• २२ वैशाख २०८१, शनिबार

गीत लेखनमा लोकप्रिय बन्दै वरिष्ठ पत्रकार थपलिया

blog

वरिष्ठ पत्रकार गोपालप्रसाद थपलिया ।

काठमाडौं, मंसिर ९ गते । वरिष्ठ पत्रकार गोपालप्रसाद थपलियाको गीत लेखन क्षेत्र सफल हुँदैगएको छ । करिब पाँच दशकदेखि निरन्तर पत्रकारितामा रहनुभएका पत्रकार थपलिया पछिल्लो समय जनचेतनामूलक गीत लेखन तथा रेकर्डिङ गराउनमा व्यस्त रहनुभएको छ ।

उहाँले अहिलेसम्म देशभक्ति तथा चेतनामूलक १५ वटा गीत लेखेर भिडियो रेकर्डिङ गराइसक्नुभएको छ । नागरिक तथा जनतामा देशभक्तिको सन्देश प्रवाह गर्न तथा समाजमा विद्यमान विकृति, विसङ्गति तथा भ्रष्टाचार अन्त्यका लागि आफूले गीत मार्फत सन्देश प्रवाह गर्नेगरेको उहाँले बताउनुभयो । 

आफ्नो गीतमा पाठक, स्रोता तथा दर्शकको सकारात्मक प्रतिक्रिया आएकाले आफू यस क्षेत्रमा लागेको उहाँको भनाइ छ । गीत लेखन तथा भिडियो रेकर्डिङ गराएर जनतामाझ पस्कन पाउँदा छुट्टै किसिमको आनन्दानुभूति प्राप्त भएकाले आफू नियमित अब सचेतनामूलक गीत लेखनमा सक्रिय रहने उहाँको भनाइ छ । 

वि.सं. २००६ असोज १५ गते दोलखाको सुस्पाक्षमावती गाउँ विकास समिति –४ को डाँडाथोकमा जन्मनुभएका वरिष्ठ पत्रकार थपलिया २०२७ सालदेखि सक्रिय पत्रकारितामा रहनुभएको छ ।

  ‘छलफल’ साप्ताहिकको प्रकाशक सम्पादक भएर लामो समयदेखि पत्रकारितामा सक्रिय थपलियाको लेखन क्षमता निकै तिख्खर रहेको छ । उहाँले दर्जन बढी विभिन्न विधाका कृति समेत प्रकाशित गरिसक्नुभएको छ । 

नेपाली पत्रकारिताका भीष्मपितामहको उपाधि पाउनुभएका वरिष्ठ पत्रकार थपलिया पछिल्लो समय गीत लेखनमा व्यस्त रहेको बताउनुभयो । उहाँले अहिलेसम्म लेखेर भिडियो रेकर्डिङ गरिएका गीतमा ‘म र मेरो देश, भाषा, देशको माटो कङ्गाल भए जनता, जनता रुवायो, म त सधैँ तिम्रै हुँ, कहाँ कहाँ खोजेँ मैले, तिम्रो मायाको नजरमा, युवा युवती, नेपाल आमाको पुकार, नेपाली हामी बाँचेका छौँ, बतास चल्यो सरर, आफैले आफैलाई माया गर्नुपर्छ, दो छायाँ, जनतालाई माया गर’ लगायत छन् । उहाँका गीत नेपाली युवामाझ निकै लोकप्रिय छन् । 

७५ वर्षीय वरिष्ठ पत्रकार थपलिया समाजमा गरेको योगदानका कारण विभिन्न सम्मान र पुरस्कारबाट सम्मानित तथा पुरस्कृत भइसक्नुभएको छ । नेपाल पत्रकार महासङ्घले उहाँलाई प्रेस स्वतन्त्रता सेनानीको रूपमा सम्मानित गरिसकेको छ । प्रेस काउन्सिल नेपालले हृदयचन्द्र सिंह प्रधान पुरस्कार र प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कारले पुरस्कृत गरिसकेको छ । 

मुलुकको लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान गरेबापत तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अभिनन्दन गर्नुभएको थियो । 

तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले पनि पत्रकार थपलियालाई सम्मानपत्रले सम्मानित गर्नुभएको थियो । 

नेपाली पत्रकारिताको उत्थानमा खेलेको योगदानको कदर गर्दै प्रेस चौतारी नेपाल, नेकपा (एमाले) ले उहाँलाई स्वतन्त्र पत्रकारिता सेनानीको उपाधिबाट सम्मानित गरिसकेको छ । अन्य दर्जनबढी सम्मान तथा पुरस्कारले उहाँ सम्मानित तथा पुरस्कृत भइसक्नुभएको छ । अब जीवनको उत्तरार्धमा गीत लेखेर नागरिकलाई सचेत गराउने कर्ममा निरन्तर लागिरहने उहाँले प्रतिबद्धता जनाउनुभयो । जनता सचेत भएमात्र मुलुक समृद्ध बन्ने उहाँको बुझाइ छ । 

लामो समय नशासम्बन्धी समस्याले पीडित वरिष्ठ पत्रकार थपलिया आफू बिरामी छँदासमेत जनताको पक्षमा कलम चलाइरहेको र चलाइरहने प्रतिबद्धता जनाउनुभयो । अहिले उहाँ माइस्थेनिया ग्राभिस नामक रोगबाट पीडित रहनुभएको छ । नियमित उपचारमा रहनुभएका वरिष्ठ पत्रकार तथा गीतकार थपलियाले आफ्नो अन्तिम साससम्म जनता र नागरिकलाई सचेत गराउने कर्मबाट पछि नहट्ने प्रतिबद्धता जनाउनुभयो । शीघ्र स्वास्थ्यलाभको कामनासहित उहाँको पछिल्लो यो गीत यहाँ प्रस्तुत गरिएको छ ।  

Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइनका उपसम्पादक हुनुहुन्छ ।