• ९ जेठ २०८१, बुधबार

शैलुङ घुम्न आउने पर्यटक बढ्दै

blog

बाबुराम शर्मा

दोलखा, मङ्सिर १० गते । रामेछाप र दोलखाको सिमानामा रहेको धार्मिक तथा पर्यटकीय स्थल शैलुङ घुम्न बाह्रै महिना पर्यटक आउन थालेका छन् । वर्षायाममा भन्दा हिउँदमा शैलुङबाट रमणीय दृश्य अवलोकन गर्न पाइने भएका कारण समुद्र सतहदेखि तीन हजार पाँच सय मिटर उचाइमा स्थित शैलुङ घुम्न आउने पर्यटकको सङ्ख्या निकै बढेको छ ।

स्थानीय मोहनसिं तामाङका अनुसार गएको हिउँददेखि यस पटकको दसैँतिहारसम्म करिब ५० हजार पर्यटक शैलुङ घुम्न आएका छन् । यस वर्ष त्यो सङ्ख्या दोब्बर हुने अनुमान गरिएको छ । शैलुङका सबै होमस्टे पाहुनाले भरिने गरेका छन् । “जनपूर्णिमा, तिज, दसैँ, नयाँ वर्ष र हिउँ परेको बेला मानिसको भिड लाग्ने गर्छ । त्यतिबेला त मेला जस्तै हुन्छ, टेक्ने ठाउँ हुँदैन,” तामाङले भन्नुभयो । हिन्दु र बौद्ध धर्मावलम्बी शैलुङको धार्मिक यात्रामा जाने गर्छन् । शैलुङलाई यी दुवै धर्मावलम्बीले तपोभूमिका रूपमा लिने गर्छन् । दृश्यावलोकनका साथै हिउँमा खेल्न र चौँरी हेर्न पर्यटक शैलुङ पुग्ने गर्छन् । चैत–वैशाखमा फुल्ने विभिन्न थरीका गुराँसले शैलुङलाई मनमोहक बनाउने गर्छ । वर्षायाममा फुल्ने विभिन्न जातका भुइँ फूलले पर्यटकलाई त्यतिकै लोभ्याउँछ । 

शैलुङसम्म पुग्ने सडक निर्माण र प्रचार बढ्दै गएपछि पर्यटक बढेका हुन् । पर्यटकलाई बस्न शैलुङ क्षेत्रमा केही होमस्टे बनेका छन् । जसले गर्दा पर्यटकलाई बास बस्न सहज भएको छ । अझै होमस्टे तथा सुविधासम्पन्न होटल विस्तार गर्न भने आवश्यक रहेको छ । “अहिले शैलुङमा स्वदेशी र विदेशी पर्यटक आउने गरेका छन् । विदेशी पनि बाक्लै आउँछन् । काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेलगायतका जिल्लाबाट आउनेको सङ्ख्या अधिक छ । तराई र भारतबाट पनि पर्यटक आउने गरेका छन्,” स्थानीय मोहनसिंह तामाङले भन्नुभयो । 

शैलुङको विकासका लागि बहुवर्षीय योजनामा बेस क्याम्प कालापानीबाट शैलुङ पैदलबाट जान यो वर्ष पाँच करोड रुपियाँ लगानीमा तीन मिटर फराकिलो, दुवैतर्फ पर्खाल रहेको पाँच सय मिटरको मिनी ग्रेटवाल निर्माणाधीन अवस्थामा छ । शैलुङ डाँडासम्म आठ किलोमिटर टाढाबाट विद्युत् लाइन पु¥याइएको छ । पिउने पानीको व्यवस्था छ भने वाइफाईको व्यवस्था मिलाइएको छ । आकर्षक बनाउन ठुलो घण्टी पनि जडान गरिएको छ । शैलुङमा गौतम बुद्धले तपस्या गरेको विश्वास गरिन्छ । साङ्गे लामाले यहीँ बसेर पूजापाठ गरेकाले साङ्गे लुङ भनिएको यो ठाउँ अपभ्रंशबाट शैलुङ नामकरण भएको भनिन्छ ।