• २३ वैशाख २०८१, आइतबार

फोटो र चित्रकलामा ब्रिटिस गोर्खामा महिलाको भूमिका

blog

बबरमहलस्थित नेपाल कलापरिषदमा प्रदर्शनीको अवलोकन गर्दै सर्वसाधारण । तस्बिर: केशव गुरुङ

काठमाडौं, मङ्सिर ९ गते । बबरमहलस्थित नेपाल कलापरिषदमा गोर्खा बेमेन फोटो तथा आर्ट प्रदर्शनी सुरु भएको छ । ब्रिटिस गोर्खा सैनिकका श्रीमतीसँग सम्बन्धित रहेको फोटो तथा चित्रकला प्रदर्शनी शनिबारबाट सुरु भएको हो ।

वि.सं २०७४ सालमा पहिलो पटक प्रदर्शनी गरेकी २९ वर्षीया चित्रकार सुजना श्रीसले गोर्खा सैनिकको इतिहासमा महिलाको भूमिकालाई समेटेर तयार पारेको फोटो तथा चित्रकला प्रदर्शनी राखिएको छ  ।

मङ्सिर १३ गतेसम्म चल्ने प्रदर्शनीमा ५२ वटा फोटो, १८ वटा चित्रकला र भिडियो दृश्यका साथै कलाकारले काम गरेको सामग्रीहरू पनि राखिएको छ । गोर्खा सैनिकको इतिहास धेरै भए पनि महिलाको इतिहास कतै नपाएपछि अध्ययन अनुसन्धान थाल्नुभएको उहाँले छ जिल्लामा ७० वर्षमाथिका महिलामा गरेको अध्ययनको क्रममा लिएका २० जना महिलाको फोटो, स्केच र भिडियो क्लिप प्रदर्शनीमा राखिएका छन् ।

प्रदर्शनीमा ती महिलाले पहिले प्रयोग गरेका दैनिक जीवनमा प्रयोग हुने भाँडाकुँडा, आदिवासी महिलाले लगाउने लत्ताकपडा, गरगहनालगायत गोर्खा लाहुरेहरूले खिचेका फोटोहरू पनि राखिएका छन् । यो प्रदर्शनी उहाँको तेस्रो प्रदर्शनी हो । प्रदर्शनीमा ती महिलाहरूको भोगाइलाई समेटेर तयारी गरिएका फोटो तथा चित्रकलामा व्याख्यासमेत गरिएका छन् ।

फरक प्रकारको गोर्खा इतिहास रहेको कलामा नयाँ विवाह भएपछि श्रीमान् संसारमा लडिरहेको छ भने श्रीमतीहरूले कसरी परिवार हेर्ने गरेका छन् , जसले एउटा सिपाही ढुक्कका साथ लडाइमा जान सक्छ भन्ने कथा समावेश गरिएको प्रदर्शनीका संयोजक उज्ज्वल थापाले बताउनुभयो ।  

फोटामा बिहे भएपछि श्रीमान् लाहरे भएका महिलाहरूले कसरी श्रीमानलाई भेट्न जान्थे । जस्तो श्रीमतीहरू शिक्षिका, नर्स भएर मलेसिया जस्तो देशमा गएर आफ्ना श्रीमानलाई भेटेको कथनहरू रहेको उहाँको भनाइ छ ।


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।