• ८ जेठ २०८१, मङ्गलबार

गहुँको बीउ प्रशोधन तथा भण्डारण केन्द्र स्थापना

blog

केन्द्रको उद्घाटन गर्दै मन्त्री भुसाल । तस्बिर : कपिल ज्ञवाली ।

कपिल ज्ञवाली

सिद्धार्थनगर,मङ्सिर १० गते । रुपन्देहीको मर्चवारमा गहुँको बीउ प्रशोधन तथा भण्डारण केन्द्र निर्माण गरिएको छ । जिल्लाको दक्षिणी क्षेत्र मर्चवारको २० प्रतिशत क्षेत्र समेट्ने गरी कोटहीमाई गाउँपालिका–४, तुनिहवामा प्राथमिक प्रशोधन एवम् भण्डारण केन्द्र बनाइएको हो । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कार्यालय, भैरहवा, कोटहीमाई गाउँपालिका र श्री नवदुर्गा स्वालम्वन बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त ९२ लाख ९१५ रुपियाँ लागतमा बीउ प्रशोधन केन्द्र निर्माण गरी सञ्चालनमा ल्याइएको हो । प्रशोधन केन्द्रको शनिबार कृषि तथा पशुपन्छी विकासमन्त्री डा.बेदुराम भुसालले उद्घाटन गर्नुभयो । केन्द्रको उद्घाटन गर्दै मन्त्री भुसालले कृषि नेपालीहरुको जीवन भएको उल्लेख गर्नुभयो ।

"नलगाएर र नखाएर बाँच्न सकिँदैन, त्यसैले कृषि हाम्रो जीवनचक्र र जीवन हो", उहाँले भन्नुभयो, "यसैले सरकारले कृषि क्षेत्रबाट उत्पादन वृद्धि, निर्यात प्रवर्धन र आयात प्रतिस्थापन गर्नुपर्छ भनेर लागेको छ ।" उहाँले सरकारले कृषि क्षेत्रमा उत्पादन वृद्धि गरी गरिबी हटाउने गरी यान्त्रीकरण र बजारीकरण गरिरहेको बताउनुभयो । उहाँले कृषि क्षेत्रबाट उन्नती गर्न ७ काम महत्वपूर्ण रहेको बताउनुभयो । "त्यसमध्ये सिंचाइ सबैभन्दा महत्वपूर्ण हो । उन्नत बीउ एवम् मलको व्यवस्था पनि उस्तै महत्वपूर्ण मानिन्छ", उहाँले भन्नुभयो, "उत्पादन र उत्पादकत्व वृद्धि, यान्त्रीकरण र बजारीकरण प्रभावकारी रुपमा हुनुपर्छ, यसमा सरकार लागिपरेको छ ।" 

भुसालले बजारीकरणलाई सहज होस् भनेर रुपन्देहीको सेमलारमा मुलुककै ठूलो कृषि सङ्कलन केन्द्र बनाउन लागिएको जानकारी दिनुभयो । सङ्घीय सरकारले मलको आयात गर्ने बताउँदै उहाँले यसको वितरण र व्यवस्थापन प्रदेश र स्थानीय तहको रहेको भए पनि व्यवस्थित हुन नसकेको उहाँको भनाइ छ । गत आवमा ४ लाख ७८ हजार मेट्रिक टन मल सङ्घीय सरकारले आयात गरेको र यो मल पर्याप्त रहेको उहाँको दाबी छ ।

"कति मल चाहिन्छ भनेर सबै प्रदेशले माग गर्छन्, त्यही अनुसार हामीले आयात गर्छौं, तर सही विवरण नपठाए मल अभाव हुन्छ", उहाँले भन्नुभयो, "वितरणमा गडबडी पनि भएको छ, मलाइ थाहा छ । त्यस्तालाई कारबाही भएको छ र हुन्छ पनि ।"

सहकारीहरुले कालोबजारी गर्न थालेको खबर आएको जनाउँदै जनप्रतिनिधि लगायत किसानहरु सतर्क हुनुपर्नेमा भुसालले जोड दिनुभयो । मर्चवारको २० प्रतिशत क्षेत्र ओगट्ने गरि प्राथमिक प्रशोधन एवम् भण्डारण केन्द्रको स्थापन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कार्यालय भैरहवाका प्रमुख नारायण काफ्लेले जानकारी दिनुभयो ।

यो प्रशोधन केन्द्र सञ्चालनमा आएपछि भारतीय कमसल बीउँको प्रयोग रोकिने र उत्पादन र उत्पादकत्व वृद्धि हुने उहाँको भनाइ छ । सहकारीका अध्यक्ष दुर्गाप्रसाद कुर्मीले यस्तै प्रशोधन केन्द्र अझै १–२ वटा थपेमा जिल्ला नै भारतीय बीउबाट मुक्त हुने बताउनुभयाे । भारतका सुरक्षाकर्मीको डण्डा खाएर भारतबाट कमसल बीउ खरिद गर्ने दिनको अन्त्य हुँदै गएको बताउनुभयो । 

रुपन्देहीको कोटहीमाई, मर्चवारी, सम्मरीमाई तथा मायादेवी गाउँपालिका एवम् लुम्बिनी सांस्कृतिक नागरपालिकाका केही वडाहरु मिलाएर मर्चवार क्षेत्र बनेको छ । यहाँ करिब ६ हजार हेक्टर क्षेत्रफलमा गहुँखेती हुने गरेको छ ।