानकारी दिनुभयो ।  सो अवधिमा विभागले पछिल्ला दिनमा औसत २० वटा यावसायिक फार्ममा अनुगमन गरिरहेको थियो । दसैँ, तिहार, छठलगायत चाडबाडका बेला उपभोक्ता बढी ठगिने र बजारमा बढी समस्या देखिने भएकाले अनुगमनको सङ्ख्या बढाइएको चिलवालले जानकारी दिनुभयो । 

खाद्य तथा किरानामा धेरै कैफियत

विभागको नेतृत्वको चाडपर्वलक्षित संयुक्त बजार अनुगमनका क्रममा सबैभन्दा धेरै खाद्य तथा किराना पसलको अनुगमन भएको छ । सो अवधिमा अनुगमनका क्रममा जरिबानामा परेका २९७ व्यवसायी फर्ममध्ये १४९ वटा खाद्य तथा किराना पसल परेका छन् । ती पसलबाट ५८ लाख २५ हजार राजस्व सङ्कलन भएको छ । 

सो अवधिमा इलेक्ट्रिक, रेडिमेड तथा थान कपडाका ४० वटा पसल जरिबानामा परेका छन् र जसबाट आठ लाख ४३ हजार बढी राजस्व सङ्कलन भएको छ । त्यसै गरी तरकारी तथा फलफूल, माछामासु, होटल तथा रेस्टुरेन्ट, मिठाईका ५८ वटा पसललाई जरिबाना गरेर १४ लाख राजस्व सङ्कलन गरेको विभागले जनाएको छ । पानी उद्योग, जुत्ताचप्पल, मदिरा तथा सुर्तीजन्य, इलेक्ट्रिक, ग्यास, फर्निचर कस्मेटिक गरी ३९ वटा व्यवसायी फर्म जरिबानामा परेका छन । ती व्यवसायी फर्मबाट करिब १० लाख रुपियाँ जरिबाना सङ्कलन भएको विभागको प्रतिवेदनमा उल्लेख छ । 

सुध्रिएन बजार  

विभागको नेतृत्वको संयुक्त बजार अनुगमनबाट सङ्ख्यात्मक रूपमा धेरै प्रगति देखिए पनि गुणात्मक रूपमा सुधार भएको पाइँदैन । ‘उपभोक्ता जागरण नेपाल’ का अध्यक्ष कृष्ण भण्डारीले बजार अनुगमन गरेर सङ्ख्या बढाएर मात्रै बजारको अवस्था नसुध्रिने बताउनुभयो । बजारमा कालो बजारी र ठुला व्यापारी फर्मबाट म्याद नाघेका वस्तु खुलेआम रूपमा बिक्री भइरहेको छ तर सरकारका नियमनकारी निकायले त्यस्ता व्यवसायी फर्मविरुद्धमा विभिन्न दबाब र प्रभावका कारण नियमन गरेर कारबाही गर्न सकेको छैन ।