• २६ जेठ २०८२, सोमबार

वीरमा ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २६ गते । काठमाडौँको वीर अस्पतालमा एक महिनासम्म ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया  हुने भएको छ । अस्पतालका मस्तिष्क विभागका विभागीय प्रमुख डा. राजीव झाले जुन महिनाभर ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क गर्ने जानकारी दिनुभयो । “अस्पतालमा स्थापना भएको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रले जुन महिनाभर ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया गर्ने भएको हो,”  डा. झाले भन्नुभयो, “ब्रेन ट्युमर दिवसका अवसरमा जुन महिनाभरिलाई ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा गरेका छौँ ।”

उहाँले ब्रेन ट्युमर भएका बिरामीलाई वीर अस्पतालमा आएर निःशुल्क शल्यक्रिया गर्न आग्रह गर्नुभयो । राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्षसमेत रहनुभएका प्राडा झाले एक सातामा पाँच दिन शल्यक्रिया हुने जानकारी दिँदै दैनिक तीनदेखि पाँच जनासम्मको शल्यक्रिया गरिने बताउनुभयो । वीर अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया शुल्क मात्र ३५ हजार रुपियाँ लाग्ने गरेको छ । डा. झाले ब्रेन ट्युमर भएका बिरामीलाई निःशुल्क शल्यक्रियासहित शय्या र खानासमेत निःशुल्क हुने बताउनुभयो । उहाँले शल्यक्रियामा लाग्ने औषधी, उपकरण भने बिरामी स्वयम्ले व्यवस्थापन गर्नुपर्ने जानकारी दिनुभयो ।