• २६ जेठ २०८२, सोमबार

प्रतिनिधि सभाको गतिरोध, सत्तापक्ष–प्रतिपक्ष सहमति उन्मुख

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २६ गते  । प्रतिनिधि सभाको जारी गतिरोध अन्त्यका लागि सत्तापक्ष र प्रतिपक्षी दल सहमतिनजिक पुगेका छन् । प्रतिपक्षी दलले निरन्तर उठाइरहेका मागमा द्विपक्षीय सहमति भनेभइसकेको छैन । यद्यपि सोमबारसम्म लिखित सहमति नै गरेर सदनको अवरोध हटाउने विश्वासमा दलहरू छन् । 

सत्तापक्ष–प्रतिपक्षबिचको औपचारिक तथा अनौपचारिक छलफलपछि दलहरूले भिजिट भिसा प्रकरण अध्ययन तथा सुझावका लागि संसदीय समिति गठनमा सैद्धान्तिक सहमतिमा भने पुगेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनको माग गर्दै विपक्षी दलले जेठ १३ गतेदेखि प्रतिनिधि सभामा अवरोध गरिरहेका छन् । 

आइतबार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीबिच विभिन्न चरणमा अनौपचारिक छलफल भएको थियो । मुख्य छलफलमा नेकपा (एमाले) का प्रतिनिधि भने सामेल थिएनन् । प्रतिपक्षी र कांग्रेसबिचको छलफलपछि भने कांग्रेस र एमालेबिच पनि छलफल भएको थियो तर संसदीय समिति गठनको समय र कार्यादेशका केही विषयमा अन्तिम रूप लिन नसकेपछि आइतबार पनि प्रतिनिधि सभा भने अवरुद्ध नै भयो । सोमबारसम्म सहमति हुने सत्तापक्ष र प्रतिपक्ष दलका नेताको भनाइ छ ।  

सत्तापक्ष र प्रतिपक्षबिच भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसनधान सकेपछि पुनः नीतिगत र सो प्रकरणमा थप अनुसन्धान गर्नेमा सैद्धान्तिक सहमति छ तर अनुसन्धानको सीमा र कार्यादेशबारे ठोस सहमति भएको छैन । भोलिसम्म समझदारी हुने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताउनुभयो । 

अध्यक्ष प्रचण्डले भन्नुभयो, “सहमतिको मोटामोटी खाका तय भएको छ । हामी समझदारीमा विषय टुङ्ग्याउने पक्षमा छौँ ।” नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले पनि सत्तापक्ष र प्रतिपक्ष सहमति उन्मुख रहेको बताउनुभयो । घिमिरेले भन्नुभयो, “लिखित सहमतिकै लागि गृहकार्य भइरहेको छ । भाषालगायतमा सहमति भएपछि सदनको अवरोध अन्त्य हुन्छ । धेरै विषय साँघुरिएका छन् ।”

दलहरूबिच सहमति नभएपछि आइतबार पनि सभा अवरुद्ध भएको छ । सभामुख देवराज घिमिरेले अवरोधका विषयमा आफ्नो ध्यानाकर्षण भइरहेको बताउँदै चाँडै निकास पाउने विश्वास व्यक्त गर्नुभयो ।