• २७ वैशाख २०८२, शनिबार

प्रचण्ड–बाबुरामबिचको अविश्वासको अन्त्य भयो : सहअध्यक्ष श्रेष्ठ

blog

काठमाडौं, मङ्सिर ७ गते । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गङ्गानारायण श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईबिच अविश्वासको अन्त्य भएको बताउनुभएको छ ।

बिहीबार सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका श्रेष्ठले प्रचण्ड र भट्टराईको बिचमा अविश्वासको अन्त्य भएकाले छिट्टै दुई पार्टीको एकता हुने बताउनुभएको हो ।

उहाँले दुई नेताका बिचमा कुनैपनि प्रकारको असमझदारी नभएको बताउनुभयो । उहाँले क्रान्तिकारी शक्तिहरू छिन्नभिन्न नभई एकताबद्ध भएर अगाडि बढ्नुपर्ने अहिलेको वस्तुगत आवश्यकता भएको उल्लेख गर्नुहुँदै सो वस्तुगत आवश्यकताको बोध दुवै शीर्ष नेताहरूमा भएको बताउनु भयो । अध्यक्षद्वय प्रचण्ड र भट्टराई एकताबद्ध भएर जाने निष्कर्षमा पुगेको भन्दै अब एकता प्रक्रियामा विलम्ब नहुने जानकारी उहाँले दिनुभयो । सहअध्यक्ष श्रेष्ठले एकता प्रक्रिया कुनैपनि बाहानमा पछाडि नफर्किने बताउनु भयो ।

‘‘वार्ता समितिले वार्ता गरेर एउटा वातावरण बनायो । त्यही वातावरणको जगमा दुईवटै पार्टीमा पार्टी एकता/ध्रुवीकरणको निम्ति पार्टी एकता/ध्रुवीकरण संयोजन समिति बनाउने हाम्रो वार्ता समितिले दिएको सुझाव अनुसार नेपाल समाजवादी पार्टीले समिति बनाएको छ । प्रक्रिया यहीँ नै हो । यसलाई असमझदारी पनि नभनौँ । यसमा सञ्चारको अभाव भएको देखियो । त्यो सञ्चारको अभावलाई पूरा गर्ने काम हामीले गरिराखेका छौँ ।,’’ सहअध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘‘ उहाँहरूको बिचमा तारन्तार छलफलहरू भइराखेका छन् । जो सँग विचार, राजनीतिक एजेन्डाहरू मिल्छ, सबैकुरा मिल्छ उनीहरूको बिचमा पार्टी एकता नै गरेर जाने । त्यसको निम्ति नेकपा(माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबिचमा पार्टी एकताकै प्रक्रिया अगाडि बढ्छ ।’’

‘‘माओवादी केन्द्रसँगको पार्टी एकता माओवादी केन्द्र पनि रूपान्तरित हुने र नेपाल समाजवादी पार्टी पनि रूपान्तरित हुने नयाँ आधारमा, नयाँ एकता, नयाँ परिवेशमा नयाँ सोच र चेतनासहितको एकता आजको आवश्यकता हो । त्यो आवश्यकता दुई वटै पार्टी र दुई वटै पार्टीका शीर्ष नेताहरूले बोध गरिसकेको हुनाले यो प्रक्रिया अगाडि बढेको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘प्रचण्ड र बाबुरामबिचको अविश्वास दूर भएको छ । यो त भोलि समयले पनि बताउँदै जाला । मुख्यगरी प्रचण्ड या बाबुराम, उहाँहरूले देशको आवश्यकतालाई, अहिलेको वस्तुगत आवश्यकतालाई जुन ढङ्गबाट बोध गरिराख्नु भएको छ, अब अलग–अलग बसेर होइन, एकताबद्ध भएर जानुपर्छ जुन निष्कर्षमा पुग्नु भएको छ, र सिङ्गो दुईवटा पार्टी पङ्क्ति नै जुन निष्कर्षमा पुगेको छ, त्यसले एकतालाई चाँडै नै मूर्त रूप दिन्छ । यो प्रक्रिया पछाडि फर्किँदैन । अगाडी बढ्छ ।’’

सहअध्यक्ष श्रेष्ठले प्रतिगामी शक्तिहरू एकताबद्ध हुँदै गइरहेको भन्दै सो कुरा अग्रगामी शक्तिहरूले चिन्ता गर्नुपर्ने विषय भएको बताउनु भयो । प्रतिगामी शक्तिहरू एक हुनासाथ सङ्घीयता, गणतन्त्र र सङ्घीयता खारेज नहुने उहाँको भनाइ छ । नेपालबाट अब सङ्घीयता र गणतन्त्रलाई अब कसैले हटाउन नसक्ने उहाँ बताउनुहुन्छ ।

सहअध्यक्ष श्रेष्ठले माओवादी केन्द्र र नेसपामात्रै नभई विगतमा जनयुद्ध, जनआन्दोलनमा सहभागी सबै शक्तिहरू पुनः एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो ।